नेपाली कथाका क्षेत्रमा नयाँ कथाकारका रुपमा सरला शर्मा उदाएकी छिन् । उनको पहिलो लघुकथाको मात्र नभएर साहित्यकै पहिलो कृति हो, ‘उसैले जन्माएको छोरो’ लघुकथासङ्ग्रह (२०८१) । घटीमा एक पृष्ठदेखि बढीमा चार पृष्ठको आयामसम्म फैलिएका ५९ वटा लघुकथाहरू यो कृतिभित्र समेटिएका छन् । कथाकारका अनुसार उनले फेसबुकमा राखेका लघुकथालाई कुनै सहृदयीले समेटेर पाण्डुलिपि बनाएर उनलाई सरप्राइज दिएपछि यो कृति जन्मिएको हो । लेखकले नाम उल्लेख नगरेको त्यो गुमनाम सहृदयीलाई लाखलाख सलाम ।
लघुकथाकृति ‘उसैले जन्माएको छोरो’भित्र समाजका विविध पक्षको सुन्दर चित्रण गरिएको छ । यसभित्र विशेष गरी मानवीय सम्बन्ध, पारिवारिक अवस्था, त्यसमा भएका मेल र बेमेलको चित्रण, पैसाका कारण हुने कलह, रुप, शिक्षा आदिको प्रभाव, माया, प्रेम, बिछोड, घृणा, सामाजिक विकृति, विसङ्गति आदिमा यी कथाहरू घुमेका छन् । आजको नेपाली समाज जस्तो छ, त्यस्तै छन् यसभित्रका कथाहरू पनि । यहाँ उक्त कृतिभित्र के छ ? भन्ने सामान्य जानकारी दिनका लागि केही लघुकथाका हरफहरूसहित छोटो चर्चा गरिएको छ ।
कथाकार शर्मा ‘बाको घुर्मैलो अनुहार’ शीर्षकको लघुकथामा बाको स्मरण यसरी गर्छिन् :
“यस्तैमा, झलक्क स्वर्गीय बाको अनुहार आँखाअगाडि आयो । बाको मृत्यु भएको दिन सम्झिएँ । बलिरहेको कुर्चीको दाउरा हर्रहरी बल्दो थियो । अहँ, मलाई एकरत्ति तातो महसुस भएन ! भावनामा बग्दै गएँ ।” (पृ. १२)
त्यस्तै उनी ‘आमाको दुःख’ लघुकथामा आमाका बारेमा यस्तो लेख्छिन् :
“आमा जीवित रहनुभएको कल्पना गर्दागर्दै कुन बेला निदाएछु, पत्तै पाइनँ ।
सपनामा देखेँ– आमा मेरो कपाल सुम्सुम्याउँदै मुस्कुराउँदै मलाई सम्झाइ रहनु भएको थियो– “आमा बनिसकेपछि मात्रै देखिस् हगि तैँले आमाको दुःख ।” (पृ. २२)
त्यस्तै उनी आधुनिक श्रीमान्का बारेमा साँस्कृतिक लोग्ने लघुकथामा यसरी प्रस्तुत हुन्छिन् :
“कतै, मनको कुनै कुनामा समेत एक चिम्टी माया नलाग्ने बनिसकेको, मेरो उर्बर कोखमा बीज छर्न नसक्ने उल्टै ममाथि दोष थोपर्ने मेरो साँस्कृतिक लोग्नेको किरिया बसेर उनकै नामको दियोमा तेल थपिरहँदा म मेरो स्वर्गीय बालाई झलझली सम्झिरहेकी छु ।” (पृ. १४)
आफू पनि गृहिणी भएका कारण उनी श्रीमतीका पीडाका बारेमा जानकार छिन् । त्यही भएर उनी ‘लोग्ने’ कथामा यस्तो लेख्छिन् :
“श्रीमान् कमाउन जान्छन् । कतै मिटिङमा जान्छन् । म घर सम्हाल्छु । घरको सफाइ, भाँडा–कपडा धुनु, खाना बनाउनु, तरकारी–बारीमा काम गर्नु आदि नै मेरो दिनचर्या हुन्छ । भनौँ, घर–कम्पाउण्ड नै मेरो संसार हो ।” (पृ. १२५)
त्यस्तै उनी आफैँले जन्माएको सन्तान र अरुका सन्तान हुर्काउँदा पाइने दुःखका बारेमा यस्तो उसैले जन्माएको छोरो कथामा यस्तो लेख्छिन् :
“बूढीले सम्झाइन्, “त्यसो होइन बूढा ! आफैँले जन्माएको एउटा चन्द्रमा हुँदाहुँदै व्यर्थै अर्काको ताराको रहर गरिएछ । जब चन्द्र आफैँ ओझेल पर्यो, ताराले हाम्रो जीवनमा अँध्यारो पोखिदियो ।”
“आखिरीमा आफैँले जन्माएको छोरो काम लाग्यो । आफ्नो रगत भनेको आफ्नै हुँदो रहेछ हगि !” बूढाले लामो खुइय काढे । बूढीलाई पनि बूढाको कुरा हो झैँ लाग्यो ।” (पृ. ५४)
त्यस्तै उनी असफल भएको अन्तर्जातीय प्रेममा परेका प्रेमी प्रेमिकाका बारेमा यस्तो लेख्छिन् :
“उनको बिहे भयो । निम्ता थियो, गएँ । जग्गेमा बसेकी उनले मलाई बलिन्द्रधारा बगाउँदै मायालु आँखाले हेरिन् । म पनि बोल्न सक्ने अवस्थामा थिइनँ ।
उनी माइत आउँदा भेट हुन्छ । हामी खासै बोल्दैनौँ । आधासरो फुलिसकेकी छिन् उनी, म पनि तिलचामले भएको छु ।
अहिले जब हामी खाना खाएर सुत्छौँ, म मेरी मगर्नी श्रीमतीको शरीरमा तिनै बाहुनीको गन्ध खोज्छु ।
सायद उनी पनि उनको लोग्नेकोमा मगर–गन्ध खोज्दिहुन् ।”
(पृ. १२४)
उनको यो लघुकथामा मानवीय पात्र मात्र नभएर मानवेतर पात्रका बारेमा चर्चा पाइन्छ । उनी मानवेतर प्राणी कागलाई पात्र बनाएर ‘पखेटे’ शीर्षकको लघुकथामा यस्तो लेख्छिन् :
“पखेटे नदेखेको तीन महिना भयो । आज अपराधबोधले मनमा शान्ति छैन । मनमनै भनेँ– ‘तँलाई सर्वप्रथम बकाइनोको रुखबाट लघार्ने मै हँ । बारीमा मेवा पाकेर लदावद भएको छ । यो सबै तेरै लागि हो । अबदेखि कहिल्यै पनि तँलाई लघार्ने छैन । मलाई एक पटक माफ गरिदे पखेटे ।” (पृ. ४०)
त्यस्तै समाजका रहेका कुप्रथाका विरुद्ध महिला नै क्रियाशील भएर लाग्नुपर्ने कुराका बारेमा ‘छाउपडी’ कथामा यस्तो लेख्छिन् :
“अहिले उनी पश्चिमका जिल्लाहरूमा महिला भेदभावविरुद्ध, छाउप्रथा विरुद्ध गाउँगाउँमा महिलाहरूलाई चेतना जगाउँदै छिन् । पुरुषहरूलाई गोलबन्द भएर कुप्रथाविरुद्ध लड्न प्रेरित गरिरहेकी छिन् ।” (पृ. ९४)
त्यस्तै उनी पैसाका बारेमा ‘पैसो’ लघुकथामा यसरी वाणी भर्छिन् :
“छोरो काठमान्डूतिर लाग्यो । लगेज मिलाउँदै गर्दा आमाले दिएको पोकोसँगै अर्को पोको उसको हात लाग्यो । खोलेरे हेर्दा ऊ विस्मित भयो । त्यो पोकोमा त पैसा पो रहेछ– पूरा पन्ध्र लाख ।
सँगै बाउले लेखेको एउटा चिर्कटो पनि थियो– “बाबू, तिमी विदेशतिर हिँडेसँगै तिमीलाई सहराँ पठाउनुपर्ने पैसोको झन्झट नि हिँडिहाल्यो । त्यसपछि बाख्रापाठा, अनाज, घिउ बेचेको पैसो अलिकति गर्दै बच्दै गो । तिमीहरू अब सायदै आउँछौ । हामी गाउँमा छौँ, अलिकति खेतीबाट खान पुगिहाल्छ । मरेपछि यसो काजकिरिया गर्नुसम्म त हो । यस्तै सोचेर गैरीखेत र यो घरबारीबाहेक सप्पै बेचिपठायौँ । त्यो पैसो तिम्रै भागको हो । हामीलाई त्यो काम पनि त छैन । यसलाई तिमी जाने देशको पैसो बनाएर लैजाऊ है ।” (पृ. १३०)
त्यस्तै उनको कृतिभित्रको ‘जिम्मेवारीबोध’ शीर्षकको एउटा छोटो लघुकथा हेरौँ :
“खाना खाएँ । उनी हातमा औषधी र पानी लिएर ठिङ्ग अगाडि उभिइन् ।
औषधी निल्दै सोधेँ, “तिमीले औषधी खायौ नि ?”
उनले सुस्तरी भनिन्, “तीन दिन भो औषधी सकिएको । हजुरले ल्याइदिनै बिर्सनुभो !” (पृ. ९६)
माथि साभार गरिएका पङ्क्तिहरू उक्त लघुकथाका केही हरफ होइनन्, पूरै लघुकथा यत्ति हो । जम्मा २९ शब्दको झिनो आयाम बोकेको यो लघुकथा निकै उत्कृष्ट लाग्यो मलाई । यसमा एउटी श्रीमतीले आफ्नो कर्तव्य कहिल्यै बिर्सदिनन् तर त्यसको उल्टो श्रीमान्ले भने श्रीमतीले औषधी सकियो भनेर तीन दिनदेखि भन्दा पनि बिर्सने गरेको कुरालाई मार्मिक तरिकाले व्यङ्ग्य गरिएको छ । यो र यस्तै सन्दर्भ यो लघुकथा कृतिको शक्ति हो ।
अब अन्त्यमा ‘उसैले जन्माएको छोरो’ लघुकथा कृतिका बारेमा केही त भनौँ । माथि साभार गरिएका केही सन्दर्भहरू यो कृतिभित्रका केही प्रतिनिधि घटना मात्र हुन् । यो लघुकथा कृतिमा समाजसँग सम्बन्धित यी र यस्ता विविध खालका यावत् कुराहरू समेटिएका छन् । त्यसको वास्तविक रसपान गर्न त कृति नै पढ्नुपर्ने हुन्छ । यसर्थ यो कृति हालको नेपाली समाज हेर्ने ऐना हो । पहिलो कृति नै यस्तो प्रभावकारी कृति दिएकोमा कृतिकार सरला शर्मालाई भारी भरकम बधाई छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment