Friday, September 12, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


घरपायक सरुवा हुन्छ भन्ने आश्वासन पाएर खुसीयाली छाएको छ, शिक्षक उमाकान्तको घरमा । बिहानको खाना खाएर, “म एकछिन हाम्रो स्कूलमा गएर आउछु है ।’’ भन्दै  हिडेँ उमाकान्त । बुढीले भाडाँकुडा सफा गरिनसक्दै फर्केर आए । कालोमुख लगाएर बुढा फर्केर आएको देखेर बुढीले सोधिन, “किन छिट्टै आउनु भयो त ?’’ 

मलिन अनुहार लगाउँदै उनले भने, “हाम्रो गाउँको विद्यालयमा सरुवाको लागि दुवै जिल्लाका टाउकेहरूलाई अलिकता नगद दिनुपर्नेछ भनेका थिए हाम्रा साथीहरूले, अस्तिको चौमासिक तलब उताकालाई दिएँ ।’’ 

“ए, हो र ? छोराले कपी कलम किन्न पैसा माग्दै थियो । अब कुन पैसा दिनु त ? मैले त बुवा आएपछि दिनुहोला भने । अहिलेसम्म यहीँ थियो  साथीहरूसँग गयो होला खेल्न ।’’ 


“अब आउने चौमासिक यताकालाई दिनेछु भनेर कुरा मिलाएको थिएँ तर ….’’ बोली रोकियो ।

“के तर ? नहुने भयो सरुवा ? म त सक्दिन छोरा – छोरी, वृद्धअवस्थाका बुवा– आमा हेर्न ।“ बुढीले रन्किदै भनिन् ।

“हुन त हुन्छ सरुवा, तर पहिला गाउँमा पनि भोज ख्वाउनु पर्छ रे, कहाँबाट ल्याउनु हो पैसा ?’’

बुढीले रुन्चे स्वरमा भनिन “आम्दानीको नाममा त्यही शिक्षकको जागिर छ । त्यसको पनि एउटा चौमासिक उता बुझाएको, अर्को यता बुझाउने, त्यहाँमाथि पनि गाउँलेलाई भोज ? धन्न हो गाउँ गाउँमा सिंहदरबार ।’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment