काठमाडौँको भीडभाडभित्र रहेको एउटा पुरानो टहरोमा अर्जुन बस्दथ्यो । उसको जीवन बाहिरबाट साधारण देखिन्थ्यो, तर उसको मनभित्र एक असाधारण युद्ध चलिरहेको थियो—सपना र वास्तविकताको बीचको युद्ध ।
बाबुको सानो जागिरले घर चल्थ्यो । आमाले हरेक रात धपेडीमा खाना पकाउँदा प्रायः आँसु चिप्लिन्थे । तर ती आँसु अर्जुनले कहिल्यै देखेन । ऊ आफ्नो कोठामा एक्लै बसेर भित्तामा टाँसिएको एउटा टुक्रा कागजमा लेखिएको तीन शब्द हेर्थ्यो—
“म सफल हुन्छु ।”
स्कूलका साथीहरू भन्थे,
“अर्जुन, तैंले यति धेरै सपना देखेर के फाइदा? जिन्दगीको यथार्थ बुझ ।’’
तर अर्जुनले मुस्कुराएर जवाफ दिन्थ्यो,
“यथार्थ बदल्न सकिन्छ, यदि दृष्टि अटल छ भने ।’’
वर्षौंको तयारीपछि एउटा अवसर आयो— अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता । हजारौं प्रतिभाशाली प्रतिस्पर्धीहरूमध्ये अर्जुन पनि उभिएको थियो । निर्णायकहरूको अगाडि उसको हृदय असाध्यै तीव्र धड्किरहेको थियो, तर उसको आँखा लक्ष्यमा गाडिएका थिए ।
अन्तिम चरण सुरु भयो । अर्जुनको पालो आयो । उसले आँखा बन्द गर्यो, गहिरो सास फेर्यो, र मनभित्र केवल एक वाक्य दोहोर्यायो—
“अर्जुन, तीरलाई लक्ष्यमा लगाऊ । अरू केही देख्न जरुरी छैन ।’’
जब उसले आफ्नो प्रस्तुति दियो, हल स्तब्ध भयो । उसका शब्द, उसका भाव, र उसको आत्मविश्वासले सम्पूर्ण वातावरणमा ऊर्जा भर्न पुग्यो । निर्णायकहरू एकअर्कालाई हेरे—अर्जुन फरक थियो ।
नतिजा घोषणाको क्षण आयो । अर्जुन विजयी भयो । पुरस्कार हातमा पाउँदा ऊ मुस्कुराइरहेको थियो, तर आँसु बगिरहेका थिए । त्यो आँसु केवल खुशीको थिएन, त्यो वर्षौंको सङ्घर्ष, निराशा, र अडिग समर्पणको साक्षी थियो ।
मञ्चमा उभिँदै अर्जुनले भन्योः
“जीवनमा धेरै रंगहरू हुन्छन्, धेरै प्रलोभन हुन्छन्, धेरै बाधा हुन्छन् । तर यदि दृष्टि अर्जुनको जस्तै अडिग छ भने, विजय केवल समयको कुरा हो ।’’
त्यस दिनदेखि अर्जुन केवल एउटा नाम रहेन । ऊ “अर्जुन दृष्टि” बन्यो—
त्यो दृष्टि, जसले अप्ठ्यारा बाटोमा पनि उज्यालो खोज्छ ।
त्यो साहस, जसले आँधीमा पनि होश हराउँदैन ।
त्यो प्रेरणा, जसले हजारौं सपनाहरूलाई पुनः जन्म दिन्छ ।
हेटौंडा, मकवानपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment