शान्ति
-लक्ष्मी रिजाल
कञ्चनरुप–१२, प्रगतिटोल, रुपनगर, सप्तरी
'बोलीमै आगो बल्नुपर्छ । अनि मात्रै परिवर्तन सम्भव छ ।’ सानुमायाले टड्कारो आवाज निकाल्दा हर्की तर्सेर भनी; ‘आगोको साम्राज्य स्वीकार्न सक्तिनँ ।’
कायरहरुलाई समाजमा मुन्टो ठड्याउने अधिकार नभएको सानुमायाले जिकिर गरी । अरु सबै लाटा र आफू मात्रै बाठो सम्झेर आत्मरतिमा रमाउनेहरुसँग हात मिलाउन नसकिने तर्क अघि सारी हर्कीले । सानुमाया झट्टै परिवर्तन हुनुपर्छ भन्थी । हर्की भने जानिबुझी गरिएको परिवर्तन दीर्घकालीन हुन्छ भन्थी । तातै खाँदा जल्नुपर्छ; सेलाएर खाँदा पोषण मिल्छ भन्थी ।
दुवै समकालीन सखी थिए । दुवैको बोली बीच आकाशपातालको फरक थियो । कामकाजमा भने दुवैसँगै हुन्थे । कहिल्यै आपसमा छुट्टिँदैनथे । एकापसमा छुट्टिँदा दुवैलाई असजिलो अनुभूत हुन्थ्यो ।
एक दिन सानीमायाले भनी; ‘तँ पूर्व फर्के म पश्चिम फर्कन्छु । तापनि तँ मसँगै हुन्छेस् । म पनि तँसँगै हुन रमाउँछु । किन ?’
क्रान्ति र शान्तिलाई सन्तुलन पार्न सके मात्र जित हात पर्ने बताउँदै हर्कीले थपी; ‘किनभने तेरो मनको क्रान्तिको आगोलाई मेरो मनको शान्तिले मत्थर पार्छ ।’
No comments:
Post a Comment