“दिदी ! केयर गिभरका लागि इजरायल जाने हो कि ? सबै क्राइटेरिया पुग्छ । पचासजना मागेको रैछ ।” भाइको फोनले उनको अनुहार एकाएक उज्यालो भयो ।
“आमा ! हामीलाई एक्लै छोडेर साँच्चिकै जान सक्नुहुन्छ र ?”
“छोरी ! म मेरालागि हो भने के गर्थेँ, गर्थेँ, भन्न सक्दिन तर तिमीहरूको भविष्यका लागि अवश्य सक्छु ।
सुँक्कसुँक्क गर्दै छोरा–छोरीले गरेको वाईवाईको प्रत्युत्तर उनीसँग थिएन, सलले मुख छोपी रुँदै वोर्डिंगपास लिन दौडिइन् ।
हमासले इजरायलमाथि गरेको पहिलो आक्रमणबाट तर्सिएको छोरा–छोरीको मन त्यसपछि छोडिने र पड्किने प्रत्येक मिसाइलका आवाजले चरक्क–चरक्क हुन्थ्यो, इरानको धम्की र हुतीको आक्रमणका घटनाहरू बढ्दै गएपछि त झन् उनीहरू निदाउनै छोडेका थिए ।
एक्कासी उनीहरूलाई विमानस्थल लगियो । आउने र जानेहरूको भीडमा उनीहरूका आँखाले धेरै कुरा खोजे तर केही भेटेनन् अनि ठाने, “सरप्राइज दिन पो हो कि ? पक्कै आमा आउँदै हुनुहुन्छ होला ?”
तर उनीहरूले सरप्राइजका लागि धेरै कुर्नु परेन । सन्नाटाबीच एउटा काठको बाकसलाई पिकअप भ्यानको पछाडि राखियो, पिकअप गुड्यो, तल चोकमा आएपछि पश्चिमोत्तर मोडियो । उनीहरू बसेको अर्को गाडी पनि अघिल्लो गाडी पछ्याउँदै गयो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment