Wednesday, June 11, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


लीला ! अनुहारले हरपल पछ्याइरहेछ । निन्द्रामा बिउँझाउने गर्छिन् । मलाई अह्राउने गर्दछिन् । विपनीमा पनि भेटे झैं अड्कल गर्ने गर्दछु । रस्सी देखेर सर्प सोचे जस्तै भ्रम हुन्छ ।

जीवनमा पहिलो चोटी लीलालाई सपनीमा भेटेथें । म कक्षा सातको विद्यार्थी थिएँ । सरस्वती पूजाको अघिल्लो रात । उनले भनेकी थिइन्, “म सुन्दर शान्त र पवित्र स्थानमा बास बस्ने गर्दछु । म तिम्रो शुभचिन्तक हुँ । तिमी सदैव अघि बढ्नु, हिम्मत कहिल्यै नहार्नू । यस्तो काम गर्नू कि दुनियाँको लागि उदाहरण बन्न सकोस् । तिमीलाई संसारले चिनून् ।’’ 

मेरा पाइलाहरू उनले देखाएकै बाटो लागेछन् । सही बाटो हिंडेर म अहिले गन्तव्यमा पुगेको छु । त्यसको श्रेय उनैलाई दिएको छु । कहिलेकाहीँ भीडमा पनि उनको अनुहार देख्छु र भेट्न पछ्याउने गर्दछु । तर मैले जीवनको चालिसे पार गरी सक्दा पनि त्यो अनुहार फेला पारेको छैन । खोज्नु पनि सायद मूर्खता नै होला । मैले कन्यार्थु जाँदा पनि हरेकको अनुहारमा उनलाई खोेजें । प्रेमको झुठो प्रतिश्रुतिमा खोजें । यहाँसम्म कि कामाख्या मन्दिरमा पनि एक फेरा साधुनीलाई देखेर लीलाको अनुहारको अडकल गरेथें । जवलपुरको भेडाघाट, पशुपतिको आर्यघाट, विश्वनाथ काशीको दशाननघाट, ईलाहाबादको त्रिवेणी संगम, राजस्थानको श्रीनाथ द्वारधाम, विश्वनाथको गुप्त काशी, कहाँ कहाँ खोजिन । म कहिले उनलाई खोज्दै चर्चमा पुगें । कहिले गुम्बामा । मेरो मस्तिष्कमा कुँदिएको अनुहार किन आजसम्म फेला नपरेको ? पहाडको सुन्दर रुप, तराईको चन्चल चित्त, प्रकृतिको हरेक दृश्यमा । खोज्ने प्रयास आज पनि जारी छ । 

यतिका खोज विश्वविद्यालयबाट गरेको भए सायद डक्टरेक्ट उपाधिले विभूषित हुने थिएँ । तर पनि मलाई समय व्यर्थ फ्यालें भन्ने पछुतो छैन । उनलाई खोज्दाको आनन्द संसारको कुनै कुराले पनि दिन सक्दैन । उनलाई खोज्ने क्रममा मनमा हरेक कुराहरू पनि आउने गर्दछन् । मलाई लाग्ने गर्दछ, मेरो जीवन पनि लीला हो । म यस लोकमा पक्कै पनि लीला नै गर्न आएको हो र गरिरहेको छु । 

लीला खोज्नु पनि सायद मेरो जन्मको लीला हो । जीवन लीलामा मसँग भएका, देखिएका धेरै चिज छन, तर मेरो आफ्नो भन्नु केवल इच्छा र चिन्ता मात्रै छ । त्यही इच्छा पनि परिवार र समाजमा बाँडिएला । तर चिन्ता चाहिँ मेरो जीवनको प्यावा हो । यही चिन्ताको साथ एकदिन संसारबाट बिदा हुनेछु । सबैको यहि हो बुझेको छु । तर पनि यो मन भौंतारिएको छ । उनलाई अहिलेसम्म नभेटे पछि अब भेटने छैन बुझेको छु । तर पनि खोजिरहेछु । जीवन रहेसम्म ! जीवन लीला समाप्त नभएसम्म लीला…….. ।

– पश्चिम कार्बी आङलङ, असम, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment