Showing posts with label दिप मंग्राती. Show all posts
Showing posts with label दिप मंग्राती. Show all posts

Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


"हे प्रभु…. हाम्रो पालो कहिले आउँछ होला…? हामी चाहीँ सधैँ अरुले दिएकै भरमा बाँच्नुपर्ने…?’’ खल्तीमार बडो दीनहीन भावमा गुप्तेश्वर महादेवको थुम्कोमा झुकेर गुनासो गर्दै थियो ।

“म आफै त भस्मासुरबाट लखेटिएर धर्तीमुनी, चुनढुङ्गाको थुम्कोभित्र लुकेर बस्नु परेको छ, तिम्रो निदान कसरी गरुँ…?’’ गुप्तेश्वरले क्षुब्ध भाषामा गुप्त कुरा बताए ।

“प्रभु हाम्रो आस्थाको धरोहरले नै लुकेर बस्नु परेपछि, हाम्रो भलो कसरी होला त ।’’ खल्तीमार झन क्षुब्ध हुँदै आफ्नो निराशा पोख्यो ।

“चिन्ता नगर, समय सबैको आउँछ, मंगोल युग, रोमन युग, सिकन्दर युग, पश्चिमा युग सबैको पालो आएर गैसक्यो, अहिले युनिपोलारको समय छ, अब बिस्तारै मल्टिपोलारको दिन आउँछ ।’’ गुप्तेश्वरको भविष्यवाणी ।

“प्रभु….! हामी खल्तीपोलारहरूको पनि दिन आउँछ त…?’’
“अवश्य आउँछ, तर भस्मासुरबाट चाहिँ बच्नुपर्छ ।’’
“अनि प्रभु यो भस्मासुरको कुनै निदान छैन त ।’’

“हुँदैछ… ! क्षीरसागरमा योजना बन्दै छ, चाँडै मोहिनीको आगमन हुँदैछ । भस्मासुरलाई आफ्नै दम्भले भस्म हुन्छ ।’’

“अनि प्रभु ! हामीजस्ता भासेभुसेहरूको पनि दिन आउँछ त साँच्चै…?’’

“किन न आउनू… ! जन्मिँदा सबै भासेभुसे नै हुन्छन्, अनि पछि हट्टाकट्टा हुन्छ, अनि फेरि खुइले बुढा हुन्छन्, अनि खुस्किन्छन् । चक्र चलिरहन्छ नि ।’’ 

“प्रभु…. ! मेरो उद्वार गर्नुस्, मेरो रक्षा गर्नुस्‌…. !’’ एउटी अबलाको प्रवेश
“के भयो तिमीलाई भन देवी ।’’ गुप्तेश्वरले सोधे ।
“मेरो लोग्ने बहुलाइ सक्यो, मलाई सधैँ कुट्पिट गर्छ, मेरो इच्छा विपरित करणी गर्छ ।’’ 

“लोग्ने स्वास्नीको यस्तो झगडा अचेल राष्ट्र संघले हेर्ने गर्छ, उतै गएर उजुरी गर ।’’ 

- बेलबारी –३, मोरङ्ग

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।