Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

धर्मात्मा

- सुरेशकुमार पाण्डे
दाङ घोराही १८      



"त्यो ठूलो बर बोटको पछाडि जसै रात पर्छ थरि-थरिका आवाज आउँछन् । कहिले कसैले लाइट बालेको जस्तो देखिन्छ कहिले धुवाँ पुत्याए झैं तर मानिस भने टाढा-टाढासम्म देखिदैनन् ।" - परदेशबाट आएको आफ्नो छोरालाई निकिताले बताइन् ।

“यो गाउँमा पनि के-के हुन्छ आमा ! कहिले कसैको बोका पाठा हराउँछन । कहिले बारीमा काटेको गहुँका मुठा हराउँछ ।’’ - छोरा संग्रामले थप्यो ।

“साँच्चै भनौं ठुलाघरे जेठा यो गाउँमा हुन्थेनन् भने दिनौं रूवाबास हुने थियो यो गाउँमा । उनैले त्यहाँ पूजापाठ गरेर सङ्कट टार्दिन्छन् । धेरै धर्मात्मा मानिस छन् उनी । तर गाउँका केही अनाडी युवाहरूले भने उनैको बिरोध गर्छन् पापीहरू ।’’ - निकिताले गाउँतिर धार्ने हातले सराप्दै भन्छिन् ।

“हो र आमा ? ठुलाघरे जेठाले केकाम गर्छन् त ?’’ - संग्रामले बुझ्न खोज्यो । “उनलाई के काम गर्नुपर्‍यो उनीहरूको सम्पत्ति प्रशस्तै छ ।’’ - निकिताले भनिन् ।

“आमा आज मलाई कसैको नासो दिनु छ राती ढिलो आउँछु होला’’ - संग्रामले प्रसङ्ग बदल्दै बिदा माग्यो ।

“हवस् बाबु धेरै रात नपारे ! आउने बेला त्यो बाटो न आए नि ।’’ - आमाले सुझाइन् । गाउँभरि त्यो ठाउँमा भूतप्रेतहरू छन् भन्ने हल्ला थियो । धेरै त्यो ठाउँमा साँझ परेपछि जाँदैनथे ।

संग्राम कसैले नदेख्ने गरी त्यो बरबोटको पछाडिको बारीमा गयो र लुक्यो । 

ठिक दश बजे राती जब सबै गाउँले सुते ठुलाघरे टुप्लुक त्यही बरको बोटमा पुग्यो र सुइ सिटी फुक्यो ।

अनि अर्का एकजना टुप्लुक्क पुग्यो । दुबैजना केही आदान प्रदान गर्दै थिए ।

“तिमीहरूको खेल सकियो’’ - ठिक त्यहीबेला संग्रामको कर्कश आवाज आयो । दुबै भाग्न खोजे तर केही युवाहरूले चपक्कै पारे ।

राति एकैछिनमा सबै गाउँले जुटे र निकिता पनि आइन् ।

“आमा यिनै हुन् धर्मात्मा !’’ - संग्रामले आमालाई ठुलाघरेको परिचय गरायो ।


 .....साथ सहयोगको खाँचो

No comments:

Post a Comment