Showing posts with label भीमराना जिज्ञासु. Show all posts
Showing posts with label भीमराना जिज्ञासु. Show all posts

Saturday, August 15, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


"भोलिको अङ्क विशेष हुनुपर्छ है ।” सम्पादकले आफ्ना सहकर्मीहरूलाई एक खालको निर्देशन दियो । 

त्यो दिन तत्कालीन महारानीको जन्मदिन थियो । प्रायःजसो दैनिक पत्रपत्रिकामा शुभजन्मोत्सवका सुन्दर अक्षरहरूले विशेष सिंगारिएको थियो । 

सरकारी मुखपत्र मानिने दैनिक पत्रिका झन् अरुभन्दा त्यसै फरक र आकर्षक हुनुपर्ने नै भयो । 

सो दैनिक पत्रिका रङ्गीन कलेवरमा महारानीको सामाग्रीले भरिभराउ थियो । सो अङ्क पठनीय र रोचक बनाउन सम्पादक टिमले सक्दो कोसिश गरेका थिए । 

त्यसमध्ये एक सामाग्रीमा “महारानी गुुलाफको फूल अत्यन्तै मन पराइबक्सन्छ” भन्ने वाक्यांशमा गुलाफ शब्दको पछाडिको “फ” अक्षर नै छुट्न पुगेछ । 

पत्रिका विशेष कलेवरमा छापिएर जताततै बाँडियो । राजदरबारमा त नपुग्ने कुरै भएन । 

सरकारी मुखपत्रका सम्पादक मण्डलका सबै सदस्यहरू मुमा बडामहारानीबारे त्यस्तो सामाग्री निकाल्न पाएकोमा आफैँमा उत्साहित र खुसी थिए । 

तर बेलुकाको टेलिभिजनको एक खबर विशेषले भने तीनचित खाए । खबर यो थियो कि– “हाम्रो मुखपत्रको एक सामाग्रीले हामीलाई अत्यन्तै लज्जित तुल्यायो । यसकारण सम्पादकलगायत उनका टिमका सदस्यहरूलाई आजकै दिनबाट जागिर सधैँका लागि छुट्टि दिइएको छ ।”

– गोरखा

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, January 20, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


एक हुल मानिसहरू गैंटी, कोदालो, साबेल, घन बोकेर जाँदै थिए । यो कस्तो किसिमको जुलुस हो भन्दै देख्नेहरू छक्क परे । 

रमिते मध्येकै एकले प्वाक्क सोध्यो– “टायर बाल्ने, ढुङ्गा हान्ने जुलुस देखेका थियौं, यस्तो जुलुस त पहिलो पटक देख्दैछौं के हो यो ?”

हुलका मध्येकै एकले बोल्यो– “राष्ट्रिय क्रिकेट खेलाडीको घर भत्काउन हिंडेको ! त्यस्तो कमजोर टिमसँग पनि हार्ने ? जिताउन नसक्नेले के खेल्नु ?” भन्दै फटाफट अघि बढ्यो ।

त्यसको एक वर्षपछि राष्ट्रिय क्रिकेट टिमले प्रगति गर्दै डिभिजन–१ मा उक्लियो र विश्वकप खेल्ने हकदार बन्यो । 

उसैगरी एक हुल मानिसहरू कोदालो, गैंटी, साबेल, घन बोकेका सडकमा जुलुस देखियो । फेरि देख्ने मानिसहरू छक्क परे । 

एक जनाले खसखस लागेर सोध्यो– पोहोर पनि यस्तो जुलुस निस्केको थियो । के हो यो भन्दा ? क्रिकेट खेलाडीको घर भत्काउन जान लागेको भन्थे । यसपाली चाहिँ यो के हो नि ?” 

हुलमध्ये एकले बोल्यो– “त्यही पोहोर भत्काएको घर बनाउन हिँडेको !” बनाउन पर्ने त्यस्तो के बाध्यता थियो र भनी प्रतिप्रश्न गर्दा ऊ अझ फूर्तिसाथ बोल्यो– “ल यसपटक त हाम्रो क्रिकेट टिमले विश्वकप खेल्ने भयो नि !” 

त्यसपछि त्यो जुलुस विस्तारै ओझेल पर्दै गयो । 

- गोरखा, हालः काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।