'न छ्याप् है पानी, म त अहिले फेरि ममीलाई भनिदिन्छु नि’ सुमिनाले सुप्रिमसँग आग्रह गरी ।
‘तैँलेचाहीँ अघि कसरी भिजाएकी थिइस् नि, भन्दे को डराउँछ र ? तँ ठुली होस् भन्दैमा जे गरे पनि हुने हो र । भन्देभन्दे जा ।’ भन्दै सुप्रिमले लखेट्दै सुमिनालाई पानी छ्याप्दै थियो ।
कौसीको अलिपर आमा र ममी बत्ती कातेर बस्नुभएको थियो । यी दुई दिदी भाइको कुरा सुनेर हजुरआमाले भन्नुभयो, ‘बिस्तारै खेल । झगडा गर्ने होइन है तिमीहरू ।’
‘हुन्छ आमा झगडा कहाँ गर्या हो र ? हामीले होली खेल्या नि ।’ सुप्रिम बोलिहाल्यो ।
‘पानी बन्द गरौँ भाइ, अब रङ खेल्ने ।’ सुमिनाले मुस्कुराउँदै प्रस्ताव गरी ।
दुवैले सातवटै रङ निकाले र एकआपसमा रङ लगाइदिन लागे । सुमिनाले ममीको पछाडि लुकेको भाइलाई रङ लगाइदिन लागेको के थिई । एक पसर रातो रङले ममीको सिउँदो रङ्गियो ।
सुमिनाले भनि ‘आहा ! ममीलाई कति राम्रो सुहाएको । रातो रङ कहिल्यै लगाउनु हुन्न । अबदेखि लगाउनु है ममी ।’
ममीको आँखा रसायो । आमाले कड्किँदै भन्नुभयो ॅम भन्दै थिएँ । यता नआओ भनेर । दाग लागेन त ममीलाई ? जाओ तिमीहरू उता, उत्ताउलाहरू !’
सुमिना बोलिहाली, ‘आमा ! दाग त लुगा र रङ लगाउँदा कहाँ लाग्छ र ? गलत चरित्रमा पो लाग्ने हो त । ममीले बुबा स्वर्ग जानुभएको यतिको पन्ध्र वर्ष भइसक्दा पनि आफ्ना कति रहर मारेर हजुरको स्याहार गर्दै हामीलाई यत्रो बनाउनुभयो ।
सुप्रिमले थप्यो, ‘अब हामी छौँ ममी साथमा । प्रतिकार गर्न सक्छौँ हामी । यहाँ अरबौँ भ्रष्टाचार गर्ने भ्रष्टाचारी, मान्छे र सुन तस्करी, देह बेच्नेलाई नलागेको दाग रातो सिन्दुरको टीका लगाउनेलाई कसरी लाग्दो रहेछ ?’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment