सफा हृदयको मान्छेको जीवनी र विचार दुबै खास हुन्छन् भन्ने कुरो लघुकथाकार विवेक शर्मा गौतमसँग सङ्गत गरेपछि सजिलै थाहा हुन्छ ।
विवेक शर्माज्यू, आफ्नो बाल्यकालको थोरै चर्चा गर्दै, तपाई साहित्यमा कुन अभिरुचिका साथ प्रवेश गर्नु भयो ?
म बाल्यकालदेखि नै अत्यन्तै जिज्ञासु थिएँ । यिनै जिज्ञासाले मलाई सधैं नयाँ कुरा जान्न र बुझ्न प्रेरित गर्यो । कक्षा १ र २ मैले स्वअध्ययनमार्फत् पूरा गरेँ, जुन मेरो आत्मबल र रुचिको परिणाम थियो । मलाई किताबहरूसँग समय बिताउन मन पर्थ्यो—सोध्ने, बुझ्ने र सिक्ने चाहना अत्यन्त प्रबल थियो । त्यसै जिज्ञासाको कारण म कक्षा ३ मा विद्यालयमा भर्ना भएँ । औपचारिक पढाइ सुरु भएपछि मेरो मेहनत झनै बढ्यो । म पाठ्यक्रममा केन्द्रित भएर पढ्न थालेँ, र त्यो पढाइमा सधैं गहिरो चासो देखाउँथेँ । शैक्षिक यात्रासँगै मलाई साहित्यिक गतिविधिहरूमा पनि गहिरो रुचि विकास भयो । कविता लेख्ने, वाचन गर्ने, निबन्ध लेख्ने जस्ता कार्यहरूमा सक्रिय हुन थालेँ । विद्यालयमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भइ आफ्ना भावनाहरू अभिव्यक्त गर्ने अवसर पाउँदा म निकै उत्साहित हुन्थेँ ।
म गाई बाख्रा चराउन जाँदा होस् या पानीघट्टमा गहुँ मकै पिस्न जाँदा होस्, पुस्तक लिएरै जान्थें । म गाउँको एक सामान्य केटो । गाई बाख्रा चराउनु, खेतबारीका काम गर्नु र कहिलेकाहीँ थैलो बोकेर पानीघट्टमा पुग्नु मेरो दैनिकी जस्तै थियो । तर ती सबै कामकाजबीच पनि पढ्न छोड्दिनथेँ ।
गाई बाख्रालाई चरनमा लग्दा, म उनीहरूलाई हरियो ठाउँमा छोडेर एकछिनको फुर्सद निकाल्थें । ढुङ्गा, रूखको छायाँ, या घाँसको थुम्को जहाँ पाइन्छ, त्यहीँ म बसेर पुस्तक खोल्थें । त्यति बेला पढ्नको साधन सीमित थियो, तर रहर अथाह । अक्षर–अक्षर कोर्दै, मनन गर्दै, म मेरो सानो सपना बुन्थें — शिक्षित हुने, जीवन बदल्ने ।
पानीघट्टमा जाँदा पनि गहुँ मकै बोकेर टाढाको उकालो ओरालो हिँड्नुपर्थ्यो । तर त्यो झोलामा गहुँसँगै मेरो पुस्तक पनि हुन्थ्यो । घट्टको पालो कुर्दा म त्यो समय खेर फाल्दिनथेँ; त्यो समयमा छेउछाउमा बसेर पढ्थें । घट्टको खनखन आवाज माझ मेरो मन किताबका अक्षरहरूमै डुबिरहन्थ्यो ।
अरूका लागि ती स–साना झोला गहुँ मकै बोकेका थिए, मेरो लागि ती झोला सपना र ज्ञान बोकेको खजाना थिए । मेरो पढाइ कुनै भव्य पुस्तकालयमा होइन, खेतपाखा, चरन, र घट्टको कुनामा हुन्थ्यो । तर त्यहीँबाट मैले जीवनको ठूलो पाठ सिकेँ — समय र परिस्थितिको पर्खाइ नगरी, जहाँ सकिन्छ, त्यहीँबाट सुरु गर्नुपर्छ ।
तपाईं अध्ययनशील व्यक्ति हुनुहुन्छ । तपाईंको कलम लघुकथा बाहेक साहित्यका अन्य विधा वा गैरसाहित्यिक क्षेत्रमा पनि चलेको छ ?
साहित्यकार बन्न सकिन । विभिन्न परिस्थितिले निरन्तरतालाई पछि पार्यो । साहित्यप्रति मेरो रुचि बाल्यकालदेखि नै थियो । साहित्यका अन्य विधाहरूमा मेरो गहिरो रुचि छ । विशेषतः हाइकु, गद्य कविता र नियात्रा लेखनमा मलाई आफैंलाई अभिव्यक्त गर्न सहज लाग्छ ।
हाइकुजस्तो छोटो तर भावनात्मक विधाले अल्प शब्दमा गहिरा अनुभूतिहरू व्यक्त गर्न सघाउँछ । म दैनिक जीवनका साना तस्बिरहरू—प्रकृति, मौसम, मानिसका भावनाहरू—हाइकुमा उतार्न रुचाउँछु ।
त्यस्तै, गद्य कविता मेरो मनपर्ने अर्को विधा हो । यसमा छन्दको बाँधाइ नभए पनि भाव, अनुभूति र शैलीको स्वतन्त्रता पाइन्छ, जसले गर्दा म आफ्ना भावना खुला रूपमा पोख्न सक्छु ।
नियात्रा पनि मलाई अत्यन्त प्रिय लाग्ने विधा हो । यात्रामा देखिएका दृश्य, भोगिएका अनुभव र त्यसभित्रका संस्कृति, समाज र परिवेशलाई समेटेर लेख्न पाउनु मेरो लागि आत्मीय अनुभव हो । यात्रामार्फत् विभिन्न ठाउँ, मानिस र विचारसँग साक्षात्कार हुन पाउनु लेखकीय अभ्यासको अभिन्न अङ्ग हो जस्तो लाग्छ ।
साहित्यिक क्षेत्रसँगसँगै गैरसाहित्यिक क्षेत्रहरूमा पनि मेरो चासो उत्तिकै छ। विज्ञान र प्रविधि, मनोविज्ञान, समाजशास्त्र, व्यक्तित्व विकास, इतिहास, तथा समसामयिक विषयहरूमा अध्ययन गर्न मलाई रुचि लाग्छ । तै पनि यी क्षेत्रमा केही गर्न सकिएको छैन । यस्ता विषयले सोच्ने तरिका फराकिलो बनाउँछन् र जीवनका विविध पक्षलाई बुझ्न मद्दत गर्छन् ।
लघुकथा लेखनमा तपाईंको प्रेरणाको श्रोत के हो ?
लघुकथा लेख्न सुरु गर्ने मेरो यात्रा कुनै ठूलो योजना, वा प्रसिद्ध लेखकको प्रभावले होइन, एक सानो तर जीवन्त अभ्यासबाट सुरु भएको हो,हाम्रो लघुकथा पाठशालाबाट । शुरुमा लघुकथा भन्ने बित्तिकै मलाई लाग्थ्यो, “यति छोटो कथामा के भन्न सकिएला र ?” तर जब पाठशालामा सहभागी भएँ, तब बुझें—अक्षरहरूको थोरै सीमिततामा धेरै गहिरा कुरा भन्न सकिने रहेछ । ती छोटा कथामा जिन्दगीका गहिरा अनुभूति, समाजका यथार्थ, अनि आफ्ना भोगाइका भाव एकैचोटि समेट्न सकिन्छ भन्ने ज्ञान त्यहींबाट पाएँ ।
हाम्रो लघुकथा पाठशाला हाल हाम्रो लघुकथा केन्द्र नेपालका प्रशिक्षकहरूका गहन सुझाव, वरिष्ठ लघुकथाकार निर्देशन, लघुकथाकार साथीहरूसँगको छलफल, अनि हरेक दिन र हप्ता लेखिने अभ्यासहरूले मलाई लेखनमा सहयोग पुर्याइरहेको छ । आत्मविश्वास बढाइरहेको छ । कहिले हाँसो दिलाउने, कहिले मन छुने, अनि कहिले चुपचाप गहिरो सोचमा डुबाउने घटनाहरू परिस्थितिहरू समाजमा जन्मेका भएका विकृति विसंगतिहरू केलायो, देखायो भने सकारात्मक सोचमा समाज परिवर्तन गर्न सकिन्छ कि भन्ने लाग्छ ।
आज म कहिलेकाहीँ लघुकथा लेख्छु, त्यो मेरो लघुकथा पाठशाला र हाल हाम्रो लघुकथा केन्द्र नेपालबाट पाएको पहिलो प्रेरणाको फल हो भन्ने ठान्दछु ।
केही समय पहिले तपाईंको लघुकथासङ्ग्रह 'जेई’ प्रकाशित भयो । यो कृति प्रकाशनको सोख र प्रकाशनपछिको अनुभूति केही बाँड्नुहोस् न ।
केही समयअघि मेरो लघुकथासङ्ग्रह ‘जेई’ प्रकाशित भयो । यो मेरो लेखन यात्राको एउटा विशेष मोड हो जसले मेरो साहित्यिक आत्मालाई शब्द, आकार र स्वरूप दिएको छ ।
लघुकथा लेख्न सुरु गर्दा मैले कहिल्यै सोचेको थिइनँ कि एकदिन आफ्ना सिर्जनाहरू सङ्ग्रहित गरेर पुस्तकको रूपमा समाज सामु राख्नेछु । तर भित्र कतै एउटा सपना पलाएको थियो आफ्ना अक्षरहरूलाई कागजको मुहार दिनु, आफ्ना कथाहरूलाई पाठकका मनसम्म पुर्याउनु । ‘जेई’ त्यो सपना साकार भएको क्षण हो ।
प्रकाशनको प्रक्रियासँगै अनेक अनुभवहरू जोडिए । पाण्डुलिपि तयार पार्ने क्रममा आफूभित्रका धेरै कथाहरूलाई चिर्दै, सुम्सुम्याउँदै, मन्थन गर्दै लेखनको गहिराइमा डुबें । हरेक लघुकथाले मलाई फेरि त्यो समय, त्यो अनुभव, त्यो पात्रको मनस्थितिमा फर्काइरह्यो । कहिले भावुक बनायो, कहिले आलोचक बनायो, कहिले फेरि लेख्न बाध्य बनायो ।
जब पहिलोपटक पुस्तकको छापिएको प्रति हातमा आयो, त्यो क्षण शब्दमा बयान गर्न गाह्रो छ त्यो गन्ध, त्यो स्पर्श, त्यो आवरणमा आफ्नो नाम देख्दा आएको कम्पन… म लेखक भएर जन्मिएको क्षण थियो ।
तर प्रकाशनपछिका अनुभवहरू अझै रोचक छन् । किताब निस्के पछि केही स्कूल कलेज लाइब्रेरीलाई डोनेट गरें । केही किताब पसलहरूलाई बिक्री गरें । जाँगर हौसला उत्साह प्रदान गर्यो । पाठकका प्रतिक्रिया, स्याबासी मात्र होइन, आलोचना, सुझाव, र प्रश्नहरूले मलाई अझ गम्भीर र जिम्मेवार लेखक बनाइदिए । कतिले भने, “कथाहरू छोटा भए पनि असर गहिरो छ”; कसैले भने, “यो कथामा त म आफैँ भेटिएँ मेरो अनुभव भटियो ।” कसैले भन्छन यो शीर्षक त निकै राम्रो लाग्यो । कसैले भन्छन यो शीर्षक त्यति राम्रो भएन । त्यहि कथा एउटालाई अति मन पर्यो । त्यही कथा अर्कोलाई पटक्कै मन परेन । कसैले भन्छन यो त तपाईंको सन्तान हो आदि आदि ।
यिनै प्रतिक्रियाहरू मेरा लागि पुरस्कार हुन् जसले लेखनलाई शौकबाट साधनामा रूपान्तरण गरिदिएका छन् । आफ्नो खुशी सन्तुष्टि एउटा कृति मात्र हो । आउने पुस्ताका लागि साहित्य साधनामा लाग्नेहरूका लागि एउटा प्रेरणा हो । अरूका नजरमा यसले झिंगो माखो त केही मार्दैन पक्कै पनि ।
लघुकथासङ्ग्रह 'जेई’मार्फत् तपाईंले पश्चिमेली बोलीचाली शब्दको मिठास पस्कने प्रयास गर्नु भएको छ । ती पश्चिमेली आञ्चलिक शब्दहरूको मिठास जोगाई राख्न अब क–कस्ले कस्ता कस्ता भूमिकाहरू खेल्नु पर्ला ?
मध्यपश्चिमेली आञ्चलिक (विशेषतः राप्ती अञ्चल वरीपरी) शब्दहरूको मिठास, मौलिकता र सांस्कृतिक महत्व जोगाइराख्नका लागि विभिन्न व्यक्ति, समुदाय, संस्था र सरकारका तहमा अनेकौं भूमिका आवश्यक छन् ।
आफ्नो बोलचाल, गीत–गजल, कथा–कविता र अन्य अभिव्यक्तिहरूमा स्थानिय भाषाको प्रयोगलाई निरन्तरता दिनुपर्छ । नयाँ पुस्तालाई घरमै सिकाउने र प्रयोग गराउने काम गर्नु जरुरी छ । ‘गाउँले’, ‘पिछडिएको’ भनेर नहेरी यसमा गर्व गर्ने मानसिकता विकास गर्नुपर्छ । लोकगायन, नाटक, फिल्म, युट्यूब च्यानल, रेडियो र टेलिभिजनमा स्थानिय भाषाको बढ्दो प्रयोगले त्यो बोलीको मान बढाउँछ । टिकटक, फेसबुक, युट्यूब, ब्लग जस्ता माध्यमहरूमा राप्ती क्षेत्रका शब्दहरू प्रयोग गरी नयाँ सन्देश पुर्याउने । विद्यालयस्तरमै आञ्चलिक बोली–भाषाका बारेमा पठन–पाठन गराउनु पर्छ । भाषाशास्त्र र समाजशास्त्रसँग सम्बन्धित विद्यार्थीहरूलाई स्थानीय बोलीमा शोध गर्न प्रेरणा दिनु पर्छ । विद्यालय वा क्याम्पसहरूमा ‘स्थानीय भाषा क्लब’ बनाएर कार्यक्रम आयोजना गर्नु पर्छ । गाउँ नगरपालिकाहरूमा नीतिमा स्थानीय भाषाको प्रयोगलाई प्राथमिकता दिनु पर्छ र रेडियो टेलिभिजनबाट स्थानीय बोलीचाली भाषाका कार्यक्रमका लागि समय छुट्याउनु पर्छ ।
राप्ती अञ्चल वरीपरीका शब्दहरू केवल बोली नभई त्यहाँको पहिचान, भाव, अनुभूति र संस्कृति बोकेका सम्पत्ति हुन् । तिनीहरूको मिठास र मौलिकता बचाइराख्न सबै तह–तप्काका मानिसहरू मिलेर सामूहिक पहल गर्नुपर्छ । भाषाको संरक्षण केवल भाषा बचाउने कुरा होइन, आफ्नो अस्तित्व, संस्कृति र आत्मगौरव जोगाउने काम पनि हो ।
एक अध्ययनशील लघुकथाकारको नाताले बताउनुहोस् – लघुकथा लेखनमा सिद्धान्तको कोरा प्रभाव कति जायज कति नाजायज देख्नुहुन्छ ?
म पनि भर्खर सिक्दैछु । यसबारेमा मलाई गहन जानकारी त छैन । तैपनि मेरो सामान्य बुझाई अनुसार जायजको कुरा गर्दा लघुकथा छोटो आकारमा गहिरो भाव सम्प्रेषण गर्ने साहित्यको सशक्त माध्यम हो । यसको प्रभावकारिता शब्दको संक्षिप्तता मात्र होइन, भावको गहिराइमा निर्भर हुन्छ । यस्ता लेखनमा विभिन्न साहित्यिक सिद्धान्तहरूको प्रयोग र प्रभाव अनिवार्य रूपमा देखिन्छन् ।
सिद्धान्तहरूले लेखकलाई कथा संरचना, पात्र विकास, द्वन्द्व र समाधानको ढाँचा बुझ्न सहयोग गर्छन् । विशेष गरी हामी जस्ता नव सिकारू लेखकका लागि सिद्धान्तहरू मार्गनिर्देशक बनेका छन् । समालोचनाको आधारबाट हेर्दा सिद्धान्तहरू लघुकथाको मूल्याङ्कनमा प्रयोग गर्न र मापन गर्न सकिने यन्त्र वा टुलहरू हुन् । यिनको प्रयोगले कथा कसरी काम गर्छ, कसरी बनेको छ कहाँ कमजोर छ भन्ने थाहा पाइन्छ । सिद्धान्तहरू खास परिवेश र परिस्थितिबाट जन्मिन सक्छन् । कथाले पाठकको मन छुने पहिलो शर्त हो । सिद्धान्तको अत्यधिक बोझले कहिलेकाहीँ लघुकथा “पाठ्य पुस्तक जस्तो” बन्न सक्छ, जसमा आत्मा हुँदैन ।
लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्छ ?
अबको बाटो कस्तो हुनुपर्छ भने कुरामा चारवटा बुँदा भन्न चाहन्छु ।
१) अबको लघुकथा दूध जस्तो होइन खुवा जस्तो हुनुपर्छ ।
२) अबका लघुकथाका विषय उठानहरू विज्ञान, प्रविधि, वातावरण राजनीति, समाजिक, वर्गीय विभेद, लैङ्गिक हिंसा विषयवस्तु सँग सम्बन्धित हुनुपर्छ ।
३) साना–साना तर गहिरा घटनाहरू जसले ठूलो अर्थ दिन सक्छन् — तिनको खोजी गर्नुपर्छ ।
४) कथा केवल ‘लेखकले भोगेको’ होइन, समाजले साझा रूपमा महसुस गरेको हुनुपर्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment