Showing posts with label सुमित्रा बजगाईं. Show all posts
Showing posts with label सुमित्रा बजगाईं. Show all posts

Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


आँखामा आँसु ओठमा हासो सायद रुन्चे हाँसो थियो त्यो ।

एकोहोरो बर्बराइरहेकी थिइन् उनी । म उनको नजिक पुगे । जिङ्ग्रिङ्ग कपाल, आँखा वरीपरी बसेका निला धर्सा, मुजा परेका निधार, ओठमा कलेटी, बेरङ्गी गाला । अन्जान नै भए पनि मलाई उनको हालत देख्दा असैह्य भयो । आमा तपाईंलाई सन्चो छैन हो ? मैले सोधेँ ।

उनले आँखामा बलियो बाँध लगाउँदै भनिन्,  "सन्चै छु बाबु । मलाई बिसन्चो बनाएर बन्दुकको नाललाई हाईसन्चो भएको छ । त्यसैले म सन्चै छु ।’’

उनको कुराले कता कता मेरो मन चसक्क छोयो ।
सार कुरा भने बुझ्न सकिन ।
मैले फेरि मलिन स्वरमा सोधेँ,  "अनि तपाईंका सन्तान ?’’

मेरा सन्तान मेरा हुन सकेनन् देशका भए । उनले अलिअलि ओठ कमाउँदै भनिन् । म अझै अर्धनिद्रामा छु झैँ लागिरहेको थियो । उनको बोली हाउभाउ हेर्दा मैले उनको पीडा महसुस गरे तर बुज्न सकिन ।

चिन्ता नलिनुस् आमा तपाईंका साहसी सन्तान देश बनाएर फर्कनेछन् । मैले भनेँ  ।

उनले मेरो आँखामा ऐना हेरिन् । भत्किए उनको आँखाको बाँध । गालाबाट कानलाई छुँदै बगेका कुलो घाँटीमा माला बने । उनले पोल्टोबाट सेतोमा रातो रगतले जेन–जी लेखेको एउटा जुत्ता निकालेर भनिन्,  "बाबू खबर आयो । उनीहरू आएनन् । अब कहिल्यै आउँदैनन् ।’’ 

कुरा सुनेर म निःशब्द भएँ । उनका आँसु पुछ्न सलबलाइरहेका मेरा हातहरू अघि बढ्न सकेनन् । मेरो मुखबाट फुत्त निस्कियो, धिक्कार ! मेरो देश । उनले मुटु छाम्दै भनिन्, ॅॅदेशलाई गाली नगर्नुस् बाबू यहाँ दुख्छ । यो स्वर्गको टुक्रालाई हामीहरूले नै मसानघाट बनाएका हौँ । विकासको नाममा विनाश गरेर परिवर्तन खोज्नु हाम्रो मूर्खता हो ।’’ हजारौँ सपना बोकेर हिँडेका मेरा आँखाले आमाको हृदय र जेन–जी जुत्तामा यथार्थ देखेँ ।

-काभ्रे

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, January 20, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


 

आखिर भिडमा पनि एक्लोपनको जित भएरै छाड्यो ।

त्यो सुन्दर परिवार सदस्यहरूको गन्तीले मात्र परिवार बनेको थिएन् । एकअर्का बिचको माया प्रेम सद्भभाव र सहयोगको गतिलो गठबन्धनले बनेको थियो ।

घरको हरेक व्यवस्थापन र निर्णय राधिका र उनका लोग्नेको हातमा हुन्थ्यो । बाआमाको निर्णयमा छोराछोरी बुहारीले पनि आफ्नु धारणा व्यक्त गर्दै सहमति दिन्थ्ये ।

पारिवारीक सरसल्लाह र रमाइलो ख्यालठट्टा उनीहरूको घरमा बेलुकाको खाना खाएपछि हुन्थ्यो । एक टुक्रा  भोक र मिठो निन्द्रा नै त्यो परिवारको सम्पत्ति थियो ।

प्रविधिको नङ्ग्राले कोपरेर अघोषित युगको जन्म भयो । युगसँगै हरेक कुराहरू बदलिए । छोरीबुहारीले भान्साका कुरा आमासँग सोध्न छाडे । छोराले कर्तव्य र जिम्मेवारी बासँग सिक्न छाड्यो । नातिनातिना हजुरबा हजुरआमासँग खेल्न छाडे । परिवारका  सदस्यहरूबिच भेटघाट र कुराकानी  पातलो बन्दै गयो ।

घरका एक सदस्य बिरामी हुँदा घरकै अर्को सदस्यलाई थाहा हुनसम्म छाड्यो ।

”हे भगवान ! यो कस्तो घोप्टे युग आयो ।’’ राधिकाले पुर्पुरोमा हत्केला बजार्दै भनिन् । पत्रिका पन्छाएर फेसबुकमा धत् मारिरहेका लोग्ने, टिकटकमा मस्किरहेकी बुहारी, ट्वीटरमा बात मारिरहेकी छोरी, पब्जीमा हराएका छोरा, मोटुपत्लुमा रमाइरहेका नातिनातिना सबले मुन्टो ठडाएर राधिकातिर हेरे ।

Sunday, October 26, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


झट्ट हेर्दा २०/२१ वर्षकी देखिने हाइटी, पातली, मृगनयन भएकी अबोध चञ्चलापन थियो उनीमा । एक वर्ष भैसकेको थियो उनी हाम्रो घरको फ्ल्याटमा बसेकी । उनका श्रीमान् पनि कम्ता थिएनन् । काँक्राको चाना जस्तो सर्लक्क परेका । त्यस्तै २५/२६ को हाराहारीमा थिए होलान् । असाध्यै माया थियो दुईबिच पक्कै प्रेम बिवाह हुनुपर्छ । घर पूर्वतिर भन्थे । मलाई पनि खासै खोजीनीधि गर्न मन लाग्दैनथ्यो । आफूलाई भाडा समयमै आइहाल्थ्यो । बिहान मिलेर घरको काम गर्थे । ९ बजेतिर केटा अफिस निस्कन्थे । केटी पनि कलेज जान्थिन् । न सिन्दुर, न टीका, न पोते आजकालका केटीहरू के भन्नु खै ! फेरी अर्काका छोरीबुहारी मलाई पनि के खाँचो ! तर पनि आफू त पुरानो जमनाको मान्छे आफ्नो धर्म–संस्कृति परम्परा मार्नु हुन्न भन्ने लाग्ने । अब युगले कोल्टे फेरिसक्यो हाम्रो पालाको जस्तो अहिले छैन । अहिले जस्तो पछि हुन्न । आधुनिकताको नाममा बेथिति भनेको यही त होला ! आ… म पनि अनेक सोच्छु । पुषका दिन फासफुस् म आफ्नू काममा लागेँ । 


साँझ पर्न लाग्दा उनीहरू मोटरसाईकलमा हुरुर्र आइपुगे । केटीको अनुहारमा बादल लागेको थियो । मेरो मुखमै नहेरी उनीहरू भित्र पसे । ती केटी म बर्बाद भएँ, यसो नगर प्लिज भन्दै थिइन् । उनका आँखाबाट खसेका मोतीहरू सागर बन्दै थिए । केटा म मेरो करियर बर्बाद गर्न चाहन्न भन्दै मुन्टो बटार्दै थिए । म अलमल्ल परेँ । के हुँदैछ यो भनेर बुज्दा उनीहरू अबिबाहित जोडी रहेछन् । लिभिङ्ग टुगेदरमा बसेका । केटीको ज्यानमा अर्को ज्यान थपिएपछि उनले बिवाहको प्रस्ताव राख्दा केटाले अस्वीकार गरेका रहेछन् । हे भगवान् ! यो के जमाना आयो ? परिवर्तन र नवयुगको नाममा यो कस्तो कुसंस्कारको जन्म भयो । स्वतन्त्रताको आडमा हाम्रा पुस्ताहरू के सिक्दैछन् । न अग्नि साक्षी, न पण्डित, न लगनगाँठो, न सातफेरा सात वचन । आकर्षण हो या प्रेम ? जब मन लाग्यो सँगै बस्यो । जब मन भरियो अर्को पार्टनर खोज्न थाल्यो । अबिवाहित भर्जिन सायद कमै भेटिएलान् । यो कस्तो सम्बन्ध ? कपडाजस्तो जहिले मन लाग्छ फेर्न सकिने । म पनि एक छोरा र एक छोरीको आमा भएकीले यो विषय मेरो लागि चिन्तनको मुल बन्यो ….. ।

- काभ्रे

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।