Showing posts with label श्रीराम पाण्डे. Show all posts
Showing posts with label श्रीराम पाण्डे. Show all posts

Monday, June 15, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


'आज पनि केही ल्याउनुभएन ?’ – आँखाभरि विस्मय सोहोरेर पत्नीले गरेको प्रश्नले उसलाई किञ्चित पनि विचलित पार्दैन । छातीभरि पीडा बोकेर ऊ घर फर्केको छ । उसलाई थाहा छ घरमा दुईचार दिनअघि देखि नै खानेकुरा सिद्धिएको छ । आज बिहानसम्म कसरी उसकी स्वास्नीले आधा पेटसम्म खानेकुरा जुटाई उसलाई थाहा छैन । ऊ देख्छ यतिबेलासम्म उसका आधा दर्जन छोराछोरी उसकै मुख ताकिरहेका छन् । त्यसैले बडो गम्भीर र सन्तोषपूर्वक ऊ भन्छ – ‘ल्याएँ ।’

स्वास्नी हँसिली हुन्छे । फर्‍याकफुरुक गर्दै भन्छे – ‘त्यसो भए राम्रो भो । छरछिमेकीसित ल्याएको पैँचो तिर्न पाइने भयो । ……अनि के ल्याउनुभयो त ?’ – उत्सुकतापूर्ण प्रश्नसाथ लोग्नेको खल्तीबाट केही झर्ने आशाले आँखा उतै तानिन्छन् उसका ।

‘अरूथोक के ल्याउनु ! मैले आजदेखि आफ्नो जागीर खोसिएको खबर ल्याएँ ।’ – उस्तै सन्तोषपूर्ण स्वरमा ऊ भन्छ ।

‘के !?’ – लगभग रुन्चे र भयमिश्रित स्वर निकाल्दै उसकी स्वास्नी थचक्कै भुइँमा बस्छे । छोराछोरी टोहोलो भएर क्वारक्वारती उसको मुख हेरिरहन्छन् । 

ऊ अनुहारभरि पहिलेजस्तै सन्तुष्टि बटुलेर चुपचाप बसिरहन्छ ।   

–बागदेव, निजगढ         

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, January 20, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


जङ्गलमा सिंहको एकछत्र राज्य चलेको थियो । जनावरहरू सन्तुष्ट  सुखी नै थिए । त्यसमध्येका केही टाठाबाठाहरू सिंहको दयामा बाँचेकै थिए, अघाएकै थिए । तर केही भने पीडित थिए । सङ्ख्यामा धेरै हुँदाहुँदै पनि केही गर्न नसकी चुपचाप स्थिति सहेरै आधा पेटमैँ वा भोकभोकै भएपनि बाँचेकै थिए । जो सिंहको शिकार हुन्थे ती अज्ञात थिए ।

धेरै समयपछि सिंह बूढो भयो । बाघहरूले जङ्गलको सत्ता सम्हाले । जनावरहरूको हकहित र सुरक्षा बारे ठूलाठूला कुरा गरे । जनावरहरूको जातीय समूह बनाई त्यसको नेतृत्व गरे । स्थिति केही अराजक बन्यो । पहिलेभन्दा धेरैले खान पाए, मस्ती गरे । अरू धेरै आशै आशमा बाँच्न विवश भए । जङ्गल अशान्त बन्दै गयो । ठाउँ ठाउँमा विद्रोहहरू भए । बाघहरूभित्र सत्ता साझेदारी, लुछाचुँडी, झगडा, बाझाबाझ, तँछाडमछाड, पछारापछार आदि थुप्रै (प्रायःसबैखाले) युद्ध तरिकाहरू अपनाइए । स्थिति अनियन्त्रित हुँदै गयो । केही जनावरहरूको जातीय गठबन्धनको प्रयास भयो । आपसी सद्भाव रहेन, आपसी एकता रहेन । ब्वाँसाहरूले मौकाको फाइदा उठाए । स्यालहरू जम्मा भए । सिंह र बाघहरूको अत्याचार असह्य भयो भन्दै विद्रोह शुरु गरे । जनावरहरूका हक, अधिकार र सुरक्षा विषयक थुपै्र मुद्दाहरू उठे । निमुखा तथा कमजोर पशुपक्षीले पनि निर्धक्क बाँच्न पाउनु पर्ने अधिकारको कुरा गरे । ठूलो समूह बन्यो । नेतृत्व गर्ने बाघहरूले स्थिति बुझे, निष्क्रिय बुझेझैँ गरे । जङ्गल राजमा फेरि ज्वारभाटा आयो । शिकारको भागबन्डा कहिले मिल्ने कहिले नमिल्ने भयो । अस्थिरता कायमैँ रह्यो ।

अचेल लुइँचेहरू पनि उठ्तै छन् रे ! स्यालहरूको विश्वास, बाघहरूको विश्वास, सिंहकै विश्वास तथा अन्य स–साना र निमुखा पशुपक्षीको विश्वास जितेर जङ्गलमा आ–आफ्नै शक्ति प्रदर्शन बढ्दै जाँदो छ रे ! र, यो जङ्गललाई नै टुक्राएर आ–आफ्नै छुट्टा छुट्टै अधिकार क्षेत्र बनाउने दाउमा छन् रे ! कोही भने छिमेकी जङ्लका शक्तिशाली जनावरहरूसित मिलेर यो जङ्गललाई नै उतै मिलाउने षडयन्त्रमा पनि लाग्दै छन् रे भन्ने सुनिन थालेको छ ।

- हेटौँडा

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।