Friday, August 8, 2025

म किन लेख्छु ? (अङ्क २६ मा प्रकाशित)


म जनताको पहरेदारको भूमिकामा रहेर लेख्ने गर्छु, मैले मुलुकको चौकिदारको हैसियतले कलम चलाउँछु । २०५३ सालमा गोरखापत्रमा प्रकाशित मेरो पहिलो कथा ‘भाग्य र कर्म’ बाट मेरो साहित्य यात्रा शुरु भएको हो । सो कथा नेपालको कुशासनलाई लक्षित गरेर कोरिएको थियो । पछि कान्तिपुरबाट पनि मेरा प्रकृतिप्रेम र देशभक्ति झल्काउने खालका कथा, कविता र लेखहरू पनि प्रकाशन भए । मधुपर्कमा प्रकाशित मेरो एउटा लघुकथा नेपालकै सबैभन्दा छोटो लघुकथा भनेर दाबी गर्दैआएको छु । अर्नेष्ट हेमिङवेले छ शब्दमै लघुकथा टुङ्ग्याएका थिए भने मैले चौबिस शब्दमा लघुकथा टुङ्ग्याएको थिएँ । पछिल्लो समय भने लघुकथाका लागि शब्द सीमा तोकिएको छ । २०७९ असारमा सरकारी सेवाबाट अनिवार्य अवकाश लिएपछि भने मेरो साहित्यलेखन यात्राले तीब्रता लियो । २०७९ मै मेरो एउटा गीत रेकर्डिङ भएर बजारमा आइसकेको छ भने २०८० मा आत्मकथा ‘ओगिल्जा’ प्रकाशित छ । त्यस लगत्तै ‘रापतीका अलग शब्दहरू’ पनि प्रकाशन भयो । आफ्नो लेखन कार्यका साथसाथै मैले अरु स्रष्टाका पुस्तकहरू, आफू आवद्ध भएका संस्थाहरूका स्मारिकाहरू सम्पादन गरिसकेको छु भने ‘जरो’ उपन्यासमा भूमिका लेखेर आफ्नो बेग्लै इतिहास रचेको छु । अवकाशपछि प्रकाशित मेरो पहिलो लेखले सिंहदरबारमै तरङ्ग पैदा भएको थियो । फलस्वरुप त्यहाँ भित्र सुधारका कामहरू देखिएको थियो । ती सुधारका कामहरू देखेर मैले आनन्द महसुस गरेको थिएँ । मेरा प्रशासनिक अरु लेखहरू पनि प्रभावकारी हुँदै गएको महसुस भयो । ‘गुणस्तर विभागको सेरोफेरो नै गुणस्तरहीन’ शीर्षकको लेखले भोलिपल्टै प्रभाव देखाएको थियो । त्यहाँ पनि सुधारका कामहरू देखिएका छन् । मैले कुनै कुनै पार्टीका केही झोले कार्यकर्ताहरूबाट धम्कीको सामना समेत गरेको छु । मैले देशभक्ति नछोड्ने प्रण गर्दै लेखि नै रहेको छु । केही प्राज्ञ विद्वानहरूबाट आधादर्जन उपनाम, संज्ञा, उपाधि पाउँदा मलाई गौरवको अनुभूति भैरहेको छ । पछिल्लो समय म मुक्तक रचनामा नै केन्द्रीत छु । आगामी दशैँ–तिहारको बीचमा नेपाली भाषाको उद्गमथलो जुम्लाको सिंजा उपत्यकामा विमोचन हुने गरी ‘मधुर मुस्कान’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा जुटेको छु । 

कलमको माध्यमबाट भ्रष्ट नेता तथा प्रशासकहरूलाई तह लगाउने नै मेरो ध्येय हो । देशमा व्याप्त विकृति र विसङ्गतिका विरुद्धमा नै मेरा लेख–रचनाहरू केन्द्रित हुनेगरेका छन् । जुम्लादेखि दोलखासम्मका करिब तीनदर्जन सञ्चार माध्यमहरूले मेरा लेख–रचनाहरू प्राथमिकताका साथ प्रकाशन गर्दैआएका छन् । मैले बाटोमा हिँड्दाहिँड्दै पनि लेख–रचनाहरू तयार गर्छु भने गुड्दैगरेको गाडीको सिटमा बसेको बेला पनि रचेकै हुन्छु । एटिएम स्लिम खानेपानी बिल बिजुली बिलको पछाडि पनि केही न केही कोरेकै हुन्छु । दिनमा मेरा ३/४ वटासम्म लेख–रचनाहरू प्रकाशन भएको इतिहास पनि छ । २०८० मंसिरदेखि २०८१ मंसिरसम्म मेरा २०० भन्दा बढी लेख–रचनाहरू प्रकाशन भएका छन् । मेरो रफ्तारप्रति केही विरोधीहरू पनि देखिन्छन् । सफलताका लागि विरोधीहरूको पनि आवश्यकता हुन्छ । विरोधिबिनाको सफलता अधुरो हुन्छ भन्ने मेरो मान्यता छ । मेरा विरोधी भनेका भ्रष्टाचारीका समर्थक वा मतियार हुन् भनेर ठोकुवा नै गर्छु । नेताहरू तस्कर तथा अपराधीहरूसँग साँठगाँठ गर्ने भएपछि जनताले के आशा गर्लान्‌? भन्ने नै मेरो प्रमुख प्रश्न बन्दै आएको छ । 

खाडी मुलुकमा मजदूरी गर्न गएकाबाट प्राप्त रेमिट्यान्समा सरकार मख्ख पर्नु गलत हो भन्दै मैले लेखहरूमा लेख्दैआएको छु । किन कि जोखिम मलेर विदेशमा गएकाबाट आउने रकममाथि सरकार गदगद हुनु सकारात्मक विषय होइन । दश वर्षमा दश हजार लास त्रिभुवन विमानस्थलमा ओर्लिनु भनेको नेताहरूको नालायकीपन हो । त्यसैले आफू ६२ वर्षको उमेरमा प्रवेश गरे पनि मैले लेखि नै रहन्छु लेखिनै रहनेछु । देशकै चल्तीमा गनिएको अनलाइनखबरमा प्रकाशित मेरो लेख ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ हालसम्मकै सर्वाधिक लोकप्रिय लेख बन्न पुगेको छ । २०८१ साउन १८ मा प्रकाशित उक्त लेखहरू इलामदेखि डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरूले साभार गरेर प्रकाशन गरेका थिए भने हालसम्म पनि हजारौँले सेयर गरेर विश्वभर फैलाइदिएका थिए । जुन मैले आफ्नो लागि ठूलो उपलब्धि ठानेको छु । 

जय साहित्य ! जय शब्दपुञ्ज !! जय मातृभूमि !!!

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment