लेख्नु भनेको शब्दहरू थुपारेर कागजको पाना भर्नु मात्र होइन । हरेक शब्दहरू बहुमूल्य हुन्छन् । हरेक लेखनको उद्देश्य हुन्छ । अक्षर चिनेदेखि मैले स्कूलमा होमवर्क लेखेँ । जाँचमा पास हुनका लागि लेखेँ । कक्षा पाँचमा पढ्दा सरले कविता लेखेर ल्याउनू भनेपछि कविता लेखेँ । अलिक बुझ्ने भएपछि कक्षा आठमा पढ्दा साहित्यिक कार्यक्रममा सुनाउन कविता लेखेँ । एस. एल. सी दिएपछि नाम र रहरको लागि लेख्न थालेँ । समाज र साथीभाइहरूका बीचमा अरुभन्दा अलग देखिने भ्रम पालेर बेस्सरी लेखेँ ।
अहिले भने लेख्नु मेरो अस्तित्वको अभिन्न अङ्ग बनेको छ । अक्षरहरूमा आफ्नो उपस्थिति देख्छु । अक्षर मार्फत आफ्ना भावनाहरू पोखेर मन हलुका पार्छु । परिवार, आफन्त र साथीसँगी भएर पनि एक्लोपनाको महशुस भएको बेलामा लेखन मेरो अभिन्न साथी बन्छ । लेखन मार्फत आफैसँग संवाद गर्छु ।
लेखेर आफ्ना विचार संसारलाई बाँड्न चाहन्छु । समाजका पीडा, दुःख, अन्याय, आशा, प्रेम आदिलाई शब्द मार्फत व्यक्त गर्दै समाजसँग संवाद गर्छु । उहिले रहरका लागि सुरु गरेको लेखनलाई अहिले सामाजिक उत्तरदायित्वको रुपमा लिएको छु । म नलेखी चुप लागेर बस्न सक्दिन । हुन त करोडौं लेखकहरू भएको यस संसारमा मैले लेख्दा र नलेख्दा केही फरक पर्दैन । तर, मलाई लाग्छ मैले केही लेखिन भने कसैको कथा अधुरो हुन्छ । मैले थाहा पाएको र बुझेको कुरा बताउन छुट्छ ।
लेखन आत्मसमीक्षा हो । समाजप्रतिको दायित्व र प्रतिवद्धता हो । जीवन र जगतप्रतिको प्रेम हो । म लेख्छु किन भने मसँग विचारहरू अझै जिउँदा छन् । लेखन समाजमा मेरो उपस्थितिको प्रमाण हो ।
– लन्डन
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment