Showing posts with label लव गाउँले. Show all posts
Showing posts with label लव गाउँले. Show all posts

Monday, January 19, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


यो, लामा जात जातिका कथा हैन । आदर्श सिद्धान्त धर्म अझ बुद्ध अथवा बौद्ध धर्म मान्ने तर बाटो बिराएका पाँडे लामाहरूको कथा हो । मेरो घरको ढोका छेउमै पसल छ । उस्तै परे झ्यालबाटै सामान किन्न मिल्छ । पसल अगाडि तीन मिटरको बाटो छ र देब्रेतिर लामाहरू बस्ने घर छ । म बिहान तरकारी किन्न लागेको बेला लामाहरू स्वयम्भू वा शिवपूरी (?) को नित्य कर्म सकेर आइसकेका हुन्छन् । तरकारी किन्छन् । कोक फ्यान्टा, बदाम, भुजिया, डाइजेष्टिभ बिस्कुट किन्छन् । यो पसलमा मासु पाइँदैन । सायद मासु पनि खान्छन् होला । यी लामाहरू मलाई लाग्छ विनिर्माणको बाटोतिर लागिरहेछन् । महँगा बाइक, कार चढ्छन् । यिनीहरूलाई पोस्ने कुनै संस्था अवश्य होला । सोध्दा भन्दैनन् । अकस्मात कतै जानु परे ट्याक्सी चढ्छन् । बाह्रैमास मुडुले टाउको मुनि रातो बुद्धिष्ट गाउन लाउनु पर्नेहरू कहिलेकाहीँ महँगा जिन्स पाइन्ट र स्पोर्ट्‌स शुजमा देखिन्छन् । 

यिनीहरूको जमातमा केही युवा लामाहरू छन् जो शारीरिक सुसंगठनको लागि जिम जान्छन्, फुटसल, ब्याडमिन्टन खेल्छन् । भन्नलाई यिनीहरू छ महिना यहाँ बस्ने भन्छन् । यसपछि भारतको बैङ्गलोर जान्छन्, त्यसपछि दिल्ली आउँछन् र हराउँछन् । युवाहरूको मन मस्तिष्कमा बुद्धत्व भन्दा पनि ज्यान कसरी बनाउने उर्जत्व देखिएको छ । एकपटक म तातोपानी जाँदै थिएँ भाडाको जीपमा सँगै एउटी आनी थिइन् । धुलिखेल नाघेपछि ओरालोमा मैले सोधेँ— “तपाईंहरूलाई बाहिर निस्केर यसो रमाइलो मज्जा गरुँ जस्तो लाग्दैन ?” उनले सहज भएर भनिन्‌— “लाग्छ नि ।” यो बाध्यतामा कति बाँधिने । बाध्यतामा बारिएको धर्मको अर्थ वा उपयोगिता कति हुन्छ ? म सोच्दै थिएँ । उनी कतिबेला ओर्लिछिन् थाहै भएन ।