शहरको बीचमा एउटा उत्सव निरन्तर चलिरहन्थ्यो । उत्सवको कुनै प्रवेशद्वार थिएन न कुनै बाहिरिने बाटो । मान्छेहरू आउँथे, हराउँथे । तर बेपत्ता भएको कसैले थाहा पाउँदैनथ्यो । ‘अत्यधिक भीड–सधैं उस्तै । त्यहाँ कामना भएका हरेक कुरा पाइन्थ्यो – उज्याला सपनाहरू, स्वर्णिम अभिलाषाहरू, अकण्टक यात्राहरू । एउटै शर्त थियो तिमीलाई आफैं बिर्सिनुपर्छ ।’
पहिलो व्यक्ति आयो । ‘म सबैभन्दा अग्लो हुन चाहन्छु’ उसले भन्यो ।
उत्सवका छायाँहरूले उसलाई चुमे अनि उसले आफ्नो छायाँ गुमायो । ऊ अब अग्लो थियो तर उसको अस्तित्वको कुनै प्रतिबिम्ब थिएन ।
दोस्रो व्यक्ति आयो – ‘म सर्वशक्तिमान बन्न चाहन्छु ।’
परिधिहरूले उसलाई घेरे । ऊ अटुट दौड्न थाल्यो तर बाटो अन्त्य भएन ।
तेस्रो व्यक्ति आयो – ‘म सबै जित्न चाहन्छु,’ उसले भन्यो ।
ऊ हाँस्यो । उसले हात फैलायो तर उसलाई सम्झना भएन, ‘मैले जित्नुपर्ने अरू के छ ?’
उत्सव चलिरह्यो । मान्छेहरू आउँथे, इच्छाहरू पुरा गर्दथे तर कसैले थाहा पाएन । उनीहरू कहिले हराए, कसैले थाहा पाएन ।
र जब रात पर्यो, उत्सव आफैंसँग बर्बरायो ‘म को हुँ ?’
-सुकेधारा, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment