प्रियाजी, प्रश्नको उठान यसरी गरौं – तपाईंको पृष्ठभूमि र साहित्यिक प्रेरणाको स्रोत बताईदिनु न ?
प्रिया पत्थर – मेरो साहित्यलेखनको पृष्ठभूमिको बारेमा भन्नुपर्दा मैले सानै उमेरदेखि साहित्यिक रचना मन पराउने गरेको थिएँ । विशेषत् पाठ्यपुस्तकमा रहेका कथा कविता मलाई साह्रै मन पर्थ्यो ती बाहेक विद्यालयका पुस्तकालयबाट साहित्यिक पुस्तक ल्याई पढ्ने गर्थेँ । पछि एस.एल.सी. गरिसकेपछि लेख्ने प्रयास गर्न थालेँ र जिल्लाका खबर पत्रिकाहरूमा छपाउन थालेँ । यसप्रकार मेरो साहित्यिक प्रेरणाको स्रोत भनेको मेरो आफ्नै मनको साहित्यप्रतिको लगाव हो ।
तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दा रहेछन् ?
प्रिया पत्थर – साहित्यप्रति मेरो लगाव विगतको ४०–४५ वर्ष अघिदेखिको हो । साहित्य मेरो लागि लेखनको विषय मात्र नभएर पठनको विषय पनि हो । पठन संस्कृतिबाट मैले धेरै ज्ञान आर्जन गरेँ । लेखनको माध्यमबाट मैले आफ्नो मनमा रहेका धेरै उकुसमुकुस र द्वन्द्वलाई निकास दिएँ । मैले लेखेका साहित्यले समाजलाई अलिकता भएपनि केही बाटो देखाएको होला, चेतना दिएको होला भन्ने ठान्दछु र मेरो यो सत्प्रयासलाई साहित्यका बुद्धिजीवीहरूले मूल्याङ्कन गरी मलाई हमेशा प्रोत्साहन दिइरहनु भएको छ त्यसर्थ साहित्यले मलाई समाज उपयोगी भएर बाँच्ने प्रेरणा दिएको छ यही नै मेरो जिन्दगीको लक्ष्य उद्देश्य भएको हुँदा साहित्यलाई मैले जीवनको ठूलो उपलब्धि ठानेको छु ।

