Showing posts with label ध्रुवसत्य परियार. Show all posts
Showing posts with label ध्रुवसत्य परियार. Show all posts

Tuesday, November 25, 2025

लेख (अङ्क २९ मा प्रकाशित)


"एक बसाइमा पढिसकिने सानो तर स्वयं पूर्ण इतिवृत्ति नै छोटो कथा हो, जो एउटै विशिष्ट प्रभाव उत्पन्न गराउनका निम्ति लेखिन्छ ।’’ लघुकथाका प्रवर्तक अमेरिकी कथाकार एडगर एलन पो (१८०९–१८४९) को भनाइ यो हो ।

हाम्रो सरकारी शब्दकोशले कथाको अर्थ लामो दिएको छ, ‘प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना; कहानी; गल्प । नाटक, उपन्यास, महाकाव्य आदिमा पाइने कथावस्तु; कथानक; कथासार । चम्पूका रूपमा अथवा विशुद्ध गद्यमा लेखिएका आधुनिक कथा अथवा उपन्यासका पूर्वरूप मानिने विविध आकारप्रकारमा विभक्त आख्यानसाहित्यको पुरातन रूप; उपाख्यान; दन्तेकथा; आहान; किस्सा; कुथुङग्री । उक्ति; कथन; भनाई । नालीबेली; पुर्ब्यौली; पुर्ख्यौली; इतिवृत्त; इतिहास ।’

कथाको अर्थ र आयाम सानो छैन । सभ्यताको इतिहासमा मानिसले विभिन्न कथा रच्यो, कथा भन्यो, कथा सुन्यो, कथा बोक्यो । आज मानव समुदाय जहाँ उभिएको छ, यहाँसम्म आइपुग्दाका अनगिन्ती कथा छन् । 

लेखन वा सिर्जनाका क्षेत्रमा कथा कहाँ छैन ? हरेक इतिहासमा कथा छ, काव्य–महाकाव्यमा कथा छ, नाटकमा कथा छ, उपन्यासमा कथा छ । जब मानिसले साहित्यका अनेक विधाबाट कथालाई छुट्ट्याएर लेख्न वा बुन्न खोज्यो, तब छोटो कथा वा लघुकथा (अंग्रेजीमा शर्ट स्टोरी) जन्मियो । 

अमेरिकी लेखक सेल्डन चेनीले कथा भन्ने र अभिनय गर्ने अभ्यास सँगसँगै सुरु भएको कल्पना गरेका छन् । "कल्पना गर्नुस्, यो अल्तामिराको भित्तेचित्रहरूको युग हो । रात परेको छ, बिचमा आगो बालेर हामी सबै त्यसको चारैतिर बसेका छौ ।"  आगोको एक छेउमा कबिलाहरूको नाइके बसेको छ । आज उसले एक सिंह मारेको घटना सुनाउँदै छ— "मैले सिंहलाई पछ्याउँदै थिए", ऊ मैतिर आयो । मैले आफ्नो भालाले आक्रमण गरे । ऊ भुईंमा लड्यो,’ सेल्डन चेनीले आफ्नो पुस्तक 'द थियटर : थ्री थाउजेन्ड एयर्स अफ ड्रामा, एक्टिङ एन्ड स्टेजक्राफ्ट' मा लेखेका छन्, 'यत्तिकैमा उसको दिमागमा एक विचार पैदा भयो र आफूले कसरी सिंह मारे भन्ने घटना अभिनय गरेर देखाउन चाह्यो । ठिक यसै क्षण नाटकको जन्म भयो ।'