Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

सर्कस

- सुस्मिता अधिकारी
काठमाडौँ     



मेला लागिरहेको थियो । व्यापारीहरु खानाका परिकार र लत्ता कपडा बेचिरहेका थिए । रोटे पिङ्गमा मानिसहरु रमाइरहेका थिए । साझेदारी खेल पनि चलाइएको थियो ।

अरुसँगै हामी पनि टिकट काटी भित्र गयौं । नाइके बनाइएको शहरी करणमा अभ्यस्त भइसकेको वन बिरालोले वृद्ध बाघ र धूर्त ब्वाँसोलाई नचाइरहेको थियो । ब्वाँसोेले मौका मिलाई स्यालसँग साँठगाँठ गर्‍यो ।

नचाउने पालोको लागि ब्वाँसोे र बाघले जति प्रयास गरेतापनि असफलै थिए । बिरालो कहिले बाघतिर त कहिले ब्वाँसोतिर मेलमिलाप गर्न खप्पिस थियो ।

सिको गर्दै भर्खरै प्रवेश गरेको स्यालले पनि र्‍याल काढ्दा आफ्नो धरातलै खुट्टयाउन सकेको थिएन । त्यत्तिकैमा सर्कस समाप्त भयो ।

बाहिरिदै गरेका दर्शकलाई आयोजकले प्रश्न सोध्दै थिए, ”कस्तो लाग्यो ?”

उत्तर आयो, ”हाम्रो यत्रो पैसा खेर गयो । हामीलाई ठग्ने ? यस्तो त हामीले दिन दिनै टेलिभिजनमा देखिराखेका थियौ ।”


 .....साथ सहयोगको खाँचो

No comments:

Post a Comment