Friday, October 24, 2025

व्यक्तित्व (अङ्क २८ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार विनयकुमार कसजू (सं. २००४–२०७६) देखा परेका हुन् । उनको पहिलो कथाको शीर्षक हो 'ब्याज’ जुन सं. २०२३ मा 'नेपाली साहित्य सम्पर्क समिति’, (बनारस) पत्रिकाको चौथो सँगालोमा प्रकाशित भएको थियो । स्नातकोपाधि प्राप्त गरेका उनको अभिरुचिका क्षेत्रहरू हुन् पत्रकारिता र सम्पादन कला । तानसेन, पाल्पाको स्थानीय राजनीतिमा समेत सक्रिय भएका उनी सत्य वातावरण विशेषाङ्कका लागि वनमन्त्रालयबाट पुरस्कार (सं. २०४७), गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार (सं. २०५२), प्रकाश मानव अधिकार पुरस्कार (सं. २०५२) आदिद्वारा सम्मानित भइसकेका छन् । 'पश्यकोयम’ उनको साहित्यिक नाम हो । पुस्तकाकारमा प्रकाशित उनका कथासङ्ग्रहरू हुन् :

विनयकुमार कसजू

१. पशुतन्त्र (सं. २०३९),
२. लिस्नो (सं. २०५३),
३. थोपाथोपा (सं. २०५७),
४. स्याललाई स्लिपिङ ब्याग (सं. २०६६), र
५. विमोचन (सं. २०६६)

(पुनश्च : 'चौतारा’ नामक हवाईपत्रका भाग १ (सं. २०३३) र भाग २ (सं. २०३४) मा विजय सागरका कथाहरूका साथ उनका ८ कथाहरू सङ्गृहीत छन् ।) विनयकुमार कसजू बालसाहित्यका पनि सर्जक हुन् ।

विनयकुमार कसजू आधुनिक नेपाली लघुकथाका स्तम्भहरूमध्ये एक हुन् । गुणस्तर तथा परिमाण वा सङ्ख्या दुवै दृष्टिले उनका कथा कृतिहरू उत्कृष्ट छन् । विस्तृत विषय क्षेत्रलाई समेटेको कारणले उनका कथा सिर्जनामा गतिशीलता पाइन्छ । यति मात्र नभएर उनले समग्रमा नेपाली लघुकथाको शिल्पविधानलाई सहजताका साथ आत्मसात् गर्न सकेकाले पनि उनको कथा साधना उपलब्धिमूलक बन्न सकेको छ । उनका अधिकांश लघुकथाहरू विधागत उत्कृष्टताका नमुना नै बनेका छन् तापनि उनी त्रुटिरहित भने हुन सकेका छैनन् जसको चर्चा पछि गरिएको छ ।

विनयकुमार कसजू अति नै संवेदनशील सामाजिक चेतना भएका कथाकार हुन् । उनी समाजमा एकातिर निम्नवर्गका आम मानिसहरूले उच्चवर्गका धनाढ्य र शक्तिसम्पन्न मानिसहरूबाट शोषित र पीडित भइरहेका देख्दछन् भने अर्कातिर समाज अन्धविश्वास, जातीय भेदभाव, अशिक्षा, भ्रष्टाचार र अनाचारबाट ग्रसित भएको देख्दछन् । समाजमा व्याप्त दरिद्री र यसबाट उत्पन्न भएका अनेक थरी विकृति र विसङ्गतिहरूले आम मानिसहरूको जीवन अत्यन्त समस्यापूर्ण भएको कुरालाई उनले आफ्ना कथाको विषयवस्तु बनाएका छन् । यसै सन्दर्भमा उनले निम्नवर्गका मानिसहरूमाथि ठुलाबडाले गर्ने गरेको श्रमको शोषणलाई 'दयालु सेठ’ कथामा यसरी देखाएका छन् :

नलकूप बनेको केही वर्षपछि मजदुरहरूले के अनुभव गरे भने हातले बल गरे जति नलकूपबाट पानी निस्कन्न, थोरै मात्र निस्कन्छ तिर्खा मेट्न मात्रै ठिक्क हुन्छ ।

कारण पत्ता लगाउन नलकूप विशेषज्ञहरू आए र खनेर हेर्दा विचित्रको कुरा देखे त्यो नलकूपबाट एउटा पाइप जमिन भित्रभित्रै सेठको पानी ट्याङ्कीमा लगिएको थियो र मजदुरहरूले हातले पानी तान्दा धेरै भाग पानी सेठको पानी ट्याङ्कीमा जान्थ्यो र अलिअलि पानी नलकूपको धारोबाट झर्थ्यो ।

यस कथामा अन्योक्तिमूलक अर्थको तह (Allegorical Level of Meaning) मा उद्योग व्यवसायलाई नलकूप (Tubewell) र उत्पादित वस्तुबाट हुने आयलाई पानीको वितरण प्रणालीका रूपमा लिइएको छ । मजदुरहरूको श्रमको अत्यधिक शोषण उद्योगपतिहरूबाट हुने गरेको यथार्थलाई यस कथाको कथ्य बनाइएको छ । यसरी नै 'सेतो भूत’, 'भूलभित्र फूलबाहिर’, 'वार्ता कथा’ जस्ता कथाहरू पनि कथाकार कसजूले शोषण–चक्र चलाएर आफ्नो निजी स्वार्थ पूरा गर्न सिपालु सामन्तवर्गका प्रवृत्तिलाई देखाएका छन् । 'वार्ता कथा’ को दोस्रो वार्ता यस्तो छ :

सुंगुर फार्ममा सुँगुरहरू आफ्नो मालिकबारे कुरा गर्दै थिए –

क – हाम्रा मालिक कति बेस छन् ! हाम्रो दानापानी स्वास्थ्यबारे कति ख्याल राख्छन् !
ख – हो, हामी मोटाएनौँ भनेर कस्तो पिर लिनुभएको छ हिजो मात्रै भेटेनरी डाक्टरलाई देखाउन ल्याउनुभयो। ग– हो, साहै बेस छन् हाम्रा मालिक हामी मोटाघाटा र निरोगी भएनौँ भने मालिकको ढुकुटी कसरी भरिएला                 र!

यस कथामा पनि अन्योक्तिमूलक अर्थको तहबाट उच्चवर्गबाट निम्नवर्गको श्रममाथि हुने गरेको शोषणलाई पालिएका सुँगुर (श्रमजीवीवर्ग) र मालिक मोटाउने प्रसङ्गहरूद्वारा स्पष्ट पारिएको छ । कथाकार कसजूले आफ्ना 'माकुरा र बिजुली’, 'मालिकको साथी कुकुर किन ?’, 'कुखुराको अधिकार’ जस्ता कथाहरूमा समाजमा आफ्नो हैकम जमाएर बस्ने सामन्तहरूका खराब नियत, दमन गर्ने प्रवृत्ति र बर्बर व्यवहारको पर्दाफास गरेका छन् । गरिबहरूका सपना र आकाङ्क्षामाथि खेलबाड गरेर जहिल्यै पनि आफ्नै मात्र स्वार्थ सिद्ध गर्न सिपालु ती अभिजातवर्गका मानिसहरूको पाशविक व्यवहारप्रति यी कथाकारले असन्तुष्टि व्यक्त गर्दै उनले तिनीहरूको आडम्बरी जीवनशैली र पतनोन्मुख स्थितिको चित्रण ’डरलाग्दो कुकुर’ कथामा यसरी गरेका छन् :

साथै भित्र पसे, साँचो मिलाए, सेफ खोले, भित्र एक कौडी थिएन, एउटा कागत थियो, त्यसमा लेखिएको थियो –

"सबै सम्पत्ति डरलाग्दो कुकुर पाल्दा सकियो, साइन बोर्ड सुरक्षित रहोस् धन्यवाद ।’’

कथाकार विनयकुमार कसजूले सामन्ती प्रवृत्तिको विरोध गरी समतामूलक समाज निर्माणमा विश्वास गरेको कुरोलाई 'वनभोज’ कथाले पुष्टि गर्दछ । यस कथामा 'देउताको भाग’ भनेर आधा खाजा आफूले लैजाने जयरामको सामन्ती मनोवृत्तिलाई परास्त गरी बराबरी सबैले खाजा खाने भन्ने राजेशको समतामूलक मनोवृत्तिलाई स्थापना गरिएको छ । यसरी यी कथाकारले हामी बसेको समाजभित्रका आर्थिक विषमता र त्यसबाट सिर्जित अमानवीय समस्यालाई यथार्थ रूपमा प्रस्तुत गरेका छन् ।

विनयकुमार कसजू सामाजिक दुरवस्थाका परिणामहरूलाई पहिचान गर्न सक्ने चेतनशील कथा–सष्टा हुन् । उनले सर्वत्र व्याप्त जातीय भेदभाव, छुवाछुत प्रथा र धार्मिक अन्धविश्वासले उत्पन्न गरेका पीडा, कारुणिक संवेदना र नकारात्मक संवेगहरूलाई आफ्ना कथाहरूमा देखाएका छन् । उनको 'रामराज्यको काँडा’ दलितवर्गको अन्तर्पीडाको कथा हो भने 'कसको दोष’ भेदभावलाई उपलब्धि ठान्ने अन्धो समाजको कथा हो ।

शिवजीको सर्प’ कथामा अन्धविश्वासको यस्तो प्रसङ्ग पाइन्छ :

भोलिपल्ट बिहान पुजारीले शिवजीको नित्य पूजा गर्न आउँदा बाङ्गे सर्प शिवलिङ्गलाई बेरेर सुतिरहेको थियो । पहिले त पुजारी डरायो तर शिवजीको स्मरण गर्दै उसले सर्पलाई टाढैबाट नमस्कार गर्‍यो । शिवालयभित्र शिवजीको गहना सर्प आएको कुरा उसले गाउँलेहरूलाई सुनायो । गाउँलेहरूले पनि शिवजीका प्रियगण सर्पलाई खुसी पार्न दुध र फलफूल चढाउन थाले ।

कथाकार कसजूले समाजमा व्याप्त यस्ता जातीय भेदभाव, अन्धविश्वास आदिले माथिल्लो वर्गका मानिसलाई नै लाभ पुर्‍याउने र त्यसबाट आम गरिबहरू नराम्ररी प्रभावित हुने कुरो व्यक्त गरेका छन् । यसै सन्दर्भमा उनले गरिबहरूको अत्यन्त दीनहीन अवस्थाको पनि प्रसङ्ग निकालेका छन् । 'बाध्यता’ कथामा उनले ठुलाबडाद्वारा शोषित र उत्पीडित गरिबको नियतिको मार्मिक चित्रण यसरी गरेका छन् :

सबैभन्दा पहिले ऊ औषधि किन्न गयो । औषधि किनेपछि बाँकी बचेको रकमले मुस्किलले दुई किलो चामल आयो ।

घरमा पुग्दा अँध्यारो हुन लागेको थियो, आमा दैलोनेर बसेर सिस्नाको मन्टा केलाउँदै थिई, आँगनमा केटाकेटी भोक लाग्यो भनेर कराउँदै थिए, लालेको बा । सदाझै भट्टीबाट जाँड खाएर आएर बलेसीमुन्तिर बसेर बरबराउँदै थियो, “चाँचेले झैँ जतानामको मिजा पायो स्याहार्ने ढङ्ग छैन राँडी ..’’

लाले औषधिको सिसी लुकाउँदै लुसुक्क दैलोभित्र पस्यो ।

गरिबहरूले सदा पिल्सिएर र निस्सासिएर बाँच्नुपर्ने स्थितिको यथार्थ बोध “दशैं” कथामा गरिएको छ । समाजमा असुरक्षाको जटिल स्थिति रहेको कुरो “सेतो परेवा” कथामा देखाइएको छ । कथाकार विनयकुमार के पाउँदछन् भने समाज स्वार्थी मानिसहरूको समूहबाट आक्रान्त छ । मानिसमा नीच मनोवृत्तिले जरो गाडेको छ र समाज बर्बर एवम् पाशविक व्यवहारको सिकार बनेको छ। “हितैषी ?’’, “सर्कस सिंह र वन सिंह’’, “पुरस्कार’’, “प्राइवेट पोखरी’’, “दानशीलता’’, “विचित्रको शौख’’, “अनर्थ’’, “एकादशी’’, “पल्केको तिल्के’’, “हामीले के पायौं ?’’, “स्वार्थ”, “ग्लोबल हाईवे” जस्ता लघुकथाहरूमा लेखकले मान्छेभित्रको अत्यन्त अनैतिक र पाशविक प्रवृत्तिको पर्दाफास गरिदिएका छन् । “एकादशी’’ का यी संवादहरू हेरौँ :

मानिस : ए दाइ, आज किन पसल बन्द ? खसी काट्ने होइन ? 

बगरे : आज ठुलो एकादशी भन्ने थाहा छैन हजुरलाई ?

मानिस : आ … छाडिदेऊ एकादशी सेकादशी । आज मोटो ग्राहक फेला परेको छ । एउटा नामी एन.जी.ओ. ले आजैदेखि पाँच दिने सेमिनार गर्दै छ । पाँचै दिन भोजै भोज मोजैमोज छ । आज खसी, भोलि कुखुरा, पर्सि माछा अनि फेरि … लौलौ चाँडो गर । एउटा खसी ढालिहाल ।

बगरे : खै, एकादशीको दिन काटमार गर्नु हुन्न, पाप लाग्छ भन्छन् ।

मानिस : मानेले खाएपछि तिमीलाई केको पाप ? मलाई हतार छ चाँडै गर न दाइ ।

बगरे : सधैँ आउने तपाईं जस्तो ग्राहकलाई त्यसै फर्काउन भएन ।  तर कसैलाई नदेखाईकन लैजानुपर्छ है ।

यति भन्दै बगरेले मोटेलाई डोर्‍याउँदै भित्र लग्यो । दुब्लेले टुलुटुलु हेरिरह्यो ।

यसरी कथाकार विनयकुमार कसजूले व्यक्तिभित्रको छुद्रपन वा तुच्छ मनोवृत्ति र हिंस्रक प्रवृत्तिका कारणले समाज अनेक विकृतिहरूद्वारा आक्रान्त भएको, निजी स्वार्थले प्रश्रय पाएको कारणले आम सर्वसाधारण मानिसहरूमा कुण्ठा र निराशाको भावना वृद्धि भएको र मानिसभित्रको सच्चा मानवताको भावना पशुतन्त्रमा रूपान्तरण भएका कारणले समाज रुग्ण बनेको कुरोलाई आख्यानीकरण गरेका छन् ।

विनयकुमार कसजू युग चेतना भएका कुशल कथा–प्रतिभा हुन् । उनले समसामयिक राष्ट्रिय परिवेशभित्रका अनेक विसङ्गतिहरूलाई आख्यानको रूप दिएका छन् । उनले देशमा बढ्दो भ्रष्टाचार र कमिसनतन्त्र, चाकडी र चापलुसी मनोवृत्ति जस्ता कुराहरूलाई “मोल र मरमत’’, “नर्क–स्वर्ग–नर्क’’, “बक्सिस’’, “खँ सपी द्य ज्या सपी च्य’’, “चाकरी गाथा’’, “स्याल र कुकुर’’, “को प्यारो ?” “पिठ्यूँ पछाडि”, “स्याललाई स्लिपिङ ब्याग’’, “श्री भ्रष्टाचाराय नमः’’ जस्ता कथाहरूमा देखाएका छन् । “बक्सिस’’ कथाका कालुमानले कलापूर्ण पानस बनाई जरसापलाई नजर गराउँदछन् । जरसापले त्यो पानस देखेर दिएका सय रुपियाँ बक्सिस खजान्जी, बैठके, टहलुवा र ढोकेको हात हुँदै कालुमानको हातमा आइपुग्दा मात्र दश रुपियाँ हुन्छ :

बैठकेले खजान्चीलाई जरसापको हुकुम सुनायो, खजान्ची र बैठकेले खास–खुस गरे । खजानाबाट खजान्चीले हुकुमबमोजिम एक सय रुपियाँ निकाल्यो र पचास रुपियाँ बैठकेलाई दियो ।

बैठकेले टहलुवालाई कालुमानलाई दिनु भनेर पच्चिस रुपियाँ दियो टहलुवाको पनि कालुलाई दिनु भनेर पन्ध्र रुपियाँ ढोकेलाई दियो ।

ढोकेले कालुलाई बोलाएर जरसाप तिम्रो कामबाट निकै खुसी होइबक्स्यो तिमीलाई बकस बक्सेको छ भनेर दश रुपियाँ कालुको हातमा राखिदियो र भन्यो “मेरो भाग नबिर्स है कालुमान’’

कालुले जरसापको जय होस् भन्दै दश रुपियाँ थाप्यो र त्यसबाट एक रुपियाँ ढोकेलाई दियो अनि चिसो चुलो तताउन बजारतिर लाग्यो ।


यसरी नै कथाकार कसजूले देशमा हुने गरेको कागजी विकास तथा विकासका नाममा हुने गरेको व्यक्तिगत विकासलाई लक्षित गरेर मार्मिक कथाहरू लेखेका छन् । “तपाईं कहाँ हुनुहुन्छ ?” कथामा लेखिएको छः


तपाईं छक्क पर्नुहुन्छ– आहा ! कस्तो ठाउँमा आएछु ! कस्तो उन्नति भएछ यहाँ ! कस्तो भाग्यमानी यहाँका मान्छे ! तपाईं 'कहाँ आएँ’ भनेर जान्न छटपटिनुहोला तर मलाई लाग्छ यति बेलासम्म तपाईं कहाँ हुनुहुन्छ भन्ने कुरा तपाईंले थाहा पाइसक्नुभयो होला यदि थाहा पाउनुभएको छैन भने सुटुक्क भन्छु सुन्नुस् तपाईं साइनबोर्ड पेन्टरको पसलअगाडि उभिनुभएको छ ।

विनयकुमार कसजूले आफ्नो “विकासे भाले’’, “गुलाफको फूल र काँढे भयाङ’’, “यहाँ कसको विकास हुन्छ ?”, “किन चाहियो विकास ?’’, “भूतको फोटो’’, “विकासको लक्ष्य’’ जस्ता कथाहरूमा बडो मार्मिक व्यङ्ग्यात्मक शैलीमा तथाकथित विकास वा विकासका नाममा हुने गरेका अनाचारको सजीव चित्र उतारेका छन् । यसका साथै उनले देशको दयनीय राजनीतिक संस्कृति तथा नेता भनाउँदाहरूका आचरण र क्रियाकलापहरूको पनि पर्दाफास गर्ने काम “पोस्टर”, “शान्तिको चरा’’, “रातो बत्ती”, “लिस्नो’’, “अनौठो साबुन’’, “लगानी’’, “बाघको पूजा’’, “सेतो कौवा” जस्ता कथाहरूमा गरेका छन् । यति मात्र नभएर उनले समग्र देशकै राष्ट्रियतालाई वाहिरी शक्तिले प्रभाव पार्दा कमजोर हुँदै गएको हाम्रो देश, वैदेशिक अनुदानमा निर्भर रहनुपर्दा नागरिकहरूले अनुभूत गरिरहेको हीनता भाव, निरङ्कुश शासनतन्त्रले देशमा ल्याएका विकृतिहरू, बढ्दो तस्करी, राजनीतिक अस्थिरता, जातीयताको आडमा हुने गरेका आमनिर्वाचनका कुपरिणाम, जातीय विखण्डन एवम् राजनीतिक दुराग्रहको स्थिति, गैरसरकारी संस्थाहरूका गैर जिम्मेवारीपूर्ण क्रियाकलापहरू, सही नेतृत्व दिने क्षमताको कमीले उत्पन्न निराशा र कुण्ठा भाव आदिलाई पनि आफ्ना “पशुतन्त्र’’, “लामो सिङ भएको बोका’’, “मेन स्विच’’, “मागी मागी छोराको बिहे’’, “यहाँ कसको विकास हुन्छ ?’’, “बाघ, बाँदर र ढेँडु”, “क्यारम बोर्ड’’, “जङ्गलमा महानिर्वाचन’’, “डलर खोले’’, “न्युयोर्कमा नेपाल’’, “बिजोडा जुत्ता’’, “हलीको फोटो’’, “स्याललाई स्लिपिङ ब्याग’’, “एम्बुलेन्स’’ जस्ता कथाहरूमा देखाएका छन् । “क्यारमबोर्ड’’ कथाको यो उद्धृतांश हेरौँ :

गोटीहरूले एकै स्वरले भने, “हामीहरूलाई दिनभरि मैदानबाट ठटाउँदै खाल्टोमा जाक्ने तै हैनस् ? तँलाई के बाँकी राख्थ्यौँ, तेरो टुक्राटुक्रा नगरी छाड्दैनौँ ।’’

स्ट्राइकरले रुँदै भन्यो, “तपाईंहरूले साँचो कुरै बुझ्नुभएको रहेनछ । तपाईंहरूलाई हानेको मैले कहाँ हो र ? खेलाडीहरूको हातको आदेशअनुसार मैले चल्नुपर्छ । उनीहरूले जता हान्यो, उतै हानिनुपर्छ । मेरो केही दोष छैन ।’’

यो सुनेर गोटीहरूले चर्कंदै भने, “हामीलाई हान्दै लखेट्दै खाल्टोमा जाक्दा त तँ खुबै खुसी देखिन्थिस् । खुबै बहादुरी गर्दै भन्ने ठान्थिस् । अहिले खेलाडीले मलाई हान्न लगाएको भनेर उम्कन खोज्दै छस् ।’’

“हो, म खेलाडीको इसारामा हानिएर तपाईंहरूलाई खाल्टोमा जाक्दा मलाई केके न ठूलो काम गरेजस्तो लाग्थ्यो । तर म पनि धेरै पटक तपाईंहरूसँगै ढुनमुनिदै खाल्टोमा खस्दा मलाई आफ्नो अस्तित्वबोध भयो । आकारमा केही ठुलो भए पनि म पनि तपाईंहरूकै वर्गको हुँ भन्ने मलाई ज्ञान भयो । खेलाडीले मलाई मेरै दाजुभाइलाई ठटाउने काममा लगाएको मैले बुझेँ । मेरो नियति देखेर मलाई नै घृणा लागेको छ । अबदेखि म मेरो “स्ट्राइकर’’ भन्ने दर्जा त्यागिदिन्छु ।’’ स्ट्राइकरले भन्यो ।

बाह्य शक्तिको नियन्त्रण (Hazimony) मा चल्न विवश हाम्रो देशको नियतिलाई उपर्युक्त अन्योक्ति (Allegory) मा स्पष्टसँग भनिएको हुँदा कथाकार विनयकुमार कसजूले राष्ट्रवादको गम्भीरतालाई प्रच्छन्न रूपमा आफ्ना कथाहरूमा राखेका छन् । उनको विचारमा देशका नागरिकमा राष्ट्रवादको पहिचान अनिवार्य हुन्छ । कुनै पनि देश आफ्नै स्वतन्त्र सार्वभौमसत्ताको अधिकारी हुन्छ । यसैकारण उनी व्यक्ति स्वतन्त्रताका विरोधी र युद्धको पक्षधरलाई घृणा गर्दछन् । “टोपी लगाउने बाँदर’’, “मुसा नमार्ने बिरालो’’, “उत्सव र आँसु’’, “सहयात्री’’, “आफ्नो आफ्नो डम्फु’’, “मूर्ति र मूर्तिकार’’, “तीन जना बसयात्री’’ जस्ता कथाहरूमा सकारात्मक सोचलाई महत्व दिएर आत्मविश्वास, आत्मसंयम, उद्यमशीलता र आशावादी दृष्टि व्यक्त गर्दछन् ।

विनयकुमार कसजू मान्छेको जीवनलाई अत्यन्त रहस्यमय ठान्छन् भन्ने कुरोलाई “कछुवाको संसार’’ कथाले पुष्टि गर्दछ । साथै उनी मान्छेभित्रको सौन्दर्य चेतनालाई स्वीकार गर्दछन् भन्ने कुरोलाई “मूर्ति र मूर्तिकार’’ कथाले पुष्टि गर्दछ। मानवीय यौनाचारको कुरा उनले गरेका छैनन् भन्ने कुरोलाई उनको “बिचरा स्याउ टिप्ने मेसिन’’ कथाले पटक्कै स्वीकार गर्दैन । आजको बहुलोकप्रिय साइबर संस्कृतिबारे पनि उनले “अनौठो टीका’’ कथामा चर्चा गरेकै छन् । “अँगालो र हत्कडी’’ कथामा उनले नारीवादी दृष्टिकोण पेस गरेका छन् । यसरी समग्रमा हेर्दा उनको कथाकारिता गत्यात्मक स्वरूपको रहेको प्रमाणित हुन्छ ।

विनयकुमार कसजूको कथाशिल्पका दुई मुख्य शक्ति र वैशिष्ट्यहरू हुन् व्यङ्ग्यविधान र अन्योक्तिमूलक विधि । सर्वप्रथम व्यङ्ग्यविधानको प्रसङ्गमा के भन्न सकिन्छ भने उनले देशको समसामयिक राष्ट्रिय परिवेश, राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखा परेका विकृति तथा खराबीहरूलाई व्यङ्ग्य–वाण प्रहार गरेका छन् । उनले बाह्य शक्तिमा निर्भर हुँदै गएको देशको राष्ट्रियता, नेताहरूको भ्रष्ट आचरण, जताततै मौलाउँदो भ्रष्टाचार र दुराचार, सामन्तवर्गको अमानवीय प्रवृत्ति, मान्छेभित्रको स्वार्थी र पाशविक भावना आदिप्रति व्यङ्ग्य गरेका छन् । “नेमप्लेट’’ भन्ने कथामा छेपारोले झैँ आफ्नो रङ फेर्न सक्ने अवसरवादी हाकिमप्रति यसरी व्यङ्ग्य गरिएको छ :

पञ्चायत ढलेपछि जुन हाकिमको अन्यायको विरोध गरेर उनीहरूले धपाएका थिए त्यही हाकिम फर्केर आएको देखेर कर्मचारीहरू नआत्तिने वा छक्क नपर्ने कुरै थिएन ।

हाकिमको पहिलो आदेश थियो “मेरो कोठाबाहिर नेमप्लेट राख्नुस् है ।’’

कुन नेमप्लेट राख्ने ? पुरानो नेमप्लेट ? त्यो त कर्मचारीहरूले उनी जानेबित्तिकै भैंमा घिसारेर, थुकेर, लात्तीले हानेर भाँचकुँच पारी जिन्सीखाताबाट हटाइसकेका थिए हाकिममाथिको हैन पञ्चायतसँगको सबै रिस त्यही नेमप्लेटमाथि पोखेका थिए. अब हाकिमले त्यही नेमप्लेट मागे के गर्ने? सबैको मुख सुक्न थाल्यो ।

ताराप्रसादले स्थिति समाल्नैपर्‍यो उनी हाकिमकहाँ गएर दुई हात मल्दै भने, “कस्तो नेमप्लेट बनाऊँ सर ? पहिलाको जस्तै कि ?…’’

उनको कुरा टुङ्गिन नपाउँदै हाकिमले मुस्कुराउँदै भने, “कहाँ पहिलेको जस्तो बनाउने ! मैले नाम फेरेको तपाईंलाई थाहा छैन ?’’

“हो र सर ?’’ भन्दै ताराप्रसादले नेमप्लेटमा लेख्नका लागि “के नाम लेखूँ” सर भनी सोधे “भक्तराज शर्मा लेख्नुस् न’’ हाकिमको जवाफ सुनेर ताराप्रसादले लामो सास फेरे ।

पञ्चायतकालका हाकिम राजभक्त शर्मा नयाँ शासनव्यवस्था देशमा आएपछि भक्तराज शर्मा भएर फेरि तर मार्न पल्केका अवसरवादीलाई यस कथामा तिखो व्यङ्ग्य गरिएको छ । कथाकार कसजूले डलर खान पल्केकालाई 'ग्लोबल हाईवे’ कथामा, अव्यवस्थित र बर्बर शासनतन्त्रलाई 'पशुतन्त्र’ मा र भ्रष्टाचार प्रवीण कर्मचारीतन्त्रलाई 'मोल र मरमत’ कथामा व्यङ्ग्य गरेका छन् । समग्रमा उनले व्यक्तिदेखि लिएर राष्ट्रिय परिवेशसम्मका भित्री आचरण, स्वभाव र मनोवृत्तिमाथि चोटिलो प्रहार गर्न बाँकी राखेका छैनन् । लघुकथामा व्यङ्ग्यको राम्रो प्रयोग गर्न सकिने कुराको उल्लेखनीय उदाहरण उनले पेस गरेर देखाइदिएका छन् ।

विनयकुमार कसजू अन्योक्ति प्रयोगमा कुशल कथाशिल्पी हुन् । यसैद्वारा उनले आफ्ना लघुकथाहरूमा लाक्षणिक तथा व्यञ्जनामूलक अर्थको गम्भीरता स्थापना गर्न सकेका छन् । उनका “सूर्य र बालुवा’’, “मन स्वीच’’, “सेतो परेवा’’, “सेतो भूत’’, “माकुरा र विजुली’’, “टोपी लाउने बाँदर’’, “पशुतन्त्र’’, “हितैषी’’, “लिस्नो’’, “क्यारमबोर्ड’’, “एम्बुलेन्सको देश’’ आदि कथाहरू हेर्ने हो भने उनले मानवका साथै मानवेतर पात्रहरू (पशुपक्षी, जड पदार्थ, अमूर्त वस्तु आदि) लाई आधार बनाएर लक्षित उद्देश्यलाई सोझै प्रस्तुत नगरी नाटकीय शैलीमा भनेका छन् । उनको सशक्त अन्योक्तिमूलक विधि “माकुरा र बिजुली’’ कथामा यस्तो छ :

बिजुली बलेको देखेर पहिले त दुवै तर्से, तर बत्तीका वरिपरि किराहरू नाच्न थालेको देखेर उनीहरू खुबै खुसी भए . उनीहरूले त्यो ठाउँको महत्व बुझे ।

भोलिपल्ट बिजुली खम्बाको बिजुलीका वरिपरि उनीहरूले खुबै मेहनत गरेर जाल बुने त्यसपछि उनीहरूको सन्तान खुबै फैलियो अनि सहरमा मात्र हैन गाउँमा पनि जहाँजहाँ बिजुलीको खम्बा छ त्यहाँत्यहाँ माकुराहरूले जाल बनाएर बस्न थाले ।

यस कथामा माकुरा, जाल र विजुलीका लाक्षणिक र व्यञ्जनामूलक अर्थहरू छन् जसलाई पाठकहरूले आ–आफ्ना ढङ्गले बुझ्‌न सक्तछन् । कथाकार विनयकुमार कसजूले यो अन्योक्तिमूलक विधि प्रयोग गर्दा स्वैरकल्पना (“लामो सिङ भएको बोका’’ कथा), मिथक (“रामराज्यको काँडा’’ वा “खँ सपी द्यः ज्या सपी च्यः’’ कथा), प्रयोग (“वार्ताकथा’’ वा “भकुण्ठो” वा “एम्बुलेन्सको देश’’ कथा) लाई समेत संयोजन गर्न सकेका छन् । यस विधिको प्रयोगले उनको लघुकथा लेखन शिल्पको उत्कृष्टतालाई प्रमाणित गरिदिएको छ। तर पनि उनका समग्र कथा कृतिहरूलाई प्राविधिक रूपबाट मूल्याङ्कन गर्दा “होर्डिङ बोर्ड’’, “राजकुमारको मुखबाट गरिबको कथा’’, “घातक ठट्टा’’ र “कविता मिठो कि डिनर ?’’ कथाहरू केवल चुट्किला (Jokes)  भएको पाइन्छ । यी कथाहरूबाट कुनै ध्वन्यात्मक स्वर (Echo Sound) आउँदैन र तिनमा अर्थको गहिरो र लामो आयाम (Span) पनि पाइँदैन । त्यस्तै उनको अर्को कथा “एउटा प्रेम कथा’’ केवल गद्यमा कविता (Poem in Prose) बन्न पुगेको छ, किनभने यसमा कथात्मक सङ्कथन (Narrative Discourse) को सट्टा केवल भावात्मक वा रागात्मक संवेगकै मात्र प्राबल्य छ । यसका साथै उनको पछिल्लो कथासङ्ग्रहमा सङ्कलित कतिपय कथाहरू पढ्दा पाठकलाई स्पष्टसँग के भ्रम हुन्छ भने के लघुकथा भनेको बालकथा हो । यसमा सङ्गृहीत उनका “अखबार बेच्ने केटी’’, “डरलाग्दो फिल्म’’, “सक्कली धामी’’, “मान्छे र चरा’’, “भालुको फोटो’’, “गैंडासँग जम्काभेट’’, “ज्युँदै समवेदना’’, “देउताको मकै’’, “हिराको औंठी’’, “बाघको पूजा’’, “सेतो कौवा’’, “गलगाँडेहरूको गाउँमा’’ र “अरू खसी खोइ ?’’ कथाहरू बालकथाको संस्पर्श दिएर लेखिएका हुन् भन्ने अनुभूत हुन्छ, किनभने यी कथाहरूमा बालबालिकाहरूका संवेग र चिन्तन (Emotions and Thinking) लाई संवेग बनाउने ऊर्जा रहेको पाइन्छ । कथायात्राको उत्तरार्धमा आएर उनले यसरी लघुकथाको स्वतन्त्र र मौलिक अनुशासन र सीमालाई जानीजानी उल्लङ्घन गर्न खोजेका त निश्चय पनि होइन भन्ने किन लाग्दछ भने समग्रमा लघुकथाको शिल्पीका रूपमा उनको नाम अझै पनि अग्रपङ्क्तिमै आउँदछ ।

निष्कर्षमा के भन्न सकिन्छ भने विनयकुमार कसजू सामाजिक संवेदना भएका अत्यन्त चेतनशील कथा–स्रष्टा हुन् । उनले समकालीन युगका विकृति र विसङ्गतिहरूलाई खोतलेर व्यङ्ग्य प्रहार गर्ने काम पनि गरेका छन् । मुख्यतः अन्योक्तिमूलक विधिका माध्यमबाट उनले आफ्नो गद्य–शैली र कथात्मक सङ्कथनलाई अति नै सबल र सशक्त तुल्याएका छन् । उनी लघुकथाको शिल्पविधानमा प्रवीण हस्ताक्षर हुन् ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment