Tuesday, November 25, 2025

अन्तर्वार्ता (अङ्क २९ मा प्रकाशित)



 शेखर सर, प्रश्नको उठान यसरी गरौँ – तपाईँको बाल्यकाल र प्रेरणाको स्रोत बताइदिनु न ?

शेखर : सर्वप्रथम नमस्कार ! दीपक सर ! लघुकथा अनलाइन पत्रिकाका लागि तपाईँले मेरो विचार लिन लाग्नुभएकोमा तपाईँलाई धन्यवाद छ । मेरो जन्म दक्षिणकाली नगरपालिका वडा नम्बर ३ सोखेल, फर्पिङमा भएको हो । मेरा पिता नारायणबहादुर श्रेष्ठ र माताको नाम लक्ष्मी श्रेष्ठ हो । म २०३१ साल माघ २९ गते जन्मेको हुँ । म ग्रामीण परिवेशमा जन्मेको हुँ । म घरको जेठो छोरो हुँ । बुबाआमा दुवै जना सामान्य लेखपढ गरेको हुनुहुन्छ । मैले सामान्य कखरा घरमा नै आमाबाट सिक्ने सौभाग्य पाएँ । मैले सुरुमा गणेश प्राथमिक विद्यालय भन्ज्याङमा पढेँ । त्यसपछि म मेरो मामाघरको हजुरआमासँग पोखरा पुगेँ र केही समय त्यही पढेँ । त्यसपछि कक्षा पाँचदेखि कक्षा १२ सम्म अरुणोदय माध्यमिक विद्यालयमा पढेँ । स्कूल जीवनमा पाठ्यपुस्तकमा भएका कविता र कथा पढिसकेपछि कथा कविता लेख्न रुचि लाग्थ्यो तर कसरी लेख्ने थाहा थिएन । बुबाले सुत्ने बेलामा लोककथा सुनाउनुहुन्थ्यो । त्यसबाट म प्रभावित थिएँ । बुबाले सुनाउनुभएका लोककथा कापीमा लेख्न थालँे । यस कारण यो नै लेखनको जग होला । त्यस समयमा अहिले जस्तो विद्यालयमा अतिरिक्त क्रियाकलाप हुँदैनथ्यो । गुरुहरू कसैले पनि पढाउनेभन्दा बाहेक लेखनका लागि प्रेरणा दिनुभएको सम्झना छैन । एसएलसी सकिसकेपछि जीवनमा केही गर्नुपर्छ भन्ने धारणा विकास भयो । त्यस समयमा मधुपर्क र युवामञ्च जस्ता पत्रिका गाउँमा लेराएर पढ्ने वातावरण मिलाउन हामी साथीहरू मिलेर बुद्धि विनायक युवा क्लब खोल्यौँ । त्यस क्लबमा युवामञ्च र मधुपर्क मासिक रूपमा किनेर ल्याइन्थ्यो । त्यो पत्रिका पढ्दै जाँदा साहित्य सिर्जना गर्नुपर्छ भन्ने भाव जाग्यो । यसैबिच एमनेस्टी इन्टरनेसनल नेपालले २०५८ सालमा लघुकथा प्रतियोगिता आयोजना गरेको सूचना गोरखापत्रमा देखेँ । त्यस समय एउटा शेखरकुमार श्रेष्ठ नाममा घरको ठेगाना राखेर र अर्को सुरज श्रेष्ठ नाममा नैखन्डी ठेगाना राखेर लघुकथा लेखी पठाएँ । प्रतियोगितामा पुरस्कृत नभए पनि मेरा दुई लघुकथाहरू कृष्ण कँडेलद्वारा सम्पादित “संवेदन स्वरहरू” लघुकथासङ्ग्रहमा छापिएका थिए । यसरी छापिनु मेरा लागि प्रेरणाको स्रोत बन्यो । यसप्रकार मेरो साहित्यिक प्रेरणा पाठ्यपुस्तक, घरमा सुनाइने लोककथा, विद्यालयमा गुरुहरूले पढाउँदा भन्नुभएका कथाकविता तथा पत्रिकामा छापिएको लघुकथालाई मान्नुपर्छ ।


तपाईँ साहित्य लेखन, साहित्यिक सङ्गठन र साहित्यिक कृति सम्पादनमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दा रहेछन् ?

शेखर :  म त मैले गरेको कामको मूल्याङ्कन कसले पो गरेको होला भन्ने बेलाबेलामा ठान्थेँ । तर तपाईँले नजिकबाट नियालिरहनुभएको रहेछ । त्यसैका कारण तपाईँले मलाई यो प्रश्न गर्नुभएको भन्ने बोध भएको छ । कुनै पनि मानिस एउटा मात्र कार्यक्षेत्रमा रहेको म देख्दिनँ, दीपक सर ! आफू बाँच्न र परिवार चलाउन अर्थोपार्जन वा पेसासम्बन्धी एक काम गरे पनि अर्को अर्थ दरिलो बनाउन होस् वा शरीर, मनमस्तिष्क राम्रो बनाउन होस्‌; केही न केही अन्य काम गरेकै हुन्छन् । यस सन्दर्भमा मैले चाहिँ पैसाकै खोज गरिनँ । यी तीनओटै कामलाई एकै पटक राखेरभन्दा मैले बिदाको बेलामा घुम्न जाने, साथीहरूसँग भेटघाट गरी रमाइलो गर्ने, मनोरञ्जन गर्ने, वनभोज वा यात्रा भ्रमण जाने, आफन्त वा नातागोता कहाँ गएर भेटघाट गर्ने र घरमा अतिथि आगमन हुँदा समय दिने जस्ता पक्षलाई छाडेको छु । यतिसम्म कि कतिपय साहित्यिक कार्यक्रमसमेत छाडेको छु । यसका साथै कतिपय बेला त आधा घण्टाका समय मात्र बिचमा बचे पनि कम्प्युटर खोलेर सम्पादनको काम गरेको छु । यसका साथै रातको निद्रासमेत कटौती गरेको छु । 

साहित्य सिर्जना निरन्तर हुने कार्य होइन । घटनाले मनलाई घचघच्याएपछि मस्तिष्क एकाग्र बन्न पुग्छ । त्यस समय लेखिने हो । सम्पादन गर्दा कृति वा रचनासँग आफूलाई जोडेर तारतम्य मिलाउने प्रयास गर्ने हो । यसका लागि सिर्जनामा जस्तो हृदयको भाव नभई मस्तिष्क सक्रिय हुन्छ । यी सबै काम गर्ने प्रयास गर्दा तपाईँहरूको माया र साथ पाएको छु । सधैँ व्यस्त हुन्छ, हामीलाई समय हुँदैन भन्ने आफन्तको पनि सहयोग निरन्तर पाएको छु । आज यो सम्पादनको कार्य तपाईँ र तपाईँ जस्ता पुस्तकप्रेमीको प्रोत्साहनबाट गर्न सकेको हुँ । प्रोत्साहन पाएको खण्डमा भोक, निद्रा र प्यास नहुँदो रहेछ । पैसा कमाउने चाहना पनि घट्दो रहेछ । परिवारलाई पनि बलजफ्ती सम्झाइँदो रहेछ । सबैको समय चोरेर सम्पादन गर्ने काममा लागिँदो रहेछ । संस्थाको कुरो गर्दा सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्रसँग म स्थापना कालदेखि नै आबद्ध छु ।


यसरी साहित्यिक कृति रचना गर्दा, सम्पादन गर्दा र संस्थामा लाग्दा आर्थिक रूपमा बेफाइदा छ । परिवार, साथीभाइ एवम् नातेदारलाई समय दिन नसक्दा बेफाइदा छ तर आत्मसन्तुष्टि चाहिँ मिलेको छ । यसलाई मैले फाइदाको रूपमा लिएको छु ।


तपाईँ हाम्रो लघुकथा केन्द्रसँग स्थापनाकालदेखि नै सम्बन्धित रहेर लघुकथा लेख्न स्रष्टाहरूलाई उत्प्रेरित गरिरहनुभएको छ  । आम साहित्यानुरागीहरूलाई बताइदिनुहोस् – लघुकथा के हो ? र यसका भेदहरू के के हुन् ?

शेखर :  तपाईँले मलाई पनि केन्द्रसँग जोडेर लघुकथा लेख्ने स्रष्टालाई प्रेरित गरिरहनुभएको कुरा गर्दा पुलकित भएको छु । आजसम्म मैले गर्दा लघुकथा लेखेँ वा लघुकथा परिमार्जन गरेँ भन्ने स्रष्टा चाहिँ भेटेको छैन । थाहा छैन, तपाईँले कसरी भनिरहनुभएको छ । मेरो विचारमा जीवन जगत्‌मा घटेका वा घट्न सक्ने विविध घटना वा चरित्रमध्ये कुनै खास एक घटनाले उब्जाएको घटनाको परिणामलाई सीमित आयामका साथ कारण र कार्यको शृङ्खलामा उनेर गद्यभाषामा लेखिएको आख्यानभित्र पर्ने कथाको रूप लघुकथा हो । यसका भेदका बारेमा कुरा गर्दा लघुकथाको भेद नभई शैलीगत फरक छ । प्रकारका बारेमा भन्नुहन्छ भने कथाकै रूपमा विकास भएकाले कथालाई जे जस्ता आधार (उदाहरणका लागि विषय, धारा आदि)मा विभाजन गरिएका छन्, यिनको पनि तिनै प्रकार छन् ।


साहित्य गतिशील र परिवर्तनशील हुन्छ । लघुकथा चाहिँ गतिशील र परिवर्तनशील हुनुपर्छ कि पर्दैन?

शेखर : समय सान्दर्भिक प्रश्नका लागि धन्यवाद दीपक सर ! तपाईँ साहित्यको अध्येता हुनुहुन्छ । अर्को अर्थ नलागेमा मैले भन्दा धेरै कृति तपाईँले पढ्नुभएको छ । लघुकथामा पनि मेरो तुलनामा तपाईँको अध्ययन विशिष्ट छ । यस प्रसङ्गमा स्वान्त सुखायको अभिप्रायले लेखेको हुँ भन्ने साहित्यकार पनि यहाँ हुनुहुन्छ । उहाँहरूले पनि मलाई लाग्छ कहीँ न कहीँबाट धेरथोर केही आफूले लेख्ने विधा वा उपविधामा जानकारी लिएकै हुनुहुन्छ । तथापि मलाई चाहिँ के लाग्छ भन्दा साहित्यमा कलम चलाउनेहरूले सुरुमा होला कि नहोला थाहा छैन। लेखन अगाडि बढाउँदै जाँदा विधागत रुचि अनुसार साहित्यिक कृति वा रचना अध्ययन गर्नुभएको अवश्य हुन्छ । यसरी अध्ययन गर्ने क्रममा साहित्यको विकासमा प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालको प्रतिनिधित्व रचना पनि पढेको हुनुपर्छ वा पढ्नु नै पर्छ । त्यति मात्र नभई आधुनिक कालमा पनि विभिन्न चरणमा साहित्यिक धार फरक ढङ्गले विकास भएको कुरा पढ्नुहुन्छ । मेरो यस भनाइबाट तपाईँ प्रस्ट हुनुभयो होला । साहित्यको विकासमा परिवर्तन नआईकन धारा वा चरण आदिको सुरुवात हुँदैन । यसैलाई लघुकथामा जोड्ने हो भने नेपाली लघुकथाको विकास र विस्तारमा पनि नयाँ नयाँ कुराहरू प्रयोग हुन सक्छन्  र हुनुपर्छ । यसरी विकास गर्ने क्रममा लेखन स्वतन्त्रता हुन्छ र हुनुपर्छ । मैले यसो भन्दै गर्दा लघुकथा लेखन गर्ने स्रष्टाले लघुकथा लेखन गर्दा विधामिश्रण वा विधाभञ्जन गर्न पाउनुहुन्छ तर लघुकथाका नाममा अन्य साहित्यको विधा भने लेखन हुन सक्दैन । 

लघुकथा कथाको विकाससँगै अगाडि बढेकाले लघुकथामा गतिशिलता र परिवर्तनको आशा राख्न खोजे पनि आएको छैन । तथापि परिवर्तन स्वीकार गर्नुपर्ने हुन्छ । अझ स्पष्टसँग भनौँ, लघुकथा सिर्जनात्मक विधा हो । नवीन सिर्जना पाच्य हुनुपर्छ । एकोहोरो रटाइमा यन्त्रबाट वस्तु उत्पादन भएको जस्तै समान रूप, रङ र गुण बोकेको खण्डमा सिर्जनात्मक परिवर्तन हुँदैन । त्यसैले लघुकथामा सिर्जनालाई जोड दिने हो भने परिवर्तनलाई स्वीकार गर्नुपर्ने हुन्छ ।


तपाईँ हाम्रो लघुकथा केन्द्रको अध्यक्ष भइसकेपछि संस्थाले थप गति लिनेमा आम लघुकथाकारहरू विश्वस्त छन् । तपाईँको कार्यकालमा यस संस्थाले कस्तो गति र उचाइ लिन्छ होला ?

शेखर : यो समसामयिक प्रश्नका लागि धेरै धन्यवाद सर ! लघुकथाको विकास र संवर्धनका लागि फेसबुकमा धेरै पेज खोलिएका छन् । दर्ता भएर पनि धेरै संस्था चलेका छन् । यसैबिच हाम्रो लघुकथा केन्द्र पनि विधिवत् रूपमा दर्ता भएको संस्था हो । सबै संस्थाले लघुकथाको विकासमा योगदान पुर्याइरहेका छन् । यस बिचमा हाम्रो लघुकथा केन्द्रले पनि लता केसी अध्यक्ष हुँदा लघुकथाको विकासमा काम गरेको थियो । त्यो काम व्यक्तिगत नभई संस्थागत काम हो । यो एक जना व्यक्तिले गरेको नभई सबैबाट भएको हो । अब म अध्यक्ष भएको मतलब तपाईँ हामी सबै अध्यक्ष हो ।  संस्थागत काम भनेको सामूहिक काम हो । यो काम सबै लघुकथाप्रेमी, लघुकथाका स्रष्टाको प्राप्ति हो । यसर्थ सबैको सहयोग र साथ मिलेमा संस्थाले गति लिने छ । व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने संस्थामा व्यक्तिगत हावी हुनुहुँदैन । जति संस्थाका सदस्यहरू छन्, ती सबैले पाठक वा स्रष्टाहरूको मनोभाव बुझेर सदस्यका रूपमा आफ्ना कुरा राख्न सक्नुहुन्छ । त्यस्तै, कार्यसमितिमा जो जो चयन हुनुभएको छ, उहाँहरूले संस्थाका सम्पूर्ण सदस्यहरूको भावना बोक्नुपर्छ र प्रतिनिधि बन्नुपर्छ । यदि सबैको प्रतिनिधि बनेर हातेमालो गर्दै अगाडि बढ्यो भने संस्था सफल बन्ने छ । यसै प्रसङ्गमा तपाईँकै प्रश्नमा केन्द्रित हुँदा केन्द्रमा अर्थको अभाव छ । काम गर्ने नाममा आफू चिनिनका लागि काम गर्ने पक्षमा म छैन । संस्थाका सदस्य, कार्यसमितिका सदस्य सबैको सल्लाह लिएर संस्थागत रूपमा नियमसम्मत काम गर्न म प्रतिबद्ध छु ।


तपाईँ नेपाली साहित्यमा विद्यावारिधि गरेको एक विद्वत् स्रष्टा हुनुहुन्छ । तपाईँको विद्वताले नेपाली लघुकथाहरूमा निरन्तर भइरहेका विभिन्न प्रयोग र शैलीहरूलाई कसरी लिइएको छ ? 

शेखर : साहित्य सिर्जनामा लाग्ने सबैको आआफ्ना कर्तव्य हुन्छन् । विधागत मान्यताका साथै स्वरूपगत मान्यताको परिधिमा रहेर सिर्जनात्मकता, कलात्मकता, लालित्य प्रयोग गर्नु  साहित्य रचनाको मूल मर्म हो । साहित्य लेखन गर्दा विधागत मान्यता स्वीकार गर्नुपर्ने हुन्छ । प्रवृत्ति हामीले परिवर्तन गर्न सक्छाँै । यस परिप्रेक्ष्यमा कथाकै विकासमा देखिएभन्दा भिन्न वा हालसम्म चलिआएको परम्पराभन्दा भिन्न लघुकथा लेख्न आवश्यक छ । अर्थात् लघुकथाभित्र निहित आख्यान विधा विचलन नहुने गरी लेखिएको लघुकथा मान्य हुन्छ । लघुकथामा नयाँ प्रयोगको कुराकानी गर्दा अन्य साहित्यिक विधालाई पनि हेर्न आवश्यक छ । नाटक, कविता, निबन्ध, उपन्यास र कथामा नयाँ नयाँ प्रयोग भएका छन् । त्यसलाई स्वीकार गरिएको छ । त्यसैगरी लघुकथामा पनि नयाँ प्रयोग स्वीकार्य हुन्छ । लघुकथा सृजनात्मक र कलात्मक विधा भएको हुनाले सिर्जनात्मकतामा रूढ हुनुपर्छ भन्ने मान्यता मेरो छैन । वर्तमान समयमा उत्तर लघुकथा लेखिएका छन् । यसलाई म स्वीकार गर्छु । यो नवीन प्रयोग भने होइन । गोपालप्रसाद रिमालको मसान नाटकमा उत्तर भाग लेखिएको छ । तर त्यो नवप्रयोग होइन । त्यसैगरी सूत्रकथाका कुरा आएका छन् । यसको प्रयोग उपन्यास र कथामा पनि भएको छ । यो एउटा प्रयोग हो । भोलि पाठकले पचाउला नपचाउला अर्को ठाउँमा छ । तर सिर्जना विधागत स्वरूपमा छ भने हुँदै भएन भन्न चाहिँ मिल्दैन । यसैगरी तपाईँहरूले विलोम लघुकथा लेखन गर्नुभएको छ । यसको सन्दर्भ लघुकथासँग जोडिएको छ । अब यसमा तपाईँहरूले के कस्तो पृथकता लिएर आउनुभएको छ, त्यसको मान्यता के हो भन्ने बारेमा खासै मलाई जानकारी छैन । तपाईँहरूबाट मुखपत्र पनि आएको देख्दिनँ । भन्न खोजेको कुरा के हो भने नेपाली साहित्यमा आयामेली आन्दोलन, लीलालेखन जस्ता लेखनले एउटा प्रवृत्ति बोकेको छ । नाटकको क्षेत्रमा सडक नाटकको आफ्नो प्रभाव र मान्यता छ । त्यसैगरी विलोम लघुकथाको पनि केही मान्यता होलान् । मान्यता भएको खण्डमा यो प्रभावोत्पादक हुने छ । अन्यथा समयक्रसँगै लोप हुने छ ।


नेपाली लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्ला, डक्टरसा’ब ?

शेखर :  अन्यथा अर्थ लाग्दैन भने लघुकथा भनेको हाइब्रिड बिरुवा हो ।  यसमा अन्य बिरुवाको तुलनामा चाँडै फूल फुली फल लाग्छ । हुन त लघुकथा लेखन सजिलो कार्य होइन । यसको आफ्नै स्वरूप छ । यसै स्वरूपले गर्दा लघुकथा लेखन गर्न गाह्रो छ । यति भन्दै गर्दा अन्य विधा चाहिँ सजिलो छ भन्न खोजेको होइन । जसले विधागत स्वरूप, विधागत मान्यताअनुरूप आफूभन्दा अग्रजहरूको रचना पढेको छ अनि सिद्धान्तको बारेमा जानकारी लिएको छ । अझ नेपालको मात्र होइन, विश्व साहित्यसँग परिचित छ । उसले नवीन सिर्जना गर्न सक्छ ।

अहिलेको मान्यता भनेको पूर्वलाई पश्चिमसँग जोड्नु हो । प्राचीनलाई नवीनतासँग जोड्नु हो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे आदिले कवितामा जोडे । बालकृष्ण सम, गोपालप्रसाद रिमाल आदिले नाटकमा जोडे । गुरुप्रसाद मैनाली, पुष्कर शमशेर जबरा, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, प्रेमा शाह, इन्द्रबहादुर राई आदिले आख्यानमा जोडे । लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, तारानाथ शर्मा आदिले निबन्धमा जोडे । यसरी जोडिएका कुरा साहित्यमा मोडलको रूपमा रहेका छन् । यसरी मोडलका रूपमा रहने धेरै हुनुहुन्छ । यही कुरा नेपाली लघुकथामा लिने हो भने पूर्णप्रसाद ब्राह्मण, जयनारायण गिरी, जगदीश नेपाली, विनयकुमार कसजू, भागीरथी श्रेष्ठ, अनिता तुलाधर, किशोर पहाडी, नारायण तिवारी, महेश प्रसाईँ आदि जसले चालिसको दशक पूर्व लघुकथा लेखे, उनीहरूको भन्दा पृथक् लेख्न सक्नुपर्छ । यसका लागि अध्ययन आवश्यक छ । अध्ययनबाट पृथक् गराउन सक्ने बाटो खुल्छ, त्यसलाई प्रयोगका रूपमा ल्याउन आवश्यक छ । यो मेरो भनाइ हो । सायद तपाईँको पनि यही होला । 

यस प्रकार म परम्पराभन्दा भिन्न लघुकथामा योगदान गर्न सक्छु भन्ने कुरा बुझेर नेपाली लघुकथा लेखन गर्न आवश्यक छ । 

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment