"छोराले राम्रो नम्बर ल्याएन !" भान्साको ढोका टेक्दै आमा भकुरिन् । “संगत गतिलो हुनुपर्छ नि !” त्यही कोठाको कुनामा छोरी आफ्नो खुत्रुके अगाडि घुचुक्क बसेकी थिई । दक्षिणाको सिक्का–सिक्का बटुल्दै, “एकदिन सानो सुनको टप लगाउँछु,” भनेर सपना बोकेकी आमाले त्यो सपना थाहा पाइन् ।
एकदिन खुत्रुके फुटायो, नपुगेको पैसा आमा आफैँले थपिन् । छोरीको कानमा टप झुण्डियो, आमाको अनुहारमा पनि टल्कियो एउटा गर्वको उज्यालो ।
तर एक साँझ, आँगनको झोलुङ्गेमा खेल्दै आएकी छोरी टपको एउटा कान्की हराएर आइन् ।
“कहाँ हरायो र ?” आमा छक्क परिन्, साथीहरूलाई झपारिन्, “साथी पनि गतिला हुनुपर्छ !”
छोरीको अनुहार ओइलायो । बाबु सम्झ्याउने प्रयत्न गर्थे, तर आमा अडिग— “मलाई नराम्रो बनाउने तिमीहरू नै हो !”
छोराछोरीको हृदयमा झन्–झन् तह लाग्दै गयो । आमाबाट बिस्तारै टाढा हुँदै गए, मनका कुरा लुकाउँदै गए ।
एकदिन कलेजबाट फर्कँदै गर्दा बसको भीडमा छोरीको घाँटीमा सिक्री थिएन । धड्कन चुकुल्लियो— “आमा, सिक्री हरायो” भनेपछि ओठ झमक्क काँपे । भित्रैबाट सुनेर बाबु दौडे ।
“अनि कुटाइ खाने हो कि ?” भन्ने डरले छोरीको अनुहार ओझेलमा डुबेको थियो । तर आमाले त उसलाई अँगाल्दै कानमा फुसफुसाइन्— “पीर नगर नानी, भाग्यमा भए फेरि किनौँला, धन्न तिमीलाई केही भएन ।” छोरीका आँखामा अचम्मको चमक झल्कियो ।
भोलिपल्ट भाइको मोबाइल चोरले लग्यो । भाइ कच्याककुचुक गर्दै आमाको छेउमा गयो– “आमा‘ मेरो लापरबाहीले मोबाइल हरायो‘ मलाई नझपार्नु है ।” छेउमै उभिएकी दिदीले फेरि त्यही पुरानो डरको छायाँ देखिन् । तर यसपटक आमा मुस्काइन् । भाइको कपाल मुसार्दै भनिन्– “पुरानो पनि भइसकेको थियो, मैले जन्म दिनको निम्ति हिजो नै नयाँ मोबाइल ल्याइसकेकी छु । अघि दिउँ कि पछि, चलाउने तिमी नै हो !”
दिदी–भाइ एकअर्कालाई हेरेर छक्क परे– “आमा, हजुर, अब किन यस्तो मिठो हुनुहुन्छ ?” एकदिन दिदीले अचम्म मानेर सोधिन् । आमा झन् शान्त मुस्काइन्— “तिमीहरू मबाट टाढा हुँदैछौ भन्ने महसुस गरें । त्यसको कारण खोजेँ । थाहा पाएँ— गल्ती र असफलताबाटै त सिकिन्छ । म त अरूलाई दोष दिँदै आफ्नै दोष देख्न छोडेकी रहेछु । दोषी त मेरो ‘दृष्टि’ पो रहेछ ।” छोरीले आमाको अनुहार हेरी । त्यहाँ पछुतोको छायाँ थिएन— त्यहाँ त झन् उज्यालिएको प्रेमको दृष्टि मात्र थियो ।
- चाबहिल, काठमाडौँ
No comments:
Post a Comment