Saturday, August 9, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


जायजेथाका हिसाबले सम्पन्न थिए छविरमण । पुराना पुस्ताका मानिस भएर पनि नयाँ सोचका धनी ।

गाउँभरिमै सबैभन्दा बढी खेतबारी र आसामी थिए । अरूभन्दा केही सरल ब्याजमै रकम उपलब्ध गराउने भएकाले सारोगाह्रोमा पैसा माग्न आउने थुपै्र हुन्थे । 

जति रहर गर्दा पनि छोरी जन्मेनन् । छोरा छ जना । पढाइलेखाइमा सबै एकसेएक । कोहीभन्दा कोही कम थिएनन् । सबैको बिहाबारी भईकन नातिनातिना समेत भइसकेका थिए । आजका मितिसम्म नपुग्दो केही थिएन । 

श्रीमती अप्सरासँग एक दिन विशेष सल्लाह भयो छविरमणको । सबै छोरालाई भए जति चल अचल सम्पत्ति बराबर बाँडिदिए । आफ्ना नाममा अलिकति जिउनीसम्म पनि राखेनन् । बसाइ माइला छोरासँग भयो ।

छ महिना पनि नबित्दै छविरमण र अप्सरा वेवारिस जस्ता भए । सबैले पन्छाउन खोजे । बसी खाने बेलामा ठुलो चिन्ता थपियो । 

यस विषयमा बाहिर बाहिर गाइँगुइँ गाइँगुइँ हल्ला चलिसकेकै भए पनि घरको कुरो किन बाहिर लैजानु भनेर छोराबुहारी सबैको बैठक बस्यो । 

कान्छी बुहारी बाहेक सबैले बुढाबुढीलाई पाल्न र हेरचाह गर्न नसक्ने भनेर पन्छिए । सबैको मत सुनेपछि कान्छी बुहारी रुबिनाले औँलो ठड्याउँदै चुनौतीको भाषामा भनिन्‌– के रे ? बाबुआमालाई नपाल्ने रे ! बुढाबुढीको हेरचाह नगर्ने रे ! यसो भन्ने भए उहाँहरूले दिनुभएको अंश सबै फिर्ता गर्नुस् । सक्नुहुन्छ पाएको सम्पत्ति फिर्ता गर्न ? सक्नुहुन्छ भने गर्नुस् । होइन भने हामी सबै मिलेर वृद्ध बाबुआमाहरू प्रतिको कर्तव्य निर्वाह गर्नुपर्छ । म पनि त्यस्तो कर्तव्यबाट अलिकति पनि विमुख हुन्न । कता बस्ने ? कसरी बस्ने ? भन्ने कुरो उहाँहरूको खुसी । 

ल त– यस कुरामा कसैले राय बझाएर हेर्नुस् त, अनि कुरा गरूँला ।
रुबिनाका कुराले सबै रातोपिरो भए । कसैले केही बोलेनन् । 

यता सही र साहसी निर्णय गर्न सकेकोमा रुबिनाको छाती गर्वले फुल्यो भने उता बुढाबुढीका अनुहारमा जून उदायो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment