यो महँगीमा चेतरामले आफ्नो र आफ्नो परिवारलाई कसरी पालनपोषण गर्दैछ, त्यो उसलाई मात्र थाहा छ । ऊ बिहान सूर्योदयअघि घरबाट निस्कन्छ र रातको एक प्रहर बितेपछि मात्र फर्कन्छ ।
गाउँमा हरेक दिन पूरा दिनको रोजगारी मिल्दैन । त्यसैले ऊ बीस किलोमिटर टाढा सहर गएर काम गर्छ । बेलुकी पाइने ज्यालाले राति र बिहानको लागि पीठो र दाल ल्याउँछ । दिनभरको मिहिनेतपछि उसको शरीर फर्कने क्रममा थकित र चकनाचुर हुन्छ । खाना खाएलगत्तै ऊ खाटमा पल्टिन्छ र बिहान फेरि सहर जाने समय भएपछि मात्र उसलाई होश आउँछ ।
काम गरी पेटको आगो निभाउन थालेपछि आजकल ऊ यति थकित भइरहेको हुन्छ कि ऊ र सुखियाबीच श्रीमान् – श्रीमतीको सम्बन्ध केवल देखावटी मात्र बनेको छ ।
बिचरी सुखियालाई यो सब बाध्यता त थाहा थियो । तैपनि अरुका श्रीमान्ले आफ्ना श्रीमतीलाई गरे जस्तै आफ्नो श्रीमानले पनि आफूलाई एक्लै माया गरोस् भन्ने चाहन्थिन् । तर चेतराम परिवारका सदस्यहरूको पेट भर्नतिर लागोस् कि पति–पत्नीको नाता सम्बन्धको भूमिका निभाओस् । चेतरामको यस्तो व्यवहारबाट सुखियालाई पीडा हुन्थ्यो, जब मौका मिल्थ्यो उनले श्रीमान्लाई गुनासो गर्ने गर्थिन् ।
एक दिन जब चेतराम घर फर्कियो तब सुखियाले भनिन्, ‘आज फेरि किन ढिला आएको, कहाँ गएका थियौ अहिलेसम्म ?’
‘ज्याला पाउन ढिलाइ भयो, त्यसैले आउन ढिलो भयो’, उसले स्पष्ट पार्यो ।
सुखियालाई आफ्नो पीडा कम गर्नु परेको थियो । त्यसैले आरोप लगाउँदै व्यङ्ग्यको स्वरमा भनिन्, ‘किन झुट बोल्छौ ? मलाई थाहा छ तिमी किन ढिलो आउँछौ । म भन्छु, तिमीले मलाई भन्दा धेरै माया उसलाई गर्छौ । त्यसो भए उसैको साथमा किन नबस्ने ?’
चेतराम रिसाएर उठ्यो र भन्यो, ‘अलिकति ढिलो भयो भने पूरै जमिन टाउकोमा बोकेर उचाल्छौ । भन्दैछु त आउँदैछु, अझ नआए भने त थाहा छैन के गर्छौ होला ?’
‘नआए त, कहाँ पो जान्छौ र ?’ हातबाट सामल लिएर खाना पकाउन तयार हुँदै सुखियाले भनिन् ।
- लखनऊ, भारत
हिन्दीबाट अनुवादः घनबहादुर थापा
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment