हामी नारा घन्काइरहेका थियौँ, “भ्रष्टाचार बन्द गर । सुशासन कायम गर ! जेनजी एकता जिन्दाबाद ! जिन्दाबाद !!”
हामी धेरै थियौँ । माग थोरै थिए । हाम्रो एउटै सपना थियो, समृद्ध नेपाल । त्यसका लागि भ्रष्टाचार अन्त्य हुनु आवश्यक थियो । हामी हाम्रो सपना साकार पार्न लडिरहेका थियौँ । हामीले नारा घन्काइरह्यौँ ।
मैले विकेशलाई सावधान गराएँ, “ती फोहोरी नारा हाम्रा होइनन् । हाम्रा नारा मात्र घन्काऔँ ।”
“हो त नि यार ।” विकेशले भन्यो ।
अनि उसले सुकेशाका कानमा भन्यो, “फोहोरी नारा हाम्रा होइनन् । बुझिस् ?”
सुकेशाले टाउको हल्लाई । टाउको हल्लिँदा उसको माथि बाँधेको कपालले जेनजी जिन्दाबाद भने जस्तो देखियो ।
हाम्रो आन्दोलनमा हामी भन्दा अरूको भिडभाड बढी हँुदै गयो । हामी अल्पमतमा परेजस्ता भयौँ ।
विकेशले मलाई कानमा भन्यो, “यहाँ बड्डा र सुड्डाहरू पो बढी देखिए ।”
हामी अगाडि बढ्दै थियौँ । प्रहरीले रोकिरहेको थियो, तर जेनजी बाढीका अगाडि प्रहरी साक्षी मात्र भयो । विकेशले उफ्रिएर झुलुक्क अगाडिको दृश्य हेर्न खोज्यो । मैले सेल्फी स्टिकमा मोबाइल फिट गरेर हेरेँ । भिड त एउटा ठुलै सुपर मार्केटमा झम्टिएको दृश्य देखियो । म, विकेश र सुकेशा भिड चिर्दै अगाडि बढ्यौँ । भिड छिचोल्न बडो कठिन थियो ।
विकेश चिच्यायो, “भएन भएन । हामी लुट्न आएका होइनौँ । केही समान नछुनु, नलानु ।”
उसको आवाज कसैले सुनेन ।
मैले भनेँ, “विकेश, फटाफट फोटा खिच् । म भिडियो लाइभ गरिरहेको छु । सुकेशा, तँ भिडियो बना ।”
सुकेशा भन्दै थिई, “जेनजीलाई अघि लगाएर लुट्न आएका चोर, चोर्नीहरू । कोही पनि यस्तो काममा अगाडि नबढोस् ।”
गाँजाका भोकाहरूझैँ सामान लुटेर लगिरहेका धेरै फोटाहरू कैद भइसकेका थिए ।
एक्कासि नाकमा ह्वास्स पेट्रोलको गन्ध पस्यो । बिजुलीचम्के झैँ झिलिक्क आगाको लप्को अनि कालो धुवाँको मुस्लो देखियो ।
हामीले एकआपसमा पुर्पुरो ठोक्यौँ । हामी अकस्मात् त्यहीँ थचक्क बस्यौँ । भिडले हामीलाई थिचेर थेबे बनाइदियो ।
– भैरहवा


No comments:
Post a Comment