भेद
- मन्दिरा चापागाईं
सभापोखरी -१, संखुवासभा
“लेखेको डायरीको महत्व कुनैदिन बुझ्नुहोला हजुरले’’ छुट्टिएका डायरीका पाना एकत्रित गरेर सुँकसुँकाउँदै भित्र पसी सुशीला ।
साँझ खानपिन सकेर आ-आफ्ना कोठातिर लागे सबैजना । सुशीला पनि घरधन्दा सकेर सदा झैं लेखनमै ब्यस्त भई ।
ढोका खुलेसँगै झस्किएकी उसले हतासिदै सिरानीमुनि डायरी घुसारी । टेलिभिजन हेरिरहेको सन्जयको आकस्मिक आगमनले फेरि बिहानको घटना दोहोरिएला भनेर चिन्तित र भयभीत भई ।
“नलुका बुढी नलुका ! घडेरी किन्दा/घर बनाउँदा गरेका दुःख, लागेको ऋण, टाढिएका आफन्त, खाएका वचन, लिन दिन बाँकी देखि भविष्यका योजनासम्म लेखेकै रछेस् ।’’
“बरु त्यो बेला निर्माण सामग्रीको पसलको उधारो तिर्न नसकेर एकाबिहानै दिदीकहाँ पैसा लिन गएको प्रसङ्ग लेख्न नछुटा है !’’
’आज के तिथि परेछ ? अचम्मै भो त । हो...इ..न दिनभरिमा कसरी यत्रो परिवर्तन ? कि जाल बुनिदैछ ?’
सुशीलालाई सशंकित देखेर फेरि थप्यो, “हेरन ! थापा काजी बितेपछि छोराहरुको अंशबण्डामा हानाथाप । पहाडतराई, उपत्यका सात पुस्तालाई पुग्ने सम्पत्ति छ भन्थे ।
कसको कति परेको छ ? कसरी आर्जेको हो ? ऋणधन कति छ ? दुनियाँको व्यबहार मिलाईदिने, तमसुक लेखिदिने मान्छे ।
यसो आफ्नो घर व्यबहारबारे पनि टिपोट गरेर छोडेका भए, ...सत्यतथ्य कसैसँग भनेको भए ...अहिले वास्तविकता बुझ्न कति सजिलो हुन्थ्यो ।’’
कुनै छोराको ओढिओछ्याई सम्पत्ति कुनै नाङ्गै ।
कसैका सन्तानको युरोप अमेरिकामा चकचकी कसैका छोराछोरीलाई स्कूल पठाउनै धौधौ । टेक्ने आधार र समाउने हाँगो त त्यहि बुढाको पसिना त हो नि ।
’बल्ल ! घैटामा घाम लाग्यो ? समयले सिकाउँछ घटना, भोगाई, व्यबहार आदि लेख्नुको महत्व’ सुशीला मनमनै मुस्कुराई ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment