Tuesday, November 25, 2025

व्यक्तित्व (अङ्क २९ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको  'नवचेतनाको युग' (सं. २०२०–३९) मा कथाकार भागीरथी श्रेष्ठ (सं. २००५) देखा परेकी हुन् । उनको पहिलो कथा हो 'प्रबल इच्छा' (सं. २०२३) जुन गुल्मीबाट प्रकाशित भएको 'रुरु' भन्ने पत्रिकामा प्रकाशित भएको थियो । स्नातकोपाधि प्राप्त गरेकी उनको अभिरुचि साहित्यिक पत्रकारिता, अनुवाद र सम्पादन कार्यमा पनि रहेको पाइन्छ । उनी 'लुम्बिनी अञ्चल स्तरीय साहित्य सम्मेलनमा गद्यतर्फ प्रथम पुरस्कार' (सं. २०२३), 'रत्नश्री स्वर्णपदक’'(सं. २०४३), 'सर्वोत्तम कथाकार' (सं. २०४४ः टेलिफिल्म प्रतियोगिता), 'मैनाली कथा पुरस्कार' (सं. २०४८), 'प्रतिभा पुरस्कार' (सं. २०५५), 'नूरगङ्गा साहित्य पुरस्कार’ (सं. २०५८), 'दायित्व वाङ्मय पुरस्कार’ (सं. २०५९) का साथै 'शङ्कर कोइराला स्मृति पुरस्कार’, 'गरिमा पुरस्कार’, 'पारिजात स्मृति साहित्य मितेरी सम्मान’ आदिद्वारा सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् :

१. क्रमशः (सं. २०४३),
२. मोहदंश (सं. २०४४),
३. विभ्रम (सं. २०५०),
४. रङ्गीन पोखरी (सं. २०५० लघुकथासङ्ग्रह)
५. भूमिगत (सं. २०६२), र
६. रातो गुलाफ (सं. २०६६)
भागीरथी श्रेष्ठ उपन्यास र कविता विधाकी पनि स्रष्टा हुन् ।

भागीरथी श्रेष्ठ राजनीतिक विषयवस्तु (Theme)लाई मिठो आख्यान बनाएर प्रस्तुत गर्ने क्षमता भएकी स्रष्टा हुन् । उनले विशेष गरेर देशमा कुनै कालखण्डमा एकदलीय शासनतन्त्र प्रारम्भ भएदेखि बहुदलीय शासनतन्त्र लागू भएसम्मको करिब तीन दशकको राजनीतिक पृष्ठभूमिमा देखिएका विकृति र विसङ्गतिहरूलाई विभिन्न अन्योक्तिहरू (Allegories) द्वारा देखाएकी छिन् । यस सन्दर्भमा उनले विशेष गरेर एकदलीय शासनतन्त्रभित्रको निरङ्कुश प्रवृत्ति र गतिविधिहरूलाई लक्षित गरेर 'प्रशंसा’, 'अधिकार’, 'सिक्री’, 'नाइकेको बाचा’, 'अन्धो’, 'महत्वाकाङ्क्षी ठुलो दाजु’, 'जाल’, 'हाम्रा निर्धन हिमालयहरू’, 'रङ्गीन पोखरी’, 'नयाँ घर’, 'बिउ’ जस्ता लघुकथाहरू लेखेकी छिन् । उनका दृष्टिमा एकदलीय शासनतन्त्र लागू भएको अवधिमा देशका जनताहरू त्यस शासनतन्त्रलाई जबरजस्ती समर्थन गर्न बाध्य थिए र देशको सत्ता आफ्नो नियन्त्रणमा लिएका सर्वोच्च व्यक्तिहरू आफ्ना चारैतिर प्रशंसा मात्र गरेर चाकरी बजाउने भारदारहरूद्वारा घेरिएर बसेका थिए ('प्रशंसा’ कथा) । शासनतन्त्रका विरोधीहरूको आवाज ती सर्वोच्च व्यक्तिको कानमा पुग्नै नदिई झुट्टो प्रशंसाका आवाजहरू मात्र पुग्न दिई सधैं भ्रममा पारिरहने ती भारदारहरूको कार्ययोजना र उद्देश्यलाई यस कथामा यसरी भनिएको छ :

एक दिन एक जना बुद्धिजीवी भनौं त्यो कोठाको सम्पूर्ण ऐश्वर्य हेर्न र जान्न खोज्ने व्यक्ति मुटुलाई दरिलो बनाएर निर्भय भएर कुनै पनि उपायले त्यस कोठाभित्र प्रवेश गरे । त्यो व्यक्ति मृत्युलाई हत्केलामा राखेर गएको थियो। त्यो ठुलो कोठाको छेउमा बाक्लो पर्दा टाँगिएको थियो । त्यहीँ बसेर त्यो मान्छेले कोठाका हरेक वस्तुहरू निरीक्षण गर्न थाल्यो । त्यस कोठामा चोर तरिकाले पस्ने व्यक्तिलाई मृत्युदण्ड हुने गर्छ भन्ने कुरा त्यो व्यक्तिलाई थाहा थियो ।
अचानक राजा र त्यो व्यक्तिको आँखा जुधे । व्यक्तिले पर्दा खोलेर भित्र हेर्ने प्रयास गरे । राजाको गर्जना सिंहको जस्तो भयानक भयो ।
राजाले क्रुद्ध भएर भने – तैंले यो कोठामा आउने कसरी दुस्साहस गरिस् ?
राजाको भयानक गर्जना सुनेर त्यो व्यक्ति अत्यन्त भयभीत भयो। अब भने उसलाई विश्वास भयो उसलाई अवश्य मृत्युदण्ड हुने छ । तत्काल उसलाई एउटा विचार आयो । उसले चिच्च्याईचिच्च्याई राजाको प्रशंसा गाउन थाल्यो । गुनगानको वर्षा गर्न थाल्यो ।
“हजुर सम्पूर्ण जनताका रक्षक देवता ! म यो कोठामा हजुरको रक्षा गर्न आएको“ इत्यादि ।
प्रशंसा र गुनगान सुन्दासुन्दा राजाको रिस हिउँझै ठण्डा भयो र राजा खुसीले मक्ख भए ।
राजाले भने – तँसँग म खुसी भएँ । तँलाई ज्यान सजाय हुने छैन । माफ भयो ।
राजाको यो हुकुम सुनेर भित्र बसेर सुनिरहेकी राजाकी छोरीले चिच्च्याउँदै भनी – “बुवा, हजुरले यो मान्छेलाई किन माफी दिइबक्सेको ? यसलाई त मृत्युदण्ड नै दिनुपर्छ ।”
“छोरी ! यसले मेरो गर्नुसम्म प्रशंसा गर्यो । आफ्नो प्रशंसा गर्ने मान्छेलाई माफी दिनुपर्छ“ राजाले भने ।

नेपालको राजनीतिक इतिहासको कुनै कालखण्डमा एकदलीय शासनतन्त्रको प्रशंसा गर्ने व्यक्तिहरूले मौकाको फाइदा उठाएको कुरो सत्य हो । तसर्थ कथाकार भागीरथी श्रेष्ठले आफ्नो यस कथामा त्यसै सत्यलाई लक्षित वा सङ्केत गरी एउटा मिठो अन्योक्ति प्रस्तुत गरेकी छिन् । यसै सन्दर्भमा उनले 'अधिकार’ शीर्षकको कथामा एकदलीय व्यवस्थामा शासन सत्ता आफ्नो नियन्त्रणमा राख्ने सर्वोच्च व्यक्ति निरङ्कुश भई आफूले मात्र सम्पूर्ण अधिकार लिएको र जनतालाई सबै अधिकारहरूबाट वञ्चित गरेको यथार्थलाई यसरी अर्को अन्योक्तिद्वारा स्पष्ट पारेकी छिन् :

“आमा ! त्यति साँचो त नोकरलाई नै दिएर पठाइदिनुभए हुन्थ्यो, भर्खर जानुभएको किन छिट्टै फर्कनुभएको होला ?’’

सासू अट्टहासले हाँसी र तुरुन्तै कठोर भइन् ।

“यो मेरो अधिकारको कुरा हो । यो घरको सम्पूर्ण व्यवस्था मेरो निर्देशनअनुसार चल्छ र चल्ने छ । म बाँचुन्जेल एउटा सानो सिसी खोल्ने अधिकार पनि दिन्नँ न त साँचो नै कसैलाई दिने छु ।’’

सासूको जवाफ सुनेर आरती निरुत्तर भइन् । त्यो जबाफ कतिसम्म ठिक हो वा बेठिक उनले निर्णय गर्न त सकिनन् तर आफूलाई भने दुवै खुट्टा भाँचेर खाडलमा कसैले हुत्याइदिएको अनुभव भने उनले गरिन् ।

घरमा आफ्नो मात्र एकाधिकार कायम राख्न चाहने सासू र घरमा आएका पाहुनालाई केही खुवाएर आदर–सत्कार गर्ने इच्छा गरेकी बुहारीले भान्साकोठामा लगाइएको ताला देखेर आफ्नो इच्छा पूरा गर्न नसकेकी अधिकारविहीन अवस्थाको प्रसङ्ग दिएर कथाकार भागीरथी श्रेठले तथाकथित प्रजातान्त्रिक व्यवस्थाका रूपमा देशमा लागू एकतन्त्रीय व्यवस्थाभित्रको निरङ्कुशतन्त्रलाई उदाङ्गो पार्न खोजेकी हुन् । यसै क्रममा उनले के कुरो पनि देखाउन खोजेकी छिन् भने त्यस व्यवस्थाभित्र स्वेच्छाचारी बनेका ती सर्वोच्च व्यक्ति आफ्ना वरिपरि चारैतिरबाट स्वार्थी, पद र सत्तालोलुप तथा षड्यन्त्रकारी सल्लाहकार र भारादारहरूको बलियो सिक्रीको घेराबन्दीमा परेका थिए जसका कारणले देशमा व्यवस्था विरोधी आवाजहरू आउन थालेका थिए ('सिक्री’ कथा)। उनी के भन्दछिन् भने देशमा एकदलीय शासनतन्त्र चलिरहँदा केही यस्ता छट्टु र चलखेल गर्न अत्यन्त सिपालु स्यालहरूको जगजगी थियो जसले शासन र शासितबिच ठुलो अन्तराल सिर्जना गरिदिए ('जाल’ कथा)। उनका दृष्टिमा देशको राजनीतिक दृश्यावलीमा देखिएको यस्तो अन्तराल त्यस एकदलीय व्यवस्थाको अन्त्यको कारक तङ्खव बन्यो ('नयाँ घर’ र 'बिउ’ कथाहरू)। यस कुरालाई उनले 'हाम्रा निर्धन हिमालहरू’ भन्ने लघुकथामा यसरी कवितात्मक शैलीमा भनेकी छिन् :

सोचेँ यी स्वाभिमानी र शक्तिशाली हिमालहरूको छत्रछायामा सजिलै तिमी हुर्कने छौ र उज्यालोलाई छाम्ने छौ । आकाशमा स्वतन्त्र विचरण गर्ने छौ । रातका विस्फोटनहरू र जिन्दगीको त्रासदी–सुरुङभित्र सुरक्षित रहने छौ ।

तर दुर्भाग्य ! हिमालहरूले आकाशलाई ह्रास बनाउन चाहे, हिमालहरूले आकाशलाई मुठीमा बन्द गर्न खोजे । हिमालहरूले आफ्नो स्वार्थका अँध्यारा खाडलहरू देखाए। हिमालहरूले यो धरतीको माटो कोट्याएर एकअर्कालाई हिर्काउन खोजे । हिमालहरूले धरतीका हाँगाहरू र रुखहरू काटेर एकअर्कालाई हान्न थाले। हिमालयहरू निकृष्टताको नालीभित्र पसे । हिमालहरूले आफ्ना सगौरव र बलिष्ठ विगतका पाइलाहरू बिर्से । हिमालहरूले क्षितिजबाट आकाश छोइन्छ भन्ने घोषणा गरे । हिमालहरूले आफ्ना त्याग र बलिदानमा शृङ्खलाहरू लडे । आफूभित्रका थुप्रै खजानाहरू रित्याए ।

अफसोस ! हाम्रा आँखाहरू बिझिरहेछन् । हाम्रा मनहरू नराम्ररी दुखिरहेछन् । हाम्रा पाइलाहरू डगमगाउन थालेका छन् । हाम्रो सपनाका आधारशिलाहरू भत्केका छन् । हाम्रा आस्थाहरू घाइते भएर पहाडको शिखरबाट खस्दै छन् । अब हामी कुन हिमालको छत्रछायालाई स्वीकारौं ? हामी कुन हिमालको हांगामा उभियौं । किनभने मैले सम्झेका सम्पूर्ण हिमालहरू मात्र कागजका चङ्गा रहेछन् मात्र कागजका …।

यहाँ प्रसङ्गमा ल्याइएका हिमालहरू भनेकै तात्कालिक एकदलीय शासन व्यवस्थाले उत्पन्न गराएका अनेकौं विकृति, विसङ्गति र दुर्नियतिहरू हुन् । यस शासन व्यवस्थाका अभियन्ताहरू कुर्सीका मात्र भोका भए ('अन्धो’ कथा), देश र जनतालाई धोका दिई आफू मात्र मोजमस्ती गर्न प्रवृत्त भए ('महत्वाकाङ्क्षी ठुलो दाजु’ कथा) र आफ्नो मूल दायित्व र कर्तव्यबाट च्युत भए ('नाइकेको बाचा’ कथा)। कथाकार भागीरथी श्रेष्ठले 'नाइकेको बाचा’ कथामा चर्चा गरेकी घरभित्रको दुर्गन्ध वास्तवमा त्यही एकदलीय शासन व्यवस्थाभित्र सिर्जित 'राजनीतिक दुर्गन्ध’ नै हो । उनले 'महत्वाकाङ्क्षी ठुलो दाजु’ कथामा पनि यस्तै 'राजनीतिक दुर्गन्ध’ मा फोहोर र अस्तव्यस्तताबारे प्रसङ्ग निकालेकी छिन् :

अन्त्यमा सल्लाह गरेर दुवैले आ–आफ्नो बाटो त्यागेर एउटै बाटो अपनाए । एउटै शक्तिशाली तात्तातो फलामे ढिक्का भएर विरोधको नारा लगाउँदै ती अघि सरे । जेठा तर्सिए । पहिले त उनीहरूलाई तितरबितर गर्न खोजे तर असमर्थ भए। उनीहरूले प्रतीक्षा गरेका थिए जबसम्म उनीहरूले पाउने कोठाहरू प्राप्त गर्न सक्दैनन्, तबसम्म उनीहरूको आवाज र यात्रा जारी नै रहने छ ।

जेठा आफ्नो शक्ति र बलमा टिक्न सकेनन्, आफैले केही भाग लिएर अरू सम्पूर्ण कोठाहरूमा लगाएका तालाहरू खोलिदिए ।

दुवै भाइहरू ती कोठाहरूको संयुक्त मालिक भए । तर कोठाहरू फोहोर थिए – जताततै भत्किएका, भित्ताहरू कोरिएका, बहुमूल्य किल्लाहरू उखेलिएका, दलिनहरू भाँच्चिन लागेका, रित्ता कोठाहरू, सब कोठाहरू मर्मत गर्नुपर्ने, उखेलिएका किल्लाहरू ठोक्नुपर्ने र त्यहाँ अनेकौं कार्यहरू थालनी गर्नु आवश्यक थियो ।

यसै राजनीतिक फोहोर र अस्तव्यस्तताले देशमा आन्दोलनरूपी नदीको अस्मेल मेल अनिवार्य भएको कुरो कथाकार भागीरथी श्रेष्ठले  'यी नदीहरू’ कथामा प्रस्तुत गरेकी छन् । यसै सन्दर्भमा उनले एकदलीय व्यवस्थापछि पनि देश अन्योलमा परेको कुरोलाई 'घर’ कथामा बताएकी छिन् । उनी राजनीतिक विकृतिले झन् व्यापकता पाएको देख्दछिन्, किनभने देश राजनीतिकरणको रङमा रङ्गिएर पराकाष्ठामा पुगेकोमा उनलाई चित्त बुझ्दैन । प्रत्येकले दलविशेषको झन्डा बोकेर मात्र आफ्नो निजी स्वार्थ पूरा गर्न सकेको स्थितिलाई सङ्केत गर्दै 'रङ्गीन पोखरी’ कथामा उनी लेख्दछिन् :

अन्त्यमा हार खाएर उसले सोच्यो रङ्गहीन भएर यो समाजमा बाँच्न गाह्रो रहेछ । अनेक पोखरीको रङ्गको छिटा खाएर बिनसितै बदनामी हुनुभन्दा कुनै एउटा रङ्गको पोखरीमा डुबुल्की मार्नु राम्रो। चाहे त्यो रङ्ग निर्मम, बीभत्स र विकृतिले भरिएको नै होस् । विकृतपूर्ण रूप लिएर बाँच्नु नै आजको जीवनशैली हो। नत्रभने उसले कुनै ओत पाउने छैन । अनि उसले थुप्रै पाखेरीहरूमध्ये एउटा रङ्गीन पोखरी रोजेर हामफाल्यो ।

यसरी कथाकार भागीरथी श्रेष्ठले समसामयिक राष्ट्रिय परिवेश अत्यन्त भयावह हुँदै गएको समसामयिक सत्यलाई आख्यानीकरण गरेकी छिन् । यसै सन्दर्भमा उनले देशमा विदेशी प्रभाव (Hazimony) बढ्दै गएकोमा त्यसको विरोध पनि गरेकी छिन् ('पराई गन्ध’ कथा)। यसको अर्थ के हो भने उनले आफूभित्रको युगीन चेतनालाई सशक्त रूपमा आफ्ना लघुकथाहरूका प्रत्यक्ष शैलीमा होइन अन्योक्तिका आधारबाट व्यक्त गरेकी छिन् ।

भागीरथी श्रेष्ठका कथामा सिर्जनशील मानवीय चेतनाका सुन्दर उदाहरणहरू पाइन्छन् । उनले आफ्नो 'जीवनको मूल्य’ शीर्षकको लघुकथामा लेखेकी छिन्, “जीवनलाई आन्तरिक सूर्यको प्रकाशले छोप्नुपर्छ, चेतनाको लहरले सङ्गीतबद्ध गर्नुपर्छ, अस्तित्वको गहिरो अनुभूति हुनुपर्दछ …’’ (पृ. ३३)। यही मान्यतामा टेकेर उनले 'दृष्टिकोण’, 'विवेक’, 'आ–आफ्नो आवश्यकता’, 'नयाँ दुलही’, 'आँगनको नृत्य’ जस्ता कथाहरूमा चेतनशील मानवीय भावानुभूति र संवेदनाहरूलाई व्यक्त गरेकी छिन् । सर्वप्रथम ’विवेक’ कथाको यो पूर्ण पाठ हेरौं :

रातभरि भदौरे झरी दर्किरहेको थियो । बाटाहरू हिलाम्य थिए । राधिका बिहानै बिउँझी । उसलाई पँधेरामा पानी लिन जानु थियो । आमा बिरामी भएकीले बिहानको मिठा निद्रा छोडेर सानो गाग्री बोकेर पँधेरामा गई । पँधेरामा जाँदा मकै बारीको डिल–डिल भएर जानुपर्दथ्यो । दर्के पानीले थुप्रै मकैका बोटहरू सोत्र्याम पारेका थिए । सोत्र्याम परेका मकैका बोटहरू देखेर राधिका चिन्तित भई । नरमाइलो लाग्यो उसलाई । उसले सोची यी बोटहरूमा मकै फल्ने छैनन् । हरे ! कति धेरै मकैका बोटहरू मुर्दा जस्तै पल्टेका छन् । उसलाई मन लाग्यो ती बोटहरू उठाएर ठड्याइदिऊँ । बिस्तारै उसले ढलेका मकैका बोटहरू छामी । कसरी बोटहरूलाई सीधा पारेर उभ्याऊँ ? तत्काल उसले आफ्ना दुई चुल्ठीमा बाटेको रातो रिबन सम्झी र आफ्ना दुवै रिबन फुकालेर जतिसक्दो मकैका बोटहरू उठाएर नढलेका मकैका बोटहरूसँग बाँध्न थाली । थोरै मात्रामा भए पनि मकैका बोटहरू ठड्याउन पाउँदा राधिका प्रसन्न भई र खुसीले उफ्रीउफ्री पँधेरामा गई ।

अँध्यारोबाट उज्यालोतिर उन्मुख हुने सकारात्मक सन्देशको सुन्दर नमुना यस कथामा पाइन्छ । कथाकार भगीरथी श्रेष्ठ जीवन–मूल्यको सन्धानमा आफूभित्रको सौन्दर्य चेतनालाई अभिव्यक्त गर्दछिन् । त्यसैले कुरूपताभित्रको अन्तरङ्ग सौन्दर्य देख्ने एक युवकले एउटी अत्यन्त कुरूप केटीलाई आत्मीय रूपमा प्रेम गर्नु स्वाभाविकै हो ('दृष्टिकोण’ कथा)। त्यस्तै अस्तव्यस्त र भताभुङ्ग भएको घरलाई आफ्नो सम्झेर नयाँ दुलहीले व्यवस्थित तुल्याउने प्रयास गर्नु पनि स्वाभाविक नै हो ('नयाँ दुलही’ कथा)। यति मात्र नभएर नित्य गाउने गरिएका गीत–सङ्गीतहरूमा कमी–कमजोरी पत्ता लगाई तिनमा क्रमिक सुधार गर्दै लैजाने सकारात्मक सोच परिवारका जिम्मेवार व्यक्तिहरूमा आउनु झन् अस्वाभाविक कुरो होइन (ॅआँगनको नृत्य’ कथा) । उनका दृष्टिमा मान्छे–मान्छेबिचको सौहार्दता वा आत्मीयताले सकारात्मक सोचलाई जन्म दिन्छ । आ–आफ्नो आवश्यकता कथाको यो पूर्ण पाठ हेरौं :

तीन दिनदेखि भोकले लखतरान भएर लालबहादुर सडकमा रन्थनाउँदै हिँडिरहेको थियो; यसकारणले कि उसले काम पाएको थिएन । हिँड्दाहिँड्दै एउटा ठुलो घरको पेटीमा एउटा पुरानो कपडा झरेको उसले देख्यो । कपडा लिएर ओर्काईफर्काई हेर्‍यो र सोच्यो – यति ठुलो कपडा ओढ्न भइहाल्छ नि ! उसले कपडा गुटमुट्यायो । एउटा बुढो, जसले एउटा कट्टु मात्र लगाएको थियो, काँप्दै सडकको छेउबाट आउँदै गरेको लालबहादुरले देख्यो । उसको हातमा खानेकुरा भएको पोलिथिन व्याग थियो, जसलाई लोभी आँखाले लालबहादुरले हेर्‍यो । बुढोले पनि त्यो कपडालाई हेर्न थाल्यो ।

बुढोले भन्यो– “ए भाइ ! मलाई जाडो भइरहेछ । तिमीले लुगा लगाएका रहेछौ । तिमीले समातेको कपडा देऊ म जाडो छेक्छु । तिमीलाई भोक लागेको जस्तो छ । दोबाटोमा ठुलो टपरीमा खानेकुरा राखेर फालेको रहेछ, त्यही टिपेर ल्याएको छु । तिमी खाऊ र भोक मेट।’’ लालबहादुरको आँखामा खुसी व्याप्त भयो । उसले बुढोलाई कपडा दियो । बुढोले तुरुन्तै ओढेर आफ्नो जाडो छेक्यो । लालबहादुरले तरकारी चिउरा खाएर आफ्नो भोक तृप्त गर्‍यो ।

परस्परको समझदारी र सम्झौताबाट नै मानवीय चेतना जागृत हुने विचार यस कथामा व्यक्त गरिएको छ । यसरी समग्रमा कथाकार भागीरथी श्रेष्ठले मान्छेभित्रको मानवतामा निहित शक्ति र श्रेष्ठतालाई सुन्दर आख्यान बनाएकी छिन् ।

भागीरथी श्रेष्ठको आख्यानकारिताको अर्को महङ्खवपूर्ण क्षेत्र हो मान्छेभित्रको संस्कार वा मनोवृत्ति उद्घाटन गर्नु । उनका 'खटिरा’, 'हाकिमको भित्री खल्ती’, 'रावण’, 'विवेकहीन’, 'दुस्साहस’, 'संस्कार’, 'मन्दिर’, 'शोषण’ आदि यस्ता लघुकथाहरू हुन् जसमा उनले धनाढ्य व्यक्ति, कार्यालयका हाकिम र कर्मचारीहरू, घरमालिक, शक्तिसम्पन्न व्यक्ति र सामान्य मानिसहरूका संस्कार र मनोवृत्तिको चिरफार गरेकी छिन् । यसको अर्थ के हो भने उनी समाजमा विद्यमान वर्गीय विभेद, शोषण, भ्रष्टाचार, दुराचार, स्वार्थपूर्ण व्यवहार, अभिमान, दम्भ आदि जस्ता मानवीय विकृति र विसङ्गतिहरूको विरोध गर्दछिन् । उनको ’विवकेहीन’ कथामा मान्छेभित्रको कुसंस्कार र गलत मनोवृत्तिको चित्रण यसरी गरिएको छ :

एक दिन जाडो खप्न नसकेर डल्ले जली सुत्ने ठाउँमा लुसुक्क सुत्न गयो जहाँ गएर सुत्न डल्लेलाई मनाही थियो । जलीको न्यानो रौंको स्पर्श पाएर ऊ सानो बिछ्यौनामा एक डल्लो भएर रातभरि न्यानोसँग सुत्न पायो । बिहान चाँडै उठ्न सकेन । साहु कोठाबाट बाहिर निस्कँदा आफ्नो प्यारो जलीसँग डल्ले घुसेर सुतेको देख्दा रिसले आगो भए । साहुले तुरुन्तै लट्ठीले डल्लेलाई पिट्दै उठाएर भने, “हराम ! तँलाई थाहा छैन जली मेरो काखमा बस्छ भन्ने ? तेरो लुगाको फोहर लागेको जलीलाई म कसरी काखमा राखूँ ? जा, तुरुन्तै पानी तताएर जलीलाई राम्ररी नुहाइदे । अबदेखि जलीसँग सुतेको देखें भने तँलाई लास बनाइदिने छु ।’’

डल्ले डरले थर्र काँप्यो र तुरन्तै पानी तताएर जलीलाई राम्ररी नुहाइदियो । अनि साहुले जलीलाई हिटरको अगाडि राखेर न्यायो पार्दै रुमालले उसको भिजेको शरीरलाई पुछ्न थाल्यो । ढोकाबाट डल्लेले भने अनौठो र ईर्ष्यापूर्ण आँखाले हेरिरह्यो ।

यस कथामा मान्छेको खराब वा दुराग्रहपूर्ण मनोवृत्ति र सामाजिक कुसंस्कारप्रति मिठो व्यङ्ग्य गरिएको छ । मान्छेले आफू जस्तै अर्को मान्छे र घरपालुवा कुकरप्रति गर्ने गरेको विभेद मात्र होइन, मान्छेभित्र विद्यमान बर्बर वा पाशविक प्रवृत्तिप्रति पनि व्यङ्ग्य गर्ने काम यस कथामा भएको छ । यसरी भागीरथी श्रेष्ठले आफ्ना कतिपय कथाहरूमा मान्छेभित्रको निकुष्ट स्वभाव, पक्षपातपूर्ण आचरण र अमानवीय सोच उद्घाटन गर्ने काम गरेकी छिन् ।

अन्योक्ति नै भागीरथी श्रेष्ठको कथाकारिताको सबैभन्दा बलियो हतियार हो । लघुकथाकी हस्ती भएर पनि उनले कविता सिर्जनाप्रतिको मोहलाई त्याग्न नसक्दा उनका 'जीवनको मूल्य’, 'हाम्रा निर्धन हिमालहरू’, 'सर्पको विष’ र 'आगो’ गद्यमा कविता (Poem in Prose) भएका छन् । कवितात्मक संस्पर्श त उनका अन्य लघुकथाहरूको शैली नै भइदिएको छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने भागीरथी श्रेष्ठ आफू बाँचेको समयका युगीन सन्दर्भहरू लिपिबद्ध गर्न प्रतिबद्ध लघुकथाकी हस्ती हुन् । उनी आफू नारी हुनुको सिर्जनात्मक संवेदनालाई व्यक्त गर्न सफल भएकी छिन् । उनले समाजभित्रका गम्भीर विकृति र विसङ्गतिको अन्तर्निरीक्षण गरेर तिनको विरोधमा बोलेकी पनि छिन् ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment