नेपाली साहित्यको हरेक विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् - ललिता 'दोषी’ । सूर्यकुमारी र कुलबहादुर गजुरेलकी सुपुत्री ललिता 'दोषी’ २०२५ कात्तिक १६ गते इमाडोल, ललितपुरमा जन्मिएकी हुन् ।
स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ललिता अध्यापन सेवामा सम्वद्ध हुनुहुन्छ । २०४१ मा 'शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी दोषीको पहिलो कृतिको रूपमा 'प्रेमको परिभाषा’ (कथासङ्ग्रह, २०५६) प्रकाशित भएको थियो । उहा“का 'भत्किएका किनारा’ (२०५७) उनले बच्चाहरूका लागि र ठूलाहरूका लागि ४९ वटा पुस्तकहरू प्रकाशित गरेकी छन् भने नौवटा बालकथाहरू, बालगीत र बालकाव्यादिलाई श्रव्यदृश्य बनाइएको छ । केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । उनले एक दर्जन जति पुस्तक सम्पादन गरेकी छिन् ।
उनका आधुनिक, राष्ट्रिय, धार्मिक, चेतनामूलक, लोकगीत, पपगीत र बालगीतहरू रेकर्डिङ भएका छन् । साहित्यका प्रायः सबै विधामा कलम चलाउने ललिता 'दोषी’ले लेखेका बालकथा, बालकविता, बालनाटक गरेर करिब डेढ दर्जन बढी रचनाहरू पाठ्यक्रममा परेका छन् । उनी भानुमोती पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कार लगायत कथा, लघुकथा, कविता, हास्यव्यङ्ग्य कविता, सुसेली, नाटक, बालकथा, बालकाव्य, बालगीत आदि दर्जनौंभन्दा बढी साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । ललिता 'दोषी’सँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।
**********************************************************************
विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?
ललिता 'दोषी’ : म प्रायः सबै विधामा कलम चलाउँछु । मनमा उर्लिएका भावनाहरू शान्त पार्न नै लेख्ने गर्छु । मरेर जाँदा हामी रित्तो हात नै जान्छौँ । बाँचुन्जेल समाजलाई केही दिनपाए हुन्थ्यो भन्ने लाग्छ । आफ्नै पौरखमा रमाउन पनि मन लाग्छ । त्यसैले लेखिरहेकी हुन्छु ।
कथा र जीवनदर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?
ललिता 'दोषी’ : कथा र जीवनदर्शनको कुरा गर्दा दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वव्यापी दृष्टिकोण हो । कथा र जीवनदर्शनलाई दाँजेर हेर्दा कथाको ज्योति नै दर्शन हो झैँ लाग्छ मलाई ।
यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?
ललिता 'दोषी’ : मेरो कथा लेख्ने निश्चित समय त छैन । निश्चित स्थानभने छ । मलाई सिर्जना गर्न एकान्त स्थान नै मन पर्छ ।
अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने/कवि भनाउने चलन असाध्यै बढेर गएको छ । यसलाई कसरी लिनु भएको छ ?
ललिता 'दोषी’ : कसैले कथा, कविता दर्शनलाई बुझेर लेखे पनि नबुझेर रहरले लेखे पनि कतै न कतै दर्शन आएकै हुन्छ । जीवन र जगतलाई बुझ्न र बदल्न सक्ने भएकोले दर्शनको महत्व छ । त्यस्तै कति कविता, कथाले पनि जीवनलाई बुझेको नै म पाउँछु ।
वर्तमान कविता, कथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?
ललिता 'दोषी’ : वर्तमान समयमा कविता, कथा लेखनको समग्र प्रवृत्तिलाई हेर्दा केही पृथक शैली भएको पाएकी छु । कथा, कविता टिप्ने त सबैले समाज, प्रकृतिबाट नै टिप्ने हो । पृथक शैलीले पाठकको मन तान्छ ।
कविता र कथामा तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही खुलाई दिनुहुन्छ कि ?
ललिता 'दोषी’ : कविताको कुरा गर्दा साहित्यको लघुतम विधा कविता हो । कविता गद्य र पद्य दुवैमा लेख्न सकिन्छ । कवितामा सानो घटनालाई भावपूणर् र मिठासपूणर् तरिकाले प्रस्तुत गरिएको हुन्छ ।
कथा आख्यानात्मक रचना हो । कथामा जीवनका धेरै पाटोलाई चित्रण गर्न सकिन्छ । तात्विक भिन्नता कुरा गर्दा कथा मझौला वृक्ष हो भने कविता एउटा हाँगो मात्र हो ।
अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू के-के होलान् जस्तो लाग्छ ?
ललिता 'दोषी’ : अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष भनेको लघुकथामा कौतूहलतामा कमी पाउँछु । वणर्नात्मक शैली, फितलो कथावस्तु, पर्याप्त ज्ञानको अभाव यिनै हो भन्ने मलाई लाग्छ ।
हुन त हरेका विधामा चुनौती हुन्छ नै । लघुकथाको चुनौतीको कुरा गर्दा यसको इतिहास त्यति लामो छैन । लघुकथाको सैद्धान्तिक पक्षको कुरा गर्दा पछिल्लो समय मात्र केही कृतिहरू लेखिएका छन् । साधना गर्नलाई पनि साधन अभावले चुनौती थपिएको हो भन्ने मलाई लाग्छ ।
विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्याउन के गर्न सकिएला ?
ललिता 'दोषी’ : विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्याउन पहिला त सिर्जना नै सुन्दर हुनुपर्छ । उचित मूल्याङ्कन हुनुपर्छ । उचित अनुवाद हुनुपर्छ । सबै परिपाक मिलेको सिर्जना भएको खण्डमा भने विश्व साहित्यको बजारमा पुर्याउन उचित होला / सकिएला ।
कथालगायत अन्य कृतिहरू निरन्तर आइरहेका छन् । पाठक शुभचिन्तकहरूलाई अब आउन लागेको नयाँ कोसेली कृति केही छन् कि ?
ललिता 'दोषी’ : हजुर यो वर्ष बालनाटक, बालकथा, बालकविता आदि कृतिहरू आउँदैछन् ।
साहित्यको कुन विधा यहाँलाई प्रिय लाग्छ अथवा पाठकले आफूलाई को हुँ भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ ?
ललिता 'दोषी’ : मलाई मनपर्ने विधा त आख्यानविधा नै हो । साठीको दशकमा सबैले कथाकार भन्नुहुन्थ्यो । सत्तरीको दशकमा बालसाहित्यकार भन्न थाल्नुभयो । असीको दशकमा कसैले लघुकथाकार पनि भन्न थाल्नुभयो । जसले जे नामले पुकार्नु हुँदा पनि मलाई नराम्रो लाग्दैन । म खुसी नै छु ।
....साथ सहयोगको खाँचो




No comments:
Post a Comment