Saturday, August 9, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


मेरो कपाल साह्रै फुल्न थाल्यो । आमाले भन्नु भाको, मेरो कपाल बच्चैदेखि फुल्न थालेको अरे । मैले एकजना मेरो साथी देखेको थिएँ, जसको कपाल उमेर पैतीस वर्ष हुँदासम्म फुलेको थिएन । आफ्नो भने फुलेर हैरान भएँ । 

एकदिन एकजना साथीको सल्लाहमा मैले कपालमा कलप हालेर जलप लगाएँ । यसो गर्दा एक–दुई हप्ता कालो त देखियो तर त्यसपछि झन् मेरो कपाल दिन दुई गुणा रात चौ गुणा भै फुल्न थाल्यो । यसपछि म आत्तिएँ । फेरि मैले अर्को साथीको सल्लाहमा तोरीको तेलले दैनिक कपाल मालिस गर्न थालेँ । उसैको सल्लाहमा प्रोटिन बढी भएको खाना धेरै खाएँ । अनि उसैले चिन्ता गर्नु हुँदैन भनेको थियो तर आफ्नो अरू केही चिन्ता थिएन, यही कपाल फुल्न थालेको बाहेक । यस विधिले केही सुधार भएको हो कि जस्तो लागेको थियो तर म सन्तुष्ट हुन सकिनँ । त्यसपछि मेरी केटीसाथीको सल्लाह बमोजिम मैले बैद्यनाथको औषधि प्रयोग गरेँ । तर पनि अँ हँ जाती भएन । तैपनि मैले कपाललाई कालो बनाउने प्रयास गरिरहेको थिएँ । 

मैले देखेँ, उसको कपाल एउटा पनि फुलेको थिएन । न त काला नै थिए । अचम्म मान्नुपर्ने कुरै थिएन, किनकी ऊ तक्लु थियो । उसलाई कपाल फुल्ने चिन्ता पनि थिएन । अनि याद आयो, त्यो सानो भाइ भुटानेको कपाल कसले पो हो जगल्ट्याएर उखेलिदिई हाम्रै त्यहीँ झापाको खुदुनाबारीमा र नजिकै अरू गाउँमा फालेको थियो । हो, त्यसरी जगल्ट्याएर उखेलेदेखि भुटानेको कपाल पनि फुलेकै छैन । आफूलाई भने आफ्नै कपालको स्याहार गर्न नसकेको बेलामा, त्यो भुटानेको कपाल कसरी तह लाउने भन्ने थप तनाब भइरहेको थियो । भाग्यवश पश्चिमेलीहरूले ती जगल्टोहरू मध्येबाट राम्रा–राम्रा रौँहरू आफ्नो देशलाई काम लाग्छ भनेर लिएर गए । दुर्भाग्यवश मेरो नफुलेको केही कपाललाई देशका नेताहरूले भुटानेको कपाल भनेर बेचिदिएछन् ।  

- सिमलटार, काठमाडौंँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment