Showing posts with label महेन्द्र नेउपाने. Show all posts
Showing posts with label महेन्द्र नेउपाने. Show all posts

Tuesday, July 14, 2026

साभार लघुकथा (अङ्क ३६ मा प्रकाशित)


"तेरो नाम छ कि छैन ? हेरेर बस् है ?’’, चिया पसलमा पस्दै गरेको सुरजलाई भरतले भन्यो ।

“के नाम ?’’, सुरज अलमल पर्दै बोल्यो ।

“यो साहूले ऋणीको नाम र रकम त्यो भित्तामा टाँसेको छ ।”, चोर औंला तेर्स्याउँदै भरतले सूची टाँसिएको भित्तो देखायो ।

“हैट, चुनावी माहौलमा बेइज्जत गर्छ कि क्या हो ?’’, भन्दै सुरज सूची हेर्न गयो । लेखिएको थियो देशलाई ऋणी बनाउनेहरू शीर्षकमा २०६३ साल पछिका शासन सत्तामा पुगेका सरकार, तिनले नेपाली जनताको नाममा लिएको बैदेशिक ऋण र प्रतिव्यक्ति ऋण भार तीन लहरमा थियो ।

त्यो देखेर सुरजले सोध्यो, “ए साहू ! चुनावको मुखैमा यो के हो ?’’

“हजुरको नाममा अरु एक हजार थपिदैँछ ।’’, साहूले अझ सशंकित पार्‍यो ।

“कसरी ?’’, संयमित हुँदै उसले सोध्यो ।

साहूले पनि मुस्कुराउँदै निर्वाचन आयोगको पोष्टरतिर देखाउँदै भन्यो, “यसपालिको चुनाव खर्च !’’ 

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, May 7, 2026

साभार लघुकथा (अङ्क ३४ मा प्रकाशित)

‘‘के गर्दै छस्, धनु?’’ कुवेतमा रोजगारी गरेर फर्केको भोलाले सोध्यो ।

धनु र भोला सानैदेखिका साथी थिए । सँगै पढेका थिए । भोला पढाइ सकेर बिदेसिएको थियो । धनुभने गाउँमै मिल चलाएर बसेको थियो । धनुले तोरीको घान मेसिनमा हाल्दै गर्विलो व्यङ्ग्य गयो, ‘‘ए ! तँ फर्किस् लाहुरे भएर ?’’

भोलाले दुखेसो पोख्यो, ‘‘लहलहैमा लागें । कमाउन सकिनँ । दुःख मात्रै पाएँ । बरु गाउँमै तोरी पेल्ने मिल राखेर तैंले जितिस् ।’’

‘‘अझै केही बिग्रेको छैन, यार । गाउँलेको सेवा पनि हुने, कमाइ पनि हुने काम गर् ।’’ आफ्नै धुनमा धनुले भरिएको पिनाको डालो साट्दै भन्यो ।

भोलाले भोगाइको निष्कर्ष ओकल्यो, ‘‘हो यार । म जस्तो लाहुरे हुनुभन्दा तँ जस्तो तोरी लाहुरे नै ठिक ।’’


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, April 3, 2026

महेन्द्र नेउपानेका तीन लघुकथा

 


पुस्तान्तरण


एउटा बूढो रुखलाई एकटक लगाएर हेरिरहेछु । त्यस्तो बन्जर र सुखा ठाँउमा यो बृक्षले कसरी यत्रो आकार लियो? मेरो मनमा प्रश्नहरु तेर्सिन्छन। सायद यसले ठुलै सङ्घर्ष गरेको हुनु पर्छ । हेर्छु, मुख्य काण्ड क्षत बिक्षत भएर मक्किन थालेको छ । ओहो ! यो त निकै पुरानो हुनु पर्छ। तर अझै यो ठिङ्ग उभिएको छ। ससाना बिरुवाहरू सायद यसैका बीचबाट उम्रेका होलान्, वरपर एक तमासले हुर्किदै गरेका छन। ती बिरुवाहरू भन्दैछन, "बा अब तिमी जाउ, हामी आयौ ।" बृद्ध वृक्ष सोध्दै छ, "अब तिमीहरूलाई मेरो संरक्षकत्व चाहिँदैन? तिमीहरू आफै उभिन सक्छौ?" सबै बिरुवाहरू एकै स्वरमा भन्छन, "सक्छौ ।" "कति कठिनले मैले यो उराठ भूमीमा आफूलाई जीवित राखेँ, अहिले तिमीहरू बस्न सक्ने बनाएँ, तिमीहरूलाई जन्माएँ, हुर्काएँ। कति सजिलै तिमीहरू मलाई लखेटन चाहान्छौ।" बृद्ध वृक्ष संयभित हुँदै भन्छ, "मेरो शरीर जिर्ण भयो म मान्छु, तर अझै म तिमीहरूलाई यहाँ लहलहाउँदै गरेको अनि तिमीहरू मेरै छहारीमा बसेको हेर्न चाहान्छु ।"
ती विरुवाहरू भन्दैछन, "यो प्राकृत सत्य हो कि समय अन्तरसँगै सबैले पुस्तान्तरण गर्नु पर्छ। अब तिमीले ढल्नु पर्छ र आउने सयौ बिरुवाहरूलाई खेल्न दिनु पर्छ । जब यहाँ थुप्रै बिरुवाहरू हुर्कनेछन, जङ्गल हुने छ। अनि मात्र सायद इतिहासले तिमीलाई सम्झने छ।"
***

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


"ममी एउटा खाउँ?’’ छ वर्षिय छोराले एउटा पुरी छुँदै भन्यो ।

तुलसीको पूजा गर्न सर–सामान ठिक पार्दै गरेकी जूनुले भनिन्, “हुँदैन बाबू । भगवान्‌लाई चढाएपछि मात्रै खानु पर्छ ।’’

“हस !’’ ऊ निन्याउरो अनुहार लगाउँदै हात बाँधेर चुपचाप बसिरह्यो ।

“बाबुलाई भोक लागेको हो ?’’ त्यही सँगै पूजाका सामाग्री ठिक पार्दै गरेकी फुपूले सोधिन् ।

“होइन ।’’ टिठ लाग्दो अनुहार लाएर उसले टाउको हल्लायो ।

“लेउ यो खाउ ।’’ फुपूले एउटा केराको कोसो दिंदै भनिन् ।

“नाई ! भगवान्‌लाई दिए पछि खान्छु ।’’ उसले नकार्‍यो ।

फुपू बालक नजिकै आईन् र च्याप्प समातेर अगाँलो हाल्दै भनिन्, “लु खाउ । बालक नै भगवान् हुन् ।’’

–लोकन्थली, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


 तँ कसरी मरिस् ?

मृत्युको सहि र तथ्य कारण पत्ता लगाउने डाक्टरको रुपमा ख्याती कमाएका पोष्ट मार्टम विज्ञ डा. दयानन्द सेतो पहिरनमा विभिन्न औजारहरू हातमा लिएर सोध्दै थिए । भनिन्छ, उनी लाससँग कुरा पनि गर्न सक्थे ।

“जेब्राक्रसमा बाटो काट्न लागेको थिएँ, अचानक एउटा बेग रफ्तारमा आएको कारको ठक्करले उछिट्यायो ।’’ लास बोल्यो ।

“किन बाटो काट्न लागेको ?’’ डाक्टरले बाटो काट्नु पछाडिको गुह्य पत्ता लगाउने जमर्को गरे ।

“सधैँ यसरी नै रोजगारीका लागी साहुकोमा चाहार्थे । अगाडिको साहुलाई श्रमिकको आवश्यकता छ रे भनेको सुनेको थिएँ । छिट्टै पुगे पाइन्थ्यो कि भन्ने आश थियो ।’’

“अब के चाहन्छस् त ?’’ डाक्टरले उसको मृत्यु पछिको धारणा बुझ्न चाहे ।
“गाडी चालकलाई दण्ड भएको सुन्न चाहान्छु । यति भए आत्माले शान्ति पाउने छ ।’’

“तँ अर्को दुस्साहस गर्दैछस् ।’’ डाक्टर साहेबले हतारो प्रति व्यङ्ग्य गर्दै भने ।

“के ?’’ लासले प्रश्न गर्‍यो ।
डाक्टर साहेबले खुईय्य गर्दै भने, “यहाँ मन्त्रीको छोरालाई दण्डको अपेक्षा ।’’

- लोकन्थली, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, August 9, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


घर सुनसान थियो । चन्द्राकर अफिसबाट साँझमा टुप्लुक्क घर पुगे । चकमन्न घर देखेर उनले आफ्नी श्रीमतीलाई बाहिरैबाटै आवाज लगाए, “सुलोचना ! तिमी कहाँ? खै सुमन, सुधाकर?’’

घर बाहिर बरण्डामा निस्केर सुलोचनाले भनिन्, “किन आत्तिएको? भरखरै कलेजबाट आएर खाजा खाए अनि खाएको प्लेट सफा गरेर कपडा धुन गएका छन् ।’’

“जे होस्,  छोरा छोरी नभनी तिमीले दुबै जनालाई संस्कार सिकाएकी छौ नि ।’’ चन्द्राकरले कोठामा पसेर मोजा फुकाउँदै श्रीमतीको तारिफको पुल बाँधे ।

“हो नि ! बच्चैदेखि विभेद सिकाएकी छुइनँ । खेलौना दिँदा पनि दुबैलाई बन्दुक पनि दिएँ, गुडिया पनि दिएँ । मैले मौकामा, श्रोतको पहुँचमा र निर्णयको अधिकारमा दुबैमा समान दिएकी छु । अब त कुन काम छोराको कुन काम छोरीको ? भन्दैनन् । दुबै मिलेर  गर्छन् ।’’  घोक्रे नाक फुकाउँदै सुलोचनाले भनिन् ।

यत्तिकैमा छोरी बाहिर लुगा सुकाउँदै गरेकि देखिइन् । सुलोचनाले अह्राइन्,

“छोरी, तिम्रा भित्री कपडाहरू चैं छोपेर सुकाऊ है? भाइलाई बाहिरै सुकाउनु भन्नू है ।’’

यो सुने पछि बुवाले प्याच्चै सोधे, “हिजो पनि छोरी वर्थ–डेमा जान लाग्दा 'उज्यालो मै फर्क है’ भनेको सुनेको थिएँ । अस्ति छोरालाई चै 'चाँडै आउनु’ मात्रै भन्यौ ।’’

सुलोचनाले सम्झाउदै भनिन्, “आफूले मात्रै बुझेर भयो र ? समाजमा त अझै तुस बाँकी छ नि ।’’

चन्द्राकरले व्यङ्ग्य गरे, “आफ्नो पुरानो संस्कारको तुस पो होला नि !’’

- लोकन्थली, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, June 10, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"निम्तालु त थुप्रै रहेछन् ?’’

मन्त्रीको छोरीको बिवाहमा भिडभाड देखेर पुरानो मित्रका नाताले उपस्थित एक निम्तालुले मन्त्रीलाई सोधे ।

“अँ छन् अलिअलि ।’’ मन्त्रीले अझै कमै भएको संकेतमा कुरा गरे ।

“कसरी यत्रा भए ?’’ निम्तालुले जिज्ञासा राखे ।

“भोटरहरू सबैलाई निम्ता दिए, पार्टीका कार्यकर्ता भै हाले, उद्योगी व्यापारीलाई छोड्न भएन, बन्धुबान्धव, घर गाउँले, भाइ भारदार आदि त हुन् ।’’ उनले फेरहिस्त बताए ।

“केही काटछाँट गर्न नमिल्ने रहेछ?’’ निम्तालुले थप जिज्ञासा राखे ।

“मन्त्रीको रवाफ ।’’ मन्त्रीले ठाँटिदै जवाफ दिए ।

निम्तालुले नम्र भएर भने, “मन्त्रीको सान मलामी कमाउँदा पो हुने होइन र ?’’

– लोकन्थली, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।