Showing posts with label प्रा‍.डा. दयाराम श्रेष्ठ. Show all posts
Showing posts with label प्रा‍.डा. दयाराम श्रेष्ठ. Show all posts

Sunday, September 13, 2026

व्यक्तित्व (अङ्क ३८ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार इन्दिरा प्रसाई (सं. २०१४) देखा परेकी हुन् । उनको पहिलो कथा हो 'अस्वीकृत पात्र’ (सं. २०३०) जुन विराटनगरबाट प्रकाशित भएको सामयिक सङ्कलन 'प्रेरणा’ मा अधुरी शर्माको छद्म नामबाट प्रकाशित भएको थियो । व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेकी उनी प्राध्यापन कार्य गर्दछिन् । सम्पादन तथा अनुवाद कार्यमा समेत उनी अभिरुचि राख्दछिन् । 

साहित्यिक पत्रकारितामा गहिरो दक्खल भएकी उनी विभिन्न साहित्यिक सङ्घ–संस्थाहरूसँग आबद्ध छिन् । उनी 'राष्ट्रिय युवा वर्ष मोती पुरस्कार’ (सं. २०५१), 'मैनाली कथा पुरस्कार’ (सं. २०५३), 'राष्ट्रिय प्रतिभा पुरस्कार’ (सं. २०५३), 'गद्दी आरोहणरजत महोत्सव पदक’ (सं. २०५३), 'राष्ट्रिय गौरव युवा सम्मान’ (सं. २०५३), 'प्रबल गोरखा दक्षिण बाहु’ (सं. २०५८), 'वीरेन्द्र ऐश्वर्य सेवा पदक’ (सं. २०५८), 'भानुभक्त सम्मान’ (सं. २०६२), 'भद्रकुमारी घले पुरस्कार’ (सं. २०६४), 'दीपज्योति सम्मान’ (सं. २०६७), 'देरुनीख पुरस्कार’ (सं. २०६७) आदिद्वारा सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् :

१. मन सायद उघ्रँदैन (सं. २०५१),
२. बयान (सं. २०५५ : लघुकथासङ्ग्रह) र
३. दोस्रो सत्ता (सं. २०६२) ।

इन्दिरा प्रसाई उपन्यास, कविता, जीवनी, पत्र साहित्य र निबन्ध विधाकी पनि स्रष्टा हुन् ।

इन्दिरा प्रसाई जीवनका विसङ्गतिहरू उद्घाटन गर्ने लघुकथाकी नारी कथा–स्रष्टा हुन् । उनले जीवनका प्रतिकूल क्षणहरू तथा दुर्नियतिहरू देखेकी छिन् । उनी के देख्दछिन् भने मिस्त्रीहरू अरूका लागि सुन्दर घरहरू निर्माण गरिदिएर आफू खुसी हुनुका साथै अरूबाट पनि प्रशंसित हुन पुग्दछन्, तर उसको आफू बस्ने घर भने अविरल वर्षाका कारणले भत्केको मात्र हुँदैन, घरले किचेर उसको परिवारका मानिसहरू सबै मरेका हुन्छन् ('निर्माणकला’ कथा)। मान्छेले कस्तोसम्म नियतिको भोग गर्न बाध्य हुनुपर्दछ भने बिरामी छोराको शीघ्र स्वास्थ्य लाभका लागि धूप–बत्ती बाली देवतासँग प्राथना गर्नुपर्दछ भने त्यही छोरो मरेमा फेरि त्यसरी नै मृत आत्माको चिरशान्तिका लागि धूप–बत्ती बालेर उनै देवतासँग कामना गर्नुपर्दछ ('आस्था’ कथा) । यसै सन्दर्भमा उनको ’बयान’ कथाको यो अंश हेरौं :

आज अदालतमा अन्तिम बयानको दिन थियो । एकातिर त्यो आइमाई एक्लै उभिएकी थिई भने अर्कातिर उसैले जन्माएका तीन भाइ छोरा, उसको लोग्ने र उसका अरू परिवारसमेत थिए ।
अन्ततोगत्वा विपक्षी उसको पति, पुत्रहरू र उनीहरूका अन्य सम्बन्धीसमेतले उसलाई चरित्रहीन घोषित गरेर सम्बन्ध विच्छेद गरिपाउन न्यायाधीशसमक्ष निवेदन गरे ।
न्यायाधीशले उनीहरूको कुरा सुनिसकेपछि स्त्रीलाई आफ्ना कुरा बोल्ने मौका दिए । स्त्रीले केही बेर आफ्ना छोराहरूमा आँखा पुर्‍याई त्यसपछि उसको लोग्नेलाई हेरिरही । उसको लोग्ने स्वास्नीलाई सार्वजनिक रूपमा चरित्रहीन घोषित गराउने प्रयत्नमा दम्भित थियो ।
'श्रीमान् ! मेरा पति पुत्रहरूले मलाई लगाएको अभियोग सत्य हो । म चरित्रहीन हुँ । तर आज अर्को एउटा सत्य पनि खोल्न मलाई मन लागेको छ । यी तीनै जना मेरा पुत्रहरूका पिता मेरा पति होइनन् ।’
स्त्री आफ्नो बयान सकेपछि अदालतबाट सरासर बाहिरिएकी थिई ।
न्यायालय मौन थियो ।

अरूलाई फसाउन खोज्दा आफैँ फस्नुपर्ने वा अरूलाई भुट्टो साबित गर्न खोज्दा आफैँ झुट्टो ठहरिने नियतिको सिकार बनेका मान्छेको विसङ्गत जीवनको चित्रण यस कथामा छ । एक प्रकारले यो व्यङ्ग्य पनि हो र हास्यास्पद पनि हो – जीवन जस्तै भन्ने धारणा कथाकार प्रसाईंको रहेको पाइन्छ । यसै सन्दर्भमा उनी के देख्दछिन् भने मान्छेले जुन कुरोलाई ठिक भन्ने गर्दछ, त्यो भ्रम मात्र हुन्छ र त्यसले दुष्परिणामलाई निम्त्याउँदछ । ’सावित्री सत्यवान्‌’ कथा) । यो कथा यस्तो छ :

'तिम्रो मुखले मेरी पत्नीको नाम उच्चारण गरेको मलाई राम्रो लाग्दैन, ऊ तिमी जस्ती होइन, पतिव्रता नारी हो ।’ सावित्रीलाई आफ्नो अँगालाबाट बाहिर फाल्दै सत्यवान्ले भन्यो ।

'मेरो पतिको पनि तिमीसँग तुलना गर्दा मलाई पाप लाग्छ, ऊ जस्तो पत्नीव्रत लोग्ने पाउन ठुलै तपस्या गर्नुपर्छ ।’ सावित्रीले पनि सत्यवान्‌लाई पन्छाएर आक्रोशित हुँदै भनेकी थिई ।

भोलिपल्टको अखबारमा सावित्रीका पतिको र सत्यवान्‌की पत्नीको समाचार छापिएको थियो । दुवैलाई प्रहरीको गस्तीले आपत्तिजनक स्थितिमा फेला पारेको थियो ।

त्यसपछिका भेटमा सावित्री र सत्यवान्‌को शिर निहुरिएको थियो ।

विश्वास र आस्थाको भ्रमद्वारा पोषित मानव जीवनका दुर्घटनालाई यस लघुकथाको मूल विषयवस्तु बनाइएको छ । मान्छेले सामना गर्नुपर्ने यस्तो विसङ्गतिबाट के कुरा स्पष्ट हुन आउँदछ भने जीवन आफैंमा भ्रम र छलकपट मात्र हो । कथा–स्रष्टा इन्दिरा प्रसाईंले आफ्नो 'प्लास्टिकको जङ्गल’ कथामा पनि भ्रममा पीडित जीवनका अनुभूति र संवेगहरूलाई यसरी स्पष्ट पारेकी छिन् :

Friday, August 14, 2026

व्यक्तित्व (अङ्क ३७ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार महेश प्रसाईं (सं. २०१३) देखा परेका हुन् । उनको पहिलो कथा हो 'उपहार’ (सं. २०२९) जुन 'झलक’ सामायिक सङ्कलनमा प्रकाशित भएको थियो । एम.बी.ए. तथा बी.एल. उपाधि प्राप्त गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता एवम् सम्पादन कार्यमा पनि रहेको देखिन्छ । प्राध्यापनका साथै पत्रकारिता पेसासँग सम्बद्ध उनी 'प्रतिभा पुरस्कार’ (सं. २०४२), 'राष्ट्रिय युवावर्ष मोती पुरस्कार’ (सं. २०५१ः संयुक्त रूपमा), 'कामेश्वर पोद्दार स्मृति सम्मान’ (सं. २०५९), ’राष्ट्रिय प्रतिभा पुरस्कार’ (सं. २०५५), 'धरणी सम्मान’ (सं. २०५५), 'व्यथित काव्य पुरस्कार’ (सं. २०५७) आदिद्वारा सम्मानित भइसकेका छन् । उनका लघुकथासङ्ग्रहहरू 'फूलैफूलमा आलापह (सं. २०६८), 'अतिरिक्त स्वरहरू’ (सं २०७५) र 'एउटा कथाको पुनर्जन्म’ (सं २०७७) प्रकाशित भएको छ । उनी अन्तर्वार्ता र कविता विधाका पनि प्रतिभा हुन् ।

महेश प्रसाईं विसङ्गगतिबोधलाई आख्यानीकरण गर्ने संवेदनशील कथा–स्रष्टा हुन् । आफ्नो कथासङ्ग्रह 'फूलैफूलका आलापहरू’ को भूमिका ’यी रेचकी गल्पको सम्बन्धमा’ उनी आफैँले लेखेका छन् ।

“म केवल वेदनाको सार बोकेर प्रस्तुत भएको छु यस बेला यी कण्टकहरूमा । वेदनामा बाँचेका अलग–अलग जातका फूलहरूलाई लिएर ।

“फूलको सत्ता तर, वेदना वा व्यवधानमा पनि धेरै माथि रहन्छ । फूलहरूको उचाइ घटेन, कहिल्यै कुनै कालखण्डमा पनि ।’’

“ती उचाइलाई थोरै शुद्ध र वाक्यहरूमा मापन गर्ने धृष्टता मात्र हो यो ।“

“फूलैफूलका कायाकल्पहरूद्वारा ।’’

कथा–स्रष्टाले फलको ’वेदनाको सार’ भनेकै विसङ्गत जीवनको अभिशाप, प्रतिकूल स्थिति वा क्षण, निराशा, कुण्ठा, असन्तुष्टि, पराजय, मूल्यहीनता, संवेदनाशून्यता र नियतिका दुष्परिणाम हुन् । यसै सन्दर्भमा ’रूपवती’ कथाको यो अंश हेरौं :

रूपवतीको शृङ्गारसित परिचय थिएन ।

एकपल्ट कुनै समारोहमा शृङ्गारसित भेट भयो । पारखीहरूका बिच दुवैको परिचय हुन गयो । दुवैले मित्रताको हात बढाए ।

+  +  + 

समयको अन्तरालमा रूपवतीको बैंस ढल्किदै गइरहेको थियो । शृङ्गार पनि अस्वाभाविक हुँदै गइरहेको प्रतीत हुन्थ्यो । जता गए पनि रूपवतीकै टीका–टिप्पणी सुनिन्थ्यो ।

अब समयले रूपवतीसित मुख मोडिसकेको थियो ।

एक दिन असार संसारको सार नदेखेर रूपवती कृत्रिम बजारबाट हराइन् ।

रूपवतीले आफ्नो सौन्दर्यको विनाश हुँदै गएको कारणले पलायनको बाटो रोज्नु नै विसङ्गतिको अनुभूति हो । कथाकार महेश प्रसाईंले यस कथाका जीवनको अर्थहीनता र वैराग्य भाव व्यक्त गरेका छन् । त्यसरी नै अर्को कथा 'कोट’ मा पनि उनले जीवनका कुण्ठा र निराशा भावलाई यसरी आख्यानीकरण गरेका छन् :

त्यस दिन हतारहतार कार्यालय पुग्नुभयो उहाँ । कोठामा पुगेर कोट खोल्नुभयो । ह्याङ्गरमा टाँग्नुभयो । पानी पिउनुभयो ।

त्यसपछि सोच्न थाल्नुभयो ।

सोच्तासोच्तै कोटमा पुगेर उनियो मन । क्या खुल्छु म यस कोटमा । व्यक्तित्व नै अर्कै हुन्छ यस कोटमा ।

आदिआदि तरङ्गहरू मडारिइरहे आत्मरतिसित ।

केही महिनाअघि मात्र एक जना जर्सापबाट बक्सिसमा प्राप्त भएको थियो, यो । जर्साप उहाँको कार्यकुशलताबाट कम प्रसन्न हुनुभएको थिएन त्यस बेला ।

मन सुखद अनुभूतिले रोमाञ्चित भएर आयो ।

तर अहँ ५ जुन दिनदेखि यो कोट भिरें, कुनै कालो छायाले बास गरिरहेजस्तो लाग्छ ।

मनको भूत नाचिरह्यो कोठाभरि ।

जर्सापले राणाकालमा पनि धेरैको जिउधन हत्याउनुभएको थियो र पञ्चायतकालमा पनि उत्तिकै सोत्तर पार्नुभएको थियो दुनियाँ रैत्तीलाई ।

भन्नेहरू यसै भन्थे ।

गतसाल जर्सापकै फाइल सदर गराउँदा एघार परिवार सुकुमबासी भएको घटना झलझली सम्झन थाल्नुभयो ।

अब उहाँलाई त्यही कोटले गिज्याइरहेजस्तो अनुभव भइरह्यो । बिस्तारै कोटको नजर छलेर उहाँले आँखा दौडाउनुभयो सडकतिर । त्यहाँ केही कोटहरू काला कोटहरू लमकलमक लम्किरहेका थिए । कुनै अज्ञात दिशातिर ।

ती कोटहरूमा पनि जर्साप नै जर्सापका आकृतिहरू उनिंदै, अल्किँदै गइरहेका थिए ।

Sunday, July 12, 2026

व्यक्तित्व (अङ्क ३६ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार गोरखबहादुर सिंह (सं. २००८–६८) देखा परेका हुन् । उनको पहिलो कथा हो 'कालेका गीतहरू’ (सं. २०२९) जुन 'सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो । एम.पी.ए. तथा एम.फिल. उपाधि प्राप्त गरेको उनको अभिरुचि अनुवाद र सम्पादन कार्यमा पनि रहेको देखिन्छ । सरकारी सेवासँग आबद्ध रहेर उनले धेरै वर्षसम्म सेवा गरे । उनी 'उपत्यकाव्यापी अन्तरकलेज साहित्यिक प्रतियोगिता’ (सं. २०२८) मा प्रथम, ने.क.पा. (मा.ले.) प्युठान–काठमाडौँ मञ्चद्वारा साहित्य सेवावापत अभिनन्दन (सं. २०४९), 'असहाय मिलन केन्द्रद्वारा नागरिक अभिनन्दन तथा सम्मान’ (सं. २०६०) र 'चौथो राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगिता’ मा निर्णायकका रूपमा प्रशंसापत्र (सं. २०६१) द्वारा सम्मानित भइसकेका छन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् :

१. भाषणको तयारी (सं. २०४९ः कथासङ्ग्रहहरू)
२. आलुप्याज / प्याजआलु (सं. २०६१ः कथा र कथासङ्ग्रहहरू)
३. नगरसभाको पाँचौं दिन (सं. २०६५ः कथासङ्ग्रहहरू) सिंह बालसाहित्यका पनि सर्जक हुन् ।

गोरखबहादुर सिंहका कथाहरूमा युगीन सन्दर्भहरू यथेष्ट मात्रामा पाइन्छन् । उनले समसामयिक राजनीति, शासन व्यवस्था र प्रशासनका क्षेत्रमा देखिएका विकृति र दौर्बल्यहरूको जीवन्त चित्र उतारेका छन् । यस सन्दर्भमा उनले के देखेका छन् भने मन्त्रीज्यूहरू आन्दोलनमा लागेर घाइते समेत भई योगदान गर्ने युवाहरूलाई पर पन्साएर आफ्ना नजिकका नातेदारहरूलाई रिक्त पदमा नियुक्त गर्दछन् ('अमृत मन्त्रीका भान्जा पर्दैनन्‌’ कथा), ती मन्त्रीहरूलाई विक्रम टेम्पोले फालेको कालो–बाक्लो धुवाँमा सुगन्ध पाउँदछन्, किनभने देशमा त्यस्ता वायु प्रदूषक तीनपाङ्ग्रे आयात गर्नमा तिनीहरूकै ठुलो हात रहेको हुन्छ ('विक्रम टेम्पोको धुवाँ’ कथा), ती मन्त्रीहरूले मातहतका सचिव आफू अनुकूल नभएमा सरुवाको प्रक्रिया चलाउन कति पनि लाज मान्दैनन् ('नियत’ कथा), पहिरो पीडित क्षेत्रको निरीक्षणमा गएको मन्त्रीले पाइलटसँग कुरो मिलाएर हेलिकोप्टरलाई आफ्नो निर्वाचन क्षेत्रतर्फ लान लगाउँदछन् ('मौसम/बेमौसम’ कथा) आदि । कथाकारले देश चलाउने मन्त्रीको दुराशय तथा स्वार्थी प्रवृत्तिको चित्रण यसरी गरेका छन् :

जनैपूर्णिमाको दिन त्रिवेणीमा रमाइलो मेला लाग्थ्यो र त्रिवेणी मन्त्रीज्यूको निर्वाचन क्षेत्रभित्र पर्दथ्यो । मेलामा हुने जमघट, भेटघाट, नजिकिँदो निर्वाचन मन्त्रीज्यू फेरि समाचारको शीर्षकमा पुग्नु भयो 'आज जनैपूर्णिमा’ ।

“क्याप्टेनसा’ब, 'फर्कदा एकछिन त्रिवेणी पस्ने कि ? सारै रमाइलो मेला लाग्छ ?’’ मन्त्रीको भाषामा अनुरोधको मात्रा प्रशस्त मिसिएको थियो ।

“दुवै ठाउँ पुग्न इन्धन र समय दुवै कारणले सम्भव छैन । बरु मन्त्रीज्यूलाई गन्तव्य बदल्ने मन छ भने मलाई आपत्ति छैन ।’’

“आज प्रतिकूल मौसमका कारण मन्त्रीज्यू चढ्नुभएको हेलिकोप्टर पहिरो पीडित क्षेत्रमा पुग्न नसकी बिचैबाट फर्कनुपरेकाले पहिरो पीडित क्षेत्र निरीक्षण गर्न सक्नुभएन ।’’ त्यसै साँझ रेडियो तथा टेलिभिजनबाट प्रसारित यो समाचार पहिरो पीडित र मन्त्री दुवैले सुन्न सकेनन् । पहिरो पीडित हेलिकोप्टर ओर्लन सक्ने गाउँ सिरानको एक मात्र चौरमा दिउँसोदेखि थुप्रिएर आकाशमा हेलिकोप्टर खोजिरहेका थिए ।

मन्त्रीज्यू त्रिवेणी मेलाबाट फर्कदा सँगै ल्याउनुभएका कार्यकर्तासँग चियर्स र 'आउँदो चुनाव जसरी पनि जित्ने’ रणनीति निर्माणमा व्यस्त हुनुहुन्थ्यो । ('मौसम/बेमौसम’ कथा)

Friday, June 12, 2026

व्यक्तित्व (अङ्क ३५ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार किशोर पहाडी (सं. २०१३) देखा परेका हुन् । उनको पहिलो कथा हो 'म के जवाफ दिऊँ’ (सं. २०२८) जुन 'नयाँ सन्देश’ मा छापिएको थियो । सिभिल इन्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता, सम्पादन कला, अभिनय, निर्देशन, अनुवाद कार्य र फोटोग्राफीमा रहेको पाइन्छ । उनी साहित्यिक तथा सांस्कृतिक संघ–संस्थाहरूसँग आबद्ध छन् । उनी 'साझा पुरस्कार’ (सं. २०४५), 'राष्ट्रिय युवा वर्ष मोती पुरस्कार’ (सं. २०४७), 'मैनाली कथा पुरस्कार’ (सं. २०६३) आदिद्वारा सम्मानित भइसकेका छन् ।

उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् ।

घर – खण्डहर : कथासङ्ग्रहः २०३७
बाँच्नु र बाँचेकाहरू : कथासङ्ग्रह : २०३७
कथा–कोण : संयुक्त कथासङ्ग्रह : २०४३
विशुदाइ : कथासङ्ग्रह : २०४५
अध्याय : सम्पादित लघुकथासङ्ग्रह : २०४७
किंवदन्ती : लघुकथासङ्ग्रह : २०५३
शहरमा बत्ती निभेको बेला : कवितासङ्ग्रह : २०५३
एकैसाथ हाँसौं : अनुवादित कथासङ्ग्रह : २०५५
सर्वज्ञ र सेक्स : कथासङ्ग्रह : २०५५
लम्लम्ती दम : बालकथासङ्ग्रह : २०५७
त्यो तलाको मालिक : अनुवादित कथासङ्ग्रह : २०५९
आ–आफ्नो भाग : : बालकथासङ्ग्रह : २०६१
हाँस र फुच्ची केटी : : बालकथासङ्ग्रह : २०६६
मुग्ध सिम्फोनी : कथासङ्ग्रह : २०७०
अन्नपूर्णको भोज (मनुब्राजाकी) : सम्पादन : २०७०
शनिवारको साथी : बालकथासङ्ग्रह : २०७३ 

रोजा कथाहरू : कथासङ्ग्रह २०७५

****

'सिर्जनशील किशोर पहाडीॅ – डा. शेखर कुमार श्रेष्ठद्वारा सम्पादित  २०८०

किशोर पहाडी कविता विधाका पनि स्रष्टा हुन् ।

किशोर पहाडी मान्छेभित्रको निकृष्ट मानसिकता वा मनोभावलाई उदाङ्गो पार्ने संवेदनशील कथा–स्रष्टा हुन् । उनी मान्छेलाई नैतिक गुणहीन, स्वार्थी, ईर्ष्यालु, आडम्बरी, पाखण्डी, दम्भी, कपटी, पक्षपाती र अत्यन्त दुराग्रही देख्दछन् अर्थात् उनी मान्छेभित्र पाशविक र बर्बर प्रवृति रहेको देख्दछन् । उनी जीवनलाई सङ्गति अर्थात् हिसाब नमिलेको मृत्यु उन्मुख एउटा गतिविधि मात्र ठान्दछन् । उनी के देख्दछन् भने दम्भ, आडम्बर र निकृष्ट सोचका कारण मान्छे व्यक्तिवादी बनेर अरूका कुरालाई महङ्खव नै नदिने भइसकेका छन् ('सल्लाह’ कथा), त्यसरी नै मानिसहरू एकले अर्कालाई अवमूल्यन गरेर आफ्नै मात्र अहम् साँचेर बाँचिरहेका छन् ('साबुन’ कथा) र अरूलाई माध्यम बनाएर मान्छे आफ्नो व्यक्तिवादी सोचलाई मात्र प्राथमिकता दिन प्रवृत्त छन् ('साथ’ कथा) । यसै सन्दर्भमा उनको 'बाह्रखरी’ कथाको यो अंश हेरौं :

Tuesday, May 5, 2026

व्यक्तित्व (अङ्क ३४ मा प्रकाशित)

आधुनिक नेपाली कथा–परम्पराको 'नवचेनाको युग’ (सं. २०२०–३९) मा कथाकार हिरण्य भोजपुरे (सं. २००१) देखा परेका हुन् । नेपाली र राजनीतिशास्त्र विषयहरूमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको अभिरुचिको अर्को क्षेत्र हो सङ्गीत कला । उनी धेरै वर्षसम्म सरकारी सेवाअन्तर्गतका विभिन्न निकायहरूमा कार्यरत रही हाल सेवा निवृत्त भई साहित्य साधनामा लागेका छन् । उनले पहिलो कथा हो 'चौबाटोको चारैतिर’ (सं. २०२८) जुन 'गोरखापत्र’ को वर्ष ७१, अङ्क २४८ मा छापिएको थियो । उनी 'लेकाली समूह’लगायत अरू विभिन्न कलासम्बन्धी सङ्घ–संस्थाहरूसँग संलग्न रहे । उनी कविता प्रतियोगिता (सं. २०१९ : हेटौंडा) मा प्रथम पुरस्कार र कथा–प्रतियोगिता (सं. २०२२ : नेसनल कलेज) मा प्रथम पुरस्कार, सङ्गीत प्रतियोगिता (सं. २०२५ः त्रि.वि.) मा प्रथम पुरस्कार, राष्ट्रिय आधुनिक गीत प्रतियोगिता (सं. २०२५ र २०२६ रेडियो नेपाल) मा रचनातर्फ सर्वोत्कृष्ट पुरस्कार, कविता महोत्सव (सं. २०२७) मा तृतीय पुरस्कार, शुभराज्याभिषेक पदक (सं. २०३१), गोरखा दक्षिण वाहु (सं. २०३४ः चौथा) आदिद्वारा सम्मानित भइसकेका छन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् : (१) चौबाटोको चारैतिर (सं. २०५६ : कथा र लघुकथाहरूको सङ्ग्रह), (२) जँघारहरू (सं. २०६०ः लघुकथासङ्ग्रह), र (३) रङ्गहरू (सं. २०६२) । उनी उपन्यास, गीत, बाल साहित्य, निबन्ध र संस्मरण विधाका पनि स्रष्टा हुन् । उनी गायक र सङ्गीतकारका रूपमा पनि प्रसिद्धि पाएका व्यक्तित्व हुन् ।

हिरण्य भोजपुरे

हिरण्य भोजपुरेका लघुकथाहरू आख्यानात्मक भएर पनि नितान्त आत्मपरक शैलीका छन् । उनले निजी अनुभूति, संवेदना र रागात्मक भावनाहरूलाई आफ्ना लघुकथाहरूमा संयोजन गरेका छन् । विशेष गरेर उनले 'हिँडाइहरू, 'जंघार’, 'विज्ञापन’, 'मौरी’, 'पैयाँ’, 'अग्लाइ’, 'भगुवाहरू’, 'बहुलाहरू’, 'औडाहा’, 'हंसराज’, 'कीर्षि’, 'मेरो साने’, 'उमेरहरू, 'बलात्कार’, 'वाहियात’ र 'मान्छेहरू’ मा कथात्मकतालाई नेपथ्य वा पृष्ठभूमिमा राखेर सोझै कवितात्मक शैलीद्वारा अन्तर्विषयको प्रक्षेपण गरेका छन् । त्यसैले उनका कथाहरू भावनात्मक उच्चता र रागात्मक अभिव्यञ्जनाद्वारा रङ्गिएका छन् । 'मौरी’ कथाको यो उद्धृतांश हेरौं :

बिहानको बेला छ । बिहान पनि छिप्पिएको बिहान होइन, कलिलो बिहान । कलिलो बिहानीमा कलिलै सूर्य छ । बिहानीपख म बिहानको सूर्य बनेर ओलिएँ । म ओलिंदा घाम बनेर ओर्लिएँ । मन न्यायो भयो ।

यहाँ आएपछि म राप बनेर आएँ । ताप होइन सन्ताप बनेर पसें । अन्तरकुन्तर असिनपसिन भए । पसिनाले ती तरबतर बने । ओहो ताप आगो बन्यो । आगोमा बन उड्यो, मन उड्यो, घर र वस्तीहरू बले । म सुरिएर झरिलो आगोमा पसेको सुइरो बनें । म भाँचिन्छु तर कदापि वाङ्गिन जान्दिनँ भन्ने भ्रम बोकेर बढे । म बहादुर, झन् बहादुर बन्न खोज्दै थिए । मेरो बहादुरीलाई इतिहासले झन् उकासिदियो । इतिहासका अगाडि भूगोल छ्यान्नछ्यान्न हुन खोज्दै थियो । संस्कार र संस्कृति दुलोभित्र पसे ।

Tuesday, March 31, 2026

व्यक्तित्व (अङ्क ३३ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार विश्वम्भर प्याकुर्‍याल (२००७) देखा परेका हुन् । उनको पहिलो प्रकाशित कथा हो 'सपना’ (सं. २०२७) जुन 'बान्की’ मासिक गोजिकाको पूर्णाङ्क ५ मा छापिएको थियो । अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका उनी गीत रचनामा पनि अभिरुचि राख्दछन् । उनी नेपालमा अर्थविज्ञका रूपमा प्रसिद्ध छन् । त्यसैले उनले स्वदेश तथा विदेशमा थुप्रै सरकारी गैरसरकारी संघ–संस्थाहरूसँग संलग्न रहेर सेवा गरिसकेका छन् । उनको एक मात्र लघुकथासङ्ग्रह इन्द्रेणीको गुम्बजभित्र (सं. २०२९) प्रकाशित छ । उनी गीतकार पनि हुन् ।

विश्वम्भर प्याकुर्‍याल विसङ्गतिवादी चिन्तनबाट प्रभावित भएका कथाकार हुन् । त्यसैले उनी जीवनका निराशा, कुण्ठा, असन्तुष्टि, रोष, आक्रोश र विद्रोहलाई आफ्ना कथाको मूल विषय बनाउँदछन् । मान्छेले आफ्नो जीवनको क्षणविशेषमा एउटा इच्छा गरेको हुन्छ, तर समयले त्यसलाई ठिक विपरीत दिशातर्फ मोडिदिँदा अर्कै अप्ठ्यारो परिस्थिति सिर्जना भइदिन्छ । यस कुरालाई उनले 'पसल जाने रहर !’ कथामा यसरी व्यक्त गरेका छन् :

तर यहाँ मान्छेको जीवनको चक्र कहिलेकाहीँ यसरी घुमिदिन्छ जसले मान्छेको उच्चतम सोचाइलाई समेत एउटा डरलाग्दो तथा अनुकरणीय चुनौती दिन्छ । अप्रत्याशित खुसीका वरदान कान्छीले जसरी पाएकी थिई आज त्यसरी नै अप्रत्याशित स्थितिको सहन नसक्ने वज्रले उसका निर्णयहरूलाई सन्काइदिए । ऊ सद्धे र बहुलाही दुवै भई । क्षणिक खुसी वास्तविक आँसुले पखालियो । अकस्मात् आफूअगाडि धेरैधेरै भन्नेहरू लिएर उभिएको हराइसकेको हक्दार आफ्नो पतिलाई देखेर ऊ मौन भई रुन थाली । ऊ यस्ती देखिन्थी मानौँ वास्तविक रुवाइ ऊ अहिले रोइरहिछ । ऊ न बोल्न सक्छे न सोध्न । उसको सामु एउटै समाधान थियो– रुनु । नरोएर के गरोस् यस पटकको आक्रमण भूत, वर्तमान तथा भविष्य तीनओटैको थियो । ऊ पराजित भई ।

त्यसैले समालिँदासमालिंदै केही क्षणका निमित्त लल्याकलुलुक भएर आँखा चिम्लिदिई । धेरै वर्षको विछोडपछि आकस्मात् भएको विज्ञानको असन्तुलनले यो प्रतिक्रिया देखाएको हो भन्ने धारणा लोग्नेले लियो जो केही हदसम्म सत्य पनि थियो । उसले पनि कान्छीलाई यस अवस्थामा हेर्न सकेन र आँसु खसाल्दै आफ्ना सारा अभिव्यक्ति तथा स्नेहका गन्धहरू दुवै हातमा तानिदिएर कान्छीमा गालाहरूमा गरेको स्पर्शको माध्यमद्वारा ऊभरिभरि सञ्चार गराउन व्यस्त भयो । ऊ कान्छीलाई यसरी हुँदै थियो मानौं उसले नचिनेको व्यक्तिमाथि ऊ लुकेर पाप गर्न खोज्दै थियो । घरथराएको उसको हातले उसको मायामा गएको भूकम्पको सफल सङ्केत दिइरहेको थियो ।

यसरी कान्छीको जीवनले अब नयाँ काँचुली फेर्ने छ र हुन सक्छ उसलाई अब पसल जान ज्यादै घृणा लाग्ने छ ।

Sunday, March 1, 2026

व्यक्तित्व (अङ्क ३२ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार अनिता तुलाधर (२००७–) देखा परेकी हुन् । उनको पहिलो कथा हो 'मेरो मनको धोको’ (सं. २०२४) जुन 'कस्तुरी’ पत्रिकामा प्रकाशित भएको थियो । स्नातकोत्तर उपाधि प्राप्त गरेकी उनको अभिरुचि साहित्यिक पत्रकारितामा पनि रहेको देखिन्छ । उनी सं. २०२८ मा पाटन कलेजद्वारा आयोजना गरिएको अन्तर कलेज कथा प्रतियोगितामा प्रथम भएकी थिइन् । उनी 'रत्नश्री स्वर्णपदक’ (सं. २०३४), 'लोकप्रिया पुरस्कार’ (सं. २०५६) का साथै 'प्रतिभा पुरस्कार’, 'नइ रेखा पुरस्कार’, 'जलरिका बुद्धि–रेशम स्रष्टा सम्मान’ आदिद्वारा सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् : 

१. फूलु (सं. २०३४ : लघुकथासङ्ग्रह),
२. रित्तो सहर (सं. २०३५),
३. सूर्यग्रहण (सं. २० ४०), र
४. विडम्बना (सं. २०४६) ।

लघुकथाकी सर्जक अनिता तुलाधरले विसङ्गत जीवनका विभिन्न रूपका सन्दर्भहरू दिएकी छिन् । उनी मानव जीवन निराशा, कुण्ठा, असन्तुष्टि र पश्चात्तापपूर्ण देख्दछिन् । मान्छेले आफ्नो अन्तर्मनभित्र केवल पिर र व्यथाहरू मात्र भरिएको कारणले बाहिर प्रकृतिमा समेत कुनै सौन्दर्य देख्दैनन्, देख्दछन् भने मात्र वेदना र रोदन :

हृदयको वरिपरि, आँखाको पर–घरसम्म केही छैन, कोही पनि छैन । केवल आफूलाई अग्लिरहेझैँ लाग्ने अग्लाअग्ला पहाडहरू छन् अनि टाकुराहरू छन् । मुटुमा अत्यासलाग्दा वातावरणहरू जन्मिदिन्छन्, हुर्कन्छन्, साथै बिलाइदिन्छन् … ।

…. सुनौलो प्रकृतिमा नरमाइला भोक, प्यासहरू रुमल्लिरहेका छन् … । आफूभित्र कताकता लागिदिन्छ – आँसुले पगालेर यो घाउलाई मेरो मुटुमा गाँसेर लैजाऊँ । लम्पसार परेर रहेका बाँझा खेतहरूलाई सिँचाइका दुई कोस्रा ओठहरूले चुमिजाऊँ जस्तो । म केही गर्न सक्तिनँ । तैपनि मुटुमा पीर र व्यथा लागिरहन्छ । यो कस्तो जलन ! अप्ठ्यारा गोरेटाहरूमा पनि बाधा बनेर झाँगिएका झारहरू । केवल झारैझारमा अल्झिएका क्षणहरू । ('आउँदै गरेका क्षणहरू’ कथाहरू)

उपर्युक्त उद्धृतांशमा उल्लिखित 'मुटुमा अत्यासलाग्दा वातावरणहरू’, 'सुनौला प्रकृतिमा नरमाइला भोक, प्यासहरू’, 'आँसुले पगालेर यो घाउ’, 'अप्ठ्यारा गोरटाहरूमा पनि बाधा बनेर झाँगिएका झारहरू’ र 'झारैझारमा अल्झिएका क्षणहरू’ जस्ता पदावलीहरूले मान्छेको विसङ्गत जीवनका दुखाइहरूलाई विभिन्न बिम्ब र प्रतीकहरूका माध्यमद्वारा प्रकट गर्दछन् । कथाकार अनिता तुलाधरले आफ्नो 'रुखो बगर’ लघुकथामा पनि जीवनको अर्थहीनता र निस्सारतालाई यसरी व्यक्त गरेकी छिन् :

म त एउटा बगर हुँ रामु ! त्योभन्दा बढी त म कहिल्यै केही हुन नै सकिनँ, उजाड मरुभूमि जस्तै एउटा रुखो बगर … तिमी केटाकेटीको जस्तो एकोहोरो जिद्दी लिएर यो रुखो बगरको वरिपरि आइरह्यौ … तिमीले आफ्ना हृदयमा निश्चय गरेर म कहाँ आउन छोडेको दिन म धुवाँ र आगो निलेर हाँस्ने प्रयास गरुँला ।

Monday, January 19, 2026

व्यक्तित्व (अङ्क ३१ मा प्रकाशित)

आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार विजय सागर (सं. २००६) देखा परेका हुन् । उनको पहिलो कथा हो 'सङ्कुचित माया’ (सं. २०२४) जुन 'गुराँस’ पत्रिकाको तेस्रो अङ्गमा छापिएको थियो । इतिहास विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको अभिरुचि साहित्यिक पत्रकारितामा पनि रहेको पाइन्छ । तानसेन, पाल्पामा जन्मेका उनी स्थानीय स्तरका विभिन्न पुरस्कार, सम्मान तथा अभिनन्दनद्वारा सम्मानित भइसकेका छन् । उनी 'गोरखा दक्षिण वाहु’ (सं. २०५० चौथा), 'छविलाल प्रतिभा पुरस्कार’ (सं. २०६३), 'सिर्जनशील साहित्यिक समाज सम्मान’ (सं. २०६३), अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित भइसकेका छन् । लामो समयदेखि सरकारी सेवामा कार्यरत उनका कथासङ्ग्रहहरू यस प्रकार छन् :


१. हाम्रा कथाहरू (सं. २०३१ अन्य दुई कथाकार हितान र निर्माया थापाका साथ संयुक्त),
२. सागरका कथाहरू (सं. २०६०),
३. विवसका कथाहरू (सं. २०६६ः अन्य दुई कथाकारहरू वनमाली निराकार र रुद्र ज्ञवालीका साथ संयुक्त) ।

विजय सागर कविता विधाका पनि स्रष्टा हुन् ।

विजय सागर समाजका ठुलाबडा भनाउँदाहरूबाट निमुखा र निर्वलिया मानिसहरूमाथि हुने गरेका अमानवीय र गैरसामाजिक व्यवहारको कडा आलोचना गर्ने चेतनशील कथाकार हुन् । यसको अर्थ उनी समाजमा हुने गरेका आम शोषण तथा अन्याय र अत्याचारको विरोध गर्दछन्, यो कुरा उनका 'कौवा’, 'राना दाइ’, 'पाजीको वक्तव्य’, 'कमिलाहरूको लाम’ 'पल्लेदारको छोरा’ जस्ता लघुकथाहरूबाट पुष्टि हुन्छ । उनले 'कौवा’ कथामा समाजका शोषकहरूको अधिनायकवादी वा निरङ्कुश प्रवृत्तिको पर्दाफास यसरी गरेका छन् :

तर नतिजा उल्टो भयो । ऊ अब कसैको अधीनस्थ भएन त्यसैले झन् बलवान् भयो । अनि त आफ्नो दल, बल र कुटिलताले ऊ पक्षीहरूको अधिनायक भयो । अनि निर्विघ्न अन्याय, अत्याचार गर्न पनि ऊ डराएन । डराउन पनि किन पयो र ? उसले कसैको बचेरा लुटेर खाइदिँदा उसलाई झपेटा हान्ने को ? गुँड नै भत्काएर फुल खाइदिंदा विद्रोह गर्ने को ? उसले कसैका आहार खोसिदिँदा हल्लाखल्ला गर्ने को ? कसैबाट विद्रोह र हल्ला नभएपछि कौवाको वंशमै यही प्रवृत्ति कायम रहन गयो । 

साँच्चै कौवाको अत्याचारीपन के तपाईंं‌ हामीबाट लुकेको छ र ? स–साना भँगेराका बचेराहरूलाई गुँडबाट नै ठुँगेर लगेको के तपाईं हामीले हाम्रो आँखाबाट देखेका छैनौं र ? तर देखे पनि के तपाईं हाम्रो हृदयमा भँगेराप्रति दया र कौवाप्रति विद्रोहको भाव जागेको छ र ? मात्र देख्दासम्म हेछौं र त्यसपछि त्यस घटनालाई त्यसरी नै बिर्सिदिन्छौं जसरी त्यसलाई देखेका थियौ, हैन र ?

Tuesday, November 25, 2025

व्यक्तित्व (अङ्क २९ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको  'नवचेतनाको युग' (सं. २०२०–३९) मा कथाकार भागीरथी श्रेष्ठ (सं. २००५) देखा परेकी हुन् । उनको पहिलो कथा हो 'प्रबल इच्छा' (सं. २०२३) जुन गुल्मीबाट प्रकाशित भएको 'रुरु' भन्ने पत्रिकामा प्रकाशित भएको थियो । स्नातकोपाधि प्राप्त गरेकी उनको अभिरुचि साहित्यिक पत्रकारिता, अनुवाद र सम्पादन कार्यमा पनि रहेको पाइन्छ । उनी 'लुम्बिनी अञ्चल स्तरीय साहित्य सम्मेलनमा गद्यतर्फ प्रथम पुरस्कार' (सं. २०२३), 'रत्नश्री स्वर्णपदक’'(सं. २०४३), 'सर्वोत्तम कथाकार' (सं. २०४४ः टेलिफिल्म प्रतियोगिता), 'मैनाली कथा पुरस्कार' (सं. २०४८), 'प्रतिभा पुरस्कार' (सं. २०५५), 'नूरगङ्गा साहित्य पुरस्कार’ (सं. २०५८), 'दायित्व वाङ्मय पुरस्कार’ (सं. २०५९) का साथै 'शङ्कर कोइराला स्मृति पुरस्कार’, 'गरिमा पुरस्कार’, 'पारिजात स्मृति साहित्य मितेरी सम्मान’ आदिद्वारा सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् :

१. क्रमशः (सं. २०४३),
२. मोहदंश (सं. २०४४),
३. विभ्रम (सं. २०५०),
४. रङ्गीन पोखरी (सं. २०५० लघुकथासङ्ग्रह)
५. भूमिगत (सं. २०६२), र
६. रातो गुलाफ (सं. २०६६)
भागीरथी श्रेष्ठ उपन्यास र कविता विधाकी पनि स्रष्टा हुन् ।

भागीरथी श्रेष्ठ राजनीतिक विषयवस्तु (Theme)लाई मिठो आख्यान बनाएर प्रस्तुत गर्ने क्षमता भएकी स्रष्टा हुन् । उनले विशेष गरेर देशमा कुनै कालखण्डमा एकदलीय शासनतन्त्र प्रारम्भ भएदेखि बहुदलीय शासनतन्त्र लागू भएसम्मको करिब तीन दशकको राजनीतिक पृष्ठभूमिमा देखिएका विकृति र विसङ्गतिहरूलाई विभिन्न अन्योक्तिहरू (Allegories) द्वारा देखाएकी छिन् । यस सन्दर्भमा उनले विशेष गरेर एकदलीय शासनतन्त्रभित्रको निरङ्कुश प्रवृत्ति र गतिविधिहरूलाई लक्षित गरेर 'प्रशंसा’, 'अधिकार’, 'सिक्री’, 'नाइकेको बाचा’, 'अन्धो’, 'महत्वाकाङ्क्षी ठुलो दाजु’, 'जाल’, 'हाम्रा निर्धन हिमालयहरू’, 'रङ्गीन पोखरी’, 'नयाँ घर’, 'बिउ’ जस्ता लघुकथाहरू लेखेकी छिन् । उनका दृष्टिमा एकदलीय शासनतन्त्र लागू भएको अवधिमा देशका जनताहरू त्यस शासनतन्त्रलाई जबरजस्ती समर्थन गर्न बाध्य थिए र देशको सत्ता आफ्नो नियन्त्रणमा लिएका सर्वोच्च व्यक्तिहरू आफ्ना चारैतिर प्रशंसा मात्र गरेर चाकरी बजाउने भारदारहरूद्वारा घेरिएर बसेका थिए ('प्रशंसा’ कथा) । शासनतन्त्रका विरोधीहरूको आवाज ती सर्वोच्च व्यक्तिको कानमा पुग्नै नदिई झुट्टो प्रशंसाका आवाजहरू मात्र पुग्न दिई सधैं भ्रममा पारिरहने ती भारदारहरूको कार्ययोजना र उद्देश्यलाई यस कथामा यसरी भनिएको छ :

Friday, October 24, 2025

व्यक्तित्व (अङ्क २८ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार विनयकुमार कसजू (सं. २००४–२०७६) देखा परेका हुन् । उनको पहिलो कथाको शीर्षक हो 'ब्याज’ जुन सं. २०२३ मा 'नेपाली साहित्य सम्पर्क समिति’, (बनारस) पत्रिकाको चौथो सँगालोमा प्रकाशित भएको थियो । स्नातकोपाधि प्राप्त गरेका उनको अभिरुचिका क्षेत्रहरू हुन् पत्रकारिता र सम्पादन कला । तानसेन, पाल्पाको स्थानीय राजनीतिमा समेत सक्रिय भएका उनी सत्य वातावरण विशेषाङ्कका लागि वनमन्त्रालयबाट पुरस्कार (सं. २०४७), गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार (सं. २०५२), प्रकाश मानव अधिकार पुरस्कार (सं. २०५२) आदिद्वारा सम्मानित भइसकेका छन् । 'पश्यकोयम’ उनको साहित्यिक नाम हो । पुस्तकाकारमा प्रकाशित उनका कथासङ्ग्रहरू हुन् :

विनयकुमार कसजू

१. पशुतन्त्र (सं. २०३९),
२. लिस्नो (सं. २०५३),
३. थोपाथोपा (सं. २०५७),
४. स्याललाई स्लिपिङ ब्याग (सं. २०६६), र
५. विमोचन (सं. २०६६)

(पुनश्च : 'चौतारा’ नामक हवाईपत्रका भाग १ (सं. २०३३) र भाग २ (सं. २०३४) मा विजय सागरका कथाहरूका साथ उनका ८ कथाहरू सङ्गृहीत छन् ।) विनयकुमार कसजू बालसाहित्यका पनि सर्जक हुन् ।

विनयकुमार कसजू आधुनिक नेपाली लघुकथाका स्तम्भहरूमध्ये एक हुन् । गुणस्तर तथा परिमाण वा सङ्ख्या दुवै दृष्टिले उनका कथा कृतिहरू उत्कृष्ट छन् । विस्तृत विषय क्षेत्रलाई समेटेको कारणले उनका कथा सिर्जनामा गतिशीलता पाइन्छ । यति मात्र नभएर उनले समग्रमा नेपाली लघुकथाको शिल्पविधानलाई सहजताका साथ आत्मसात् गर्न सकेकाले पनि उनको कथा साधना उपलब्धिमूलक बन्न सकेको छ । उनका अधिकांश लघुकथाहरू विधागत उत्कृष्टताका नमुना नै बनेका छन् तापनि उनी त्रुटिरहित भने हुन सकेका छैनन् जसको चर्चा पछि गरिएको छ ।

विनयकुमार कसजू अति नै संवेदनशील सामाजिक चेतना भएका कथाकार हुन् । उनी समाजमा एकातिर निम्नवर्गका आम मानिसहरूले उच्चवर्गका धनाढ्य र शक्तिसम्पन्न मानिसहरूबाट शोषित र पीडित भइरहेका देख्दछन् भने अर्कातिर समाज अन्धविश्वास, जातीय भेदभाव, अशिक्षा, भ्रष्टाचार र अनाचारबाट ग्रसित भएको देख्दछन् । समाजमा व्याप्त दरिद्री र यसबाट उत्पन्न भएका अनेक थरी विकृति र विसङ्गतिहरूले आम मानिसहरूको जीवन अत्यन्त समस्यापूर्ण भएको कुरालाई उनले आफ्ना कथाको विषयवस्तु बनाएका छन् । यसै सन्दर्भमा उनले निम्नवर्गका मानिसहरूमाथि ठुलाबडाले गर्ने गरेको श्रमको शोषणलाई 'दयालु सेठ’ कथामा यसरी देखाएका छन् :

नलकूप बनेको केही वर्षपछि मजदुरहरूले के अनुभव गरे भने हातले बल गरे जति नलकूपबाट पानी निस्कन्न, थोरै मात्र निस्कन्छ तिर्खा मेट्न मात्रै ठिक्क हुन्छ ।

कारण पत्ता लगाउन नलकूप विशेषज्ञहरू आए र खनेर हेर्दा विचित्रको कुरा देखे त्यो नलकूपबाट एउटा पाइप जमिन भित्रभित्रै सेठको पानी ट्याङ्कीमा लगिएको थियो र मजदुरहरूले हातले पानी तान्दा धेरै भाग पानी सेठको पानी ट्याङ्कीमा जान्थ्यो र अलिअलि पानी नलकूपको धारोबाट झर्थ्यो ।

Wednesday, September 10, 2025

व्यक्तित्व (अङ्क २७ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार रमेश नेपाली (सं. २००५) देखा परेका हुन् । उनको पहिलो लघुकथाको शीर्षक हो 'वर्ण र लाल विष्णुको जाल’ (सं. २०२२) जुन 'कल्पना’ पत्रिकामा छापिएको थियो । स्नातकोपाधि प्राप्त गरेका उनको गहिरो अभिरुचि साहित्यिक पत्रकारितातर्फ पनि रहेको पाइन्छ। उनी आफ्ना हजुरबुबा महानन्द सापकोटा र पिता जगदीश नेपालीबाटै प्रेरणा ग्रहण गरी साहित्य साधनातर्फ लागेका हुन् । उनी स्थानीय (धरान, सुनसरी) उद्योग–वाणिज्यसँग सम्बन्धित सङ्घ–संस्था, धार्मिक र आध्यात्मिक सङ्घ–संस्था तथा राजनैतिक सङ्घ–संस्थाहरूसँग आबद्ध रही सक्रिय जीवन विताउन कटिबद्ध रहे। उनको एक मात्र लघुकथा सङ्ग्रह 'पाटीकी बौलाही’ (सं. २०३२) प्रकाशित छ । उनको लेखनीको अर्को क्षेत्र हो उपन्यास विधा ।

रमेश नेपाली मानवीय न्याय र सौहार्दतामा आधारित प्रेम–अनुरागमा विश्वास गर्ने कथा–स्रष्टा हुन् । त्यसैले उनी हृदयको अन्तरबाट उद्भुत पारस्परिक प्रणय भावलाई महत्व दिन्छन् । 'पाटीकी बौलाहीॅ, 'आकर्षण’, 'एक नवीन रीत डायरीको’, 'उनी गइन्‌’ र 'मानिका’ कथाहरूमा उनले पवित्र र प्राकृत प्रेम–अनुरागको महङ्खवलाई प्रकाशमा ल्याएका छन् । उनको दृष्टिमा प्रेममा सच्चा मानवीय न्याय हुन सकेमा त्यसले सबै प्रकारका भेदभावको अन्त्य गरिदिन्छ । यसै सन्दर्भमा उनले स्वार्थी समाजले आत्मसात् गरेको आडम्बरी प्रेमको विरोध गर्दै चोखो मानवीय भावना एवम् सौर्हादतामा आधारित प्रेम–अनुरागप्रतिको झुकावलाई 'पाटीको बौलाही’ कथामा यसरी प्रस्तुत गरेका छन् :

यसैताक मेरो विवाहको कुरो चल्छ । परिवारका सबै यसका लागि उत्सुक हुन्छन् । देश–विदेशबाट अनगिन्ती निम्ताहरू मेरा निम्ति आउँदछन् । म खानदानी, सुन्दरी र दिव्य सुन्दरीहरूकहाँ पनि पुग्छु, तर पाटीभित्रको उनको बौलट्ठीपनले मलाई जति आकर्षित गरेको छ, चाहेर पनि सद्धेहरूबाट पाउन असफल हुन्छु । उनले नबोलीकनै नहेरीकनै र कुनै नखरापन नगरीकनै मेरो माया, प्रेम र स्नेह चुँडिसकेकी हुन्छिन् । मलाई आफूप्रति एकोहोर्‍याइसकेकी हुन्छिन् ।

मलाई मन पर्ने देखाई विवाहको कुरो टुङ्ग्याउन मेरा परिवारका सबै हैरान भए भने म झन आफ्नो प्रेमकथा सुनाई दुनियाँका सामु हाँसो हुन्छु भन्ने व्यथाले बेचैन भएको छु । म विवश छु भन्न कि ए मेरा पूज्यजनहरू हो ! मेरो प्रेम उनीसँग छ, मेरो माया उनीसँग छ । उनीबिना मेरा निम्ति यो धर्ती शून्य छ, यो महल बेकम्मा छ अनि यो ऐस, आराम र सान खोक्रो छ ।

Friday, August 8, 2025

व्यक्तित्व (अङ्क २६ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको ’यथार्थवादको युग’ (सं. १९९१–बी.टी.) र नेपालीमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको प्रमुख पेसा शिक्षण कार्य नै हो । उनी ’भानुभक्त पुरस्कार’ (सन् १९८६), साहित्य अकादमी पुरस्कार (सन् १९८६) र ’रत्नश्री स्वर्ण पदक’ (सन् १९८८) बाट सम्मानित भइसकेका छन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् ।


१. विम्बहीन प्रतिबिम्ब (सन् १९७१),
२. कथा–स्मृति (सन् १९७३ : तिलक राईसँग संयुक्त),
३. बाइस धारा (सन् १९७८),
४. तरल कथाहरू (सन् १९८३),
५. चक्रव्यूह (सन् १९८५),
६. समय र बाँसुरीको धुन (सन् १९८८),
७. कालाग्नि (सन् १९९६),
८. आदि–आदि (सन् १९९९),
९. सूर्यस्नान (सन् २००३) ।

शरद् छेत्री उपन्यास, नाटक, कविता–काव्य र समालोचनाका पनि स्रष्टा हुन् ।

लघुकथामा स्रष्टा शरद् छेत्रीले मान्छेले भोग्न बाध्य विसङ्गतिका अन्तर्पीडाहरूलाई व्यक्त गरेका छन् । उनी के ठान्दछन् भने मान्छे पराधीनतामा बाँच्न विवश छ अर्थात् मान्छेको कुनै स्वतन्त्र अस्तित्व नै छैन (’प्रतिद्वन्द्वी’), मान्छे मूल्यहीनतामा विलयन भइरहेको छ (’धराशायी’) र जोखिममा परेको मान्छेको जीवन कुनै समयमा पनि अस्तित्वहीन हुन सक्तछ (’स्वतन्त्र निर्णय’ लघुकथा)। उनले अस्तित्वहीन मान्छेको नियतिलाई यसरी चित्रण गरेका छन् :


ठुलो सङ्घर्षपछि टापुमा पुग्यौं । ओठमा गीत त भन्किरहेकै थियो, टापुको प्राकृतिक सौन्दर्यले हामीलाई नाच्न प्रोत्साहन दियो । हामी नाच्यौं, जीवन नाच्नुभयो ।

+ + +

नाच्दा नाच्दा हामीले आपस्तमा अङ्कमाल गर्‍यौँ, प्रेम गर्‍यौँ, लुटुपुटु भयौं… अझ प्रोत्साहित भएर नाच्यौं… नाच्दा नाच्दा एक दिन त्यो प्रतिद्वन्द्वी मसित लीन भयो… मैले जताततै प्रेम मात्र देखें… म फेरि सिङ्गो मनिस भएँ। मलाई त्यसपछि पूर्ण विश्वास भयो कि कुनै पनि मेसिनले फेरि मलाई खण्डित पार्न सक्तैन; – म स्वस्थ भएँ,

म मानिस भएँ …

विश्वासलाई जोख्न म फेरि नदीको तटमा आएँ ।

नौका चढेपछि अनायासै धेरै अघि छाडेको तटतर्फ जाने इच्छा भयो ।

यद्यपि त्यस तटमा कालो वायुमण्डल व्याप्त थियो…

अर्को तटमा पुग्नेबित्तिकै मलाई हठात् एउटा मेसिनले समात्यो । अरू मेसिन तत्कालै आएर नौका नष्ट पारे !…

उफ्, त्यस तटको सहर, जो मैले युगौँ अघि छोडेर भोगेको थिएँ, त्यहाँ कुनै मानिस पाइएन ।

सबै थिए मेसिनमा मानिसहरू… रोबोटहरू…

फेरि मेरो विभाजन भयो ।

प्रतिद्वन्द्वीलाई झकझकाउँदै मभित्रबाट कोट्याएर निकालियो ।

प्रेमलाई थुनेर एउटा बन्द ढुङ्ग्रोमा राख्दै नष्ट पार्ने आदेश दिइयो… अहिले मेरो हातमा एउटा पेस्तोल थमाइएको छ ।

मेरो प्रतिद्वन्द्वीको हातमा पनि त्यस्तै पेस्तोल थमाइएको छ । एउटा वृत्तीय आयतन घेरेको परिधिवरिपरि हामी आपस्तलाई बिरालोको नजरले हेर्दै घुमिरहेका छौं ।

इसारा पाउनासाथ नै हामीले आपस्तमा प्रहार गर्नुपर्ने छ र अब हामी न त गाउन सक्छौँ, न त नाच्न ।

बस ।

इसाराको प्रतीक्षामा आतुर छौँ – मेसिनको इसाराको प्रतीक्षामा … (’प्रतिद्वन्द्वी’ बाट) ।

Sunday, July 6, 2025

व्यक्तित्व (अङ्क २५ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'यथार्थवादको युग’ (सं. १९९१–२०१९) मा कथाकार जगदीश नेपाली (सं. १९९९–२०३८) देखा परेका हुन् । उनी आफैँले सम्पादन गरेको कथासङ्ग्रह 'आदर्शश्री’ (सं. २०११) मा उनका दुई कथाहरू 'चुम्ना’ र 'पतिया’ सङ्गृहीत भएकाले उनको कथायात्रा सं. २०११ देखि भएको देखिन्छ । कक्षा नौसम्मको मात्र विद्यालय शिक्षा हासिल गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता, स्थानीय राजनीति र समाजसेवामा केन्द्रित भएको पाइन्छ । शिक्षण पेसासमेत गरेका उनलाई बङ्गाली, आसामी, गुजराती, हिन्दी र अङ्ग्रेजी भाषाको समेत ज्ञान थियो । अध्यात्मवाद र अभिनय कलामा समेत अभिरुचि राख्ने उनी स्थानीय यातायात व्यवसायका प्रतिष्ठित व्यक्तित्व पनि थिए । उनी शिक्षानुरागी साहित्यिक व्यक्तित्व थिए । उनको एक मात्र लघुकथासङ्ग्राह जगदीश नेपालीका केही लघुकथाहरू (सं. २०३९ः सम्पा. गिरिराज आचार्य) प्रकाशित छ ।

जगदीश नेपाली तीव्र सामाजिक दृष्टि भएका चेतनशील कथा–स्रष्टा हुन् । उनले समाजमा नारीहरूमाथि हुने गरेका अन्याय र अत्याचार, मादक पदार्थ सेवन गरी हिँड्नेहरूको दुरवस्था, मान्छेभित्र बढ्दो पाशविक प्रवृत्ति र स्वार्थपन, अरूको आँखामा कसिङ्गर फालेर ठगी हिँड्ने मानिसको स्वभाव, मौलाउँदो भ्रष्टाचार, निम्नवर्गका मानिसहरूमाथि उच्चवर्गका मानिसहरूले गर्ने गरेका शोषण, विश्वासहीनताको स्थितिबाट अघि बढिरहेका मानिसहरू आदि देखेका छन् । उनी मानिसहरूको निकृष्ट मनोवृत्तिका कारण समाजबाट नैतिक मूल्यहरू विच्छिन्न हुँदै गएको देखेर दुखित बनेका छन् । हाम्रो समाजको यस्तै विद्रूप देखेर उनले लघुकथाहरू लेखेका हुन् । यस अर्थमा उनका कृतिहरू तात्कालिक समाजको दर्पण बनेका छन् । 'प्रपञ्च’ कथामा नारी पीडालाई यसरी प्रस्तुत गरिएको छ :

सौतेनी आमाको रोजाइले सुशीलाको जीवन नर्कतुल्य हुने । आफ्नो रोजाइ व्यक्त गर्दा वेश्या शब्दले सम्बोधित हुनुपर्ने । दाजु परदेशमा, बाबुको जोड छोरीलाई देख्दा गहभरि आँसु पनि बाहेक नचल्ने ।

तसर्थ सुशीलाले नारकीय जीवनमा प्रवेश गर्नुभन्दा आत्महत्या गर्नु नै अन्तिम शान्ति सम्झेर उदयलाई सम्झेर एक टीक सिसिक आफै निधारमा लगाएर कोसीमा आफूलाई विसर्जन गरिन् । टाढासम्म उनको पार्थिव शरीर कैले तल कैले माथि गरेको देखिइरहेको थियो ।

Wednesday, June 4, 2025

व्यक्तित्व (अङ्क २४ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'यथार्थवादको युग’ (सं. १९९१–२०१९) मा कथाकार पूर्णप्रसाद ब्राह्मण (सं. १९७९–२०४६) देखा परेका हुन् । उनको पहिलो कथाको शीर्षक हो 'दम्पती’ (सं. २००३) जुन उनको पहिलो कथासङ्ग्रह 'एक्काइस कथा’ (सं. २००३) मा सङ्ग्रहीत छ । पूर्वमीमांसा दर्शनमा प्रथम श्रेणीमा आचार्य उपाधि प्राप्त गरेका उनको व्यक्तित्वका विविध पाटाहरू छन्, जस्तो सं. २००४ मा 'जयतु संस्कृतम्‌’ आन्दोलनको नेतृत्व लिए, त्यसपछि राजनीतिक दल खोलेर नेपालको राजनीतिमा महङ्खवपूर्ण भूमिका खेले । उनी पञ्चायती शासनकालमा राज्यसभाका सदस्य पनि भए । समाजसेवाका साथै शिक्षासेवामा समेत उनी समर्पित भए । ॅनेपाल राष्ट्रिय विद्यापीठ’ का उपकुलपतिसमेत भएका उनको अभिरुचि धर्म, दर्शन, अध्यात्म र संस्कृतिका साथै पत्रकारितामा समेत थियो । नेपालको विद्वत् परम्परासँग उनको पनि नाम जोडिएर आउँदछ । नेपालको राष्ट्रिय जीवनसँग उनको घनिष्ठ सम्बन्ध रह्यो । उनका पुस्तकाकारमा प्रकाशित कथासङ्ग्रहहरू हुन् : 

१. एक्काइस कथा (सं. २००३),    
२. झिल्का (सं. २००७, लघुकथा सङ्ग्रह),
३. म लोग्ने हुँ (सं. २००८, लघुकथा सङ्ग्रह),
४. एकतीस कथा (सं. २०४२, लघुकथा सङ्ग्रह),
५. एघार कथा (सं. २०४३) ।

उनी कविता–काव्यका पनि सर्जक हुन् ।

पूर्णप्रसाद ब्राह्मण राजनीतिक चेतनाभिमुख कथाकार हुन् भन्ने कुरालाई उनका 'सराप’ 'खलल’, 'होक्का’, 'खेल’, 'हीही’, 'जाँच’, 'भिक्षा’, 'बैठक’, 'नाटक’, 'वर्तमान’, 'त्यो त स्वप्न हो’, 'नाटक कस्तो छ ?’, 'भौंजाहा कार’, 'पुनर्निर्णय’, 'कोइली गाइरहेकै छ नि !’, ;माथि माथि नै छ’, 'व्यामोह’ जस्ता कथाहरूले पुष्टि गर्दछन् । उनले एकातिर २००७ सालअघिको राणातन्त्रको अधिनायकवादी किंवा निरङ्कुशतन्त्री राजनीतिक स्वरूपको चित्रण गरेका छन् भने अर्कातिर उनले त्यस शासनकालमा नेपाली जनताले भोग्नुपरेका पीडा, जताततै बढ्दो चाकडी र चापलुसी तथा अन्याय र अत्याचार एवम् शोषणको चित्र उतारेका छन् । २००७ सालपछिको राजनीतिक अवस्थामा पनि जनताले प्रजातन्त्रको उपभोग गर्न नपाएको र सहिदहरूको सपना अधुरै रहेको यथार्थलाई पनि उनले आफ्ना कथाहरूमा अड्ढन गरेका छन् । यति मात्र नभएर समयको परिवर्तनसँगसँगै देशमा विद्यमान राजनीति जनमुखी हुन नसक्दा नेतृत्व वर्ग कमजोर भएको अथवा जनताका आँखामा नेताहरू नैतिकताहीन बनेको तथ्यलाई पनि प्रस्तुत गरेका छन् । यस सन्दर्भमा उनले निरङ्कुश राणा शासकहरूलाई वनका राजा सिंहको अन्योक्ति बनाएर त्यस भयातुर कालको चित्रण ’सराप’ कथामा यसरी गरेका छन् :

सिंहले गर्जेर भन्यो– 'म राजा हुँ, नढाँट ।’

'वनको यत्रो निष्कण्टक राज्य ! पञ्जामा त्यत्रो विश्वसामर्थ्य, तैपनि यो नीचातिनीच शड्का, उपशङ्का, त्यो पनि आफ्नै अशक्त निरपराध बालबच्चामाथि ? धिक्कार छ राजकुलको जन्मलाई’ 'यति मनमा विचार गरिसकेपछि सिंहिनीले अलि धोत्रो स्वरमा भनी ’किन ढाट्थें ।’

          +  + +

Sunday, April 27, 2025

व्यक्तित्व (अङ्क २३ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको ’यथार्थवादको युग’ (सं. १९९१–२०१९) मा कथाकार परशुराम रोका (सन् १९१८–९५) देखा परेका हुन् । उनको पहिलो प्रकाशित कथाको शीर्षक हो ’पैसा’ (सं. २००१) जुन बनारसबाट प्रकाशित हुने ’उदय’ पत्रिकाको वर्ष ७, अङ्क ११ मा छापिएको थियो । बी.ए., बी.टी. गरेका उनले नेपाल र भारतमा गरी ५२ वर्षसम्म शिक्षण कार्य गरे। उनी समाजसेवी हुनुका साथै एक कुशल शैक्षिक प्रशासक पनि थिए । उनको पुस्तकाकारमा प्रकाशित कथासङ्ग्रहहरू हुन् १) पञ्चामृत (सन् १९५०) र २) नौगेडी (सं. २०६२ : कथासङ्ग्रह) ।

परशुराम रोका नेपाली लघुकथाको प्रारम्भिक अवस्थाका अभ्यासी मात्र हुन् । 'पञ्चामृत’ कथासङग्रहको भूमिकामा सम्पादन पारसमणि प्रधानले 'चाखलाग्दा छोटकरी कथा’ भन्ने संज्ञा दिँदै लेखका छन्, ''यस्ता कथा लेख्नमा विद्वान् लेखकको कलमले कहाँसम्मन् सफलता प्राप्त गर्न सकेको छ सो ता यस पुस्तिकाको प्रचारले प्रमाण गर्ला ।“ निश्चय पनि सङ्गृहीत पाँचै कथाहरू आकारमा छोटा–छोटा नै छन् (त्यसैले ’छोटकरी कथा’ भनिएको होला), तर ती कथाहरू विशुद्ध लघुकथाको शैलीमा नभएर पनि नजिकको बान्कीमा संरचित भने छन् । प्रारम्भिक प्रयासमा यस्तो देखिनु स्वाभाविकै पनि हो । जे भए पनि कथाकारले यस सङ्ग्रहमा जुन 'मोडेल’ लाई मानक मानेका छन्, त्यसलाई नेपाली लघुकथाको एक ऐतिहासिक सत्य मान्नै पर्दछ ।

’कालेलाई डोलीमा’ दार्जिलिङमा बसोबास गर्ने निम्नवर्गका नेपालीहरूको दुर्नियतिको दुःखान्त कथा हो । रातदिन कडा परिश्रम गरेर कमाएको धेरथोर पैसाले आफ्नो छोरा कालेको बिहे मज्जासँग गरिदिने बाबुको सपना एक दिन अप्रत्याशित रूपले कसरी चकनाचूर भइदिन्छ ?

कथाको अन्तिम अंशमा भनिएको छ :

घाम डाँडामा पुगिसकेको थियो, वरिपरिका साथीहरू कसैलाई पनि बिरेले देखेन । रामु पनि त्यहाँ थिएन । दुईचार जना मानिसहरू हस्याङ र फस्याङ गर्दै पहराको फेदीतिर झर्दै थिए । बिरेले पहराको फेदी, तल मैदानमा मानिसहरू झुरुम्म थुप्रिएको पनि देख्यो, केको तमासा ? बिरेको उत्सुकता जाग्यो औ हतियार त्यहीं राखेर ऊ पनि झर्यो – तलतिरै ।

केही बेरपछि बिरे पनि तल पुग्यो मानिसको भिड अझ ठुलो भइसकेको थियो । बिरेलाई देखेर सबै जना उसैलाई उत्सुक भएर हेरिरहे । बिरे भिडभित्रै पुग्यो औ एउटा कालो मैलो लुगाको अघिल्तिर पुगेर ठिङ्ग उभियो । विस्मय चित्त, क्लान्त शरीर लिएर बिरे उभिरह्यो निकै बेर बोलेन, कसैलाई केही सोधेन, किन हो कुन्नि । एक क्षणपछि, सपनामा हिँडेझै बिरे दुई पाइला अघि बढ्यो औ त्यसले आफ्ना अघिल्तिर भएको त्यो मैलो लुगा पन्छायो । के थियो ? त्यहाँ थियो रगतमा मुछिएको उही आफ्नो काले … आँखाको तारा जीवनको सहारा ।

बिरे रोएन, कहालिएन, चटपटाएन पनि; औ त्यो पन्छाएको लुगा हातको हातैमा लिएर त्यसले निर्निमेष दृष्टिले छोराको लासलाई हेरिरह्यो सायद त्यस लासमा बिरेले खाँडीको दौरा सुरुवाल लगाएर डोलीमा चढेको आफ्नो कालेलाई देख्यो ।

कसैले त्यसलाई कानैमा पछिल्तिरबाट भन्यो – “दाइ ! खुट्टा चिप्लेर काले पहराबाट लडेछ ।“

फर्केर बिरेले देख्या रामुलाई – मैलो दौराको फेरले आँसु पुछिरहेको ।