Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

अधैर्य हुनुको पछुतो

- प्रद्युम्न अधिकारी
चाबहिल- ७, काठमाडौँ    


रत्न लालले एउटा किराना पसल चलाएको थियो । उसको धेरैजसो समय पसलमै बित्थ्यो । एकछिन स्थिर गरेर कहीँ कतै बस्न नसक्ने उसको चञ्चले बानी थियो । यहि बानीले गर्दा उसलाई सबैले चञ्चले साहु भन्ने गर्थे ।

पतिको यस्तो चञ्चले स्वभाव देखेर उसकी पत्नी धेरै दुखी हुन्थी । आफ्नो पतिको यस्तो स्वभाव कसरी हटाउन सकिन्छ, भन्ने कुरामा उनी रातदिन चिन्तित भइरहन्थिन् ।

एकदिन पत्नीले भनिन, “तिम्रो चञ्चले बानी देखेर दिक्क लागिसक्यो । कहीँ गएपनि धैर्य गरेर बस्न सक्तैनौ । आफ्नो यस्तो बानीलाई सुधार ।’’ पत्नीले थप्दै भनिन, “भोलि गाउँको शिवमन्दिरमा विद्वान पण्डितहरुद्वारा ज्ञानगुणका कुराहरुको धार्मिक प्रवचन हुँदैछ । मनलाई कसरी शान्त, स्थिर र नियन्त्रणमा राख्ने जस्ता कुराहरू हुन्छन् रे ! यस्ता कुराहरुले तिम्रो स्वभावमा ठुलो सुधार हुनसक्छ । जान्न भन्न पाउँदैनौ ।’’  - पत्नी कुरा सुनेर उसले केही नबोली सहमति जनायो ।

भोलिपल्ट दुबैजना प्रवचन सुन्न गए । दुबैजनाले ध्यान लगाएर प्रवचन सुनिरहे । मनको चन्चलपनलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने प्रसङ्ग आउनु अगावै उसलाई छट्पटीले कुनबेला उठेर हिँडौ जस्तो भयो । पत्नीलाई थाहै नदिई उ जुरुक्क उठेर हिँड्यो । 

प्रवचनको कार्यक्रम सकेर फर्कने बेलामा पत्नीले यताउता हेरिन् । पतिलाई नदेखेपछि उनी दिक्क हुँदै घर फर्किन् । घर पुगेर पतिलाई भनिन्, “एकछिन पनि धैर्य गरेर बस्न सक्तैनौ तिमी ? कति राम्रो मनको शुद्धीकरण सम्बन्धी अमृतमय दिव्य प्रवचन भैरहेको थियो । यस्तो दिव्य प्रवचन सुन्ने मौका सधैं कहाँ पाइन्छ र... । तिमीले प्रवचन नसुनेर ठूलो भुल गर्‍यौ ।’’ पत्नीको कुरा सुनेर उसलाई पछुतो लाग्यो । 

अनि मनमनै भन्न थाल्यो, “हे भगवान् ! मेरो यो कस्तो अस्थिर र अधैर्य पन...! एकछिन धैर्य गरेर पनि बस्न सकिन । धिक्कार छ मेरो यो अधैर्य स्वभावलाई ।’’ बल्ल उसले अधैर्य हुनुको पछुतो कस्तो हुँदोरहेछ, भन्ने कुराको महशुस गर्न थाल्यो ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment