पाँच रूपैयाँ
-मुरारीराज मिश्र
उमामहेश्वरमार्ग, कुमारीगाल, काठमाडौं –७
काम विशेषले बस चढेर जाँदै थिएँ । मसँगैको सिटमा उमेरले जेष्ठ नागरिक देखिने कपाल सेतै फुलेका एकजना भलाद्मी पुरुष हुनुहुन्थ्यो । अघिल्लो बिसौनीमा उहाँलाई ओर्लनु पर्नेरहेछ । उहाँले खल्तीबाट बीस रुपैयाँको नोट झिकेर खलासीलाई दिंदै भन्नुभयो, "म लाहुरे चोकबाट आएको, अगाडिको चोकमा बस रोकिदेउ है बाबु ।"
खलासी भाईले "भाडा पच्चीस रुपैयाँ हो, पाँच रुपैयाँ पुगेन दिनुस्" भने । उहाँले नम्र स्वरमा "बाबु, म सधैँ बसमा आउने–जाने गर्छु, यहाँ सम्मको भाडा यति नै हो भन्ने मलाई थाहा छ" भन्नुभयो तर खलासीले मानेनन् । "पाँच रुपैयाँ दिनैपर्ने" जिद्दी गरी नै रहे ।
खलासीले नमानेपछि, उहाँले खल्तीबाट एउटा कार्ड निकालेर खलासीलाई देखाउँदै भन्नुभयो "सकभर यो देखाउन त मन थिएन बाबु, तर जति भन्दा पनि मानेनौं ! यो मेरो जेष्ठ नागरिक परिचयपत्र हो । यदि, पच्चीस रुपैयाँ नै भाडा हो भन्छौ भने, मैले पाउने छुट वापतको रकम फिर्ता देउ लौ अब" खलासीभाईले अमिलो अनुहार पार्दै पाँच रुपैयाँ फिर्ता दिए ।
No comments:
Post a Comment