Friday, November 24, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

कलियुगी शिष्य

-सानुराजा श्रेष्ठ अञ्जान
पशुपति, देउपाटन, काठमाडौँ–८


गुरु द्रोणाचार्यले एकपटक आफ्ना शिष्य अर्जुनसँग धर्नुविद्या अभ्यासको क्रममा सोधे– “प्रिय वत्स, अगाडिको रुखमा बसिरहको चरा तिमीले देख्या छौ ?”

अर्जुनले जवाफ दिए– “हे गुरुदेव ! मैले त चराको आँखाबाहेक अन्य केही पनि देखिँन ।” गुरु द्रोणले अर्जुनलाई असफल र अयोग्य घोषित गरिदिए । यसरी क्रमशः नहकुल, सहदेव र भिमसेनले पनि यही जवाफ दोहो-याए ।

अन्तमा युधिष्ठिरसँग पनि गुरुले यही प्रश्न सोधे– “हे शिष्य, अगाडिको रुखमा बसिरहेको चरा तिमीले देखेका छौं ?”

युधिष्ठिरले प्रश्न टुङ्गिन नपाउँदै भने– “सर ! मैले रुख, पात, हाँगाहरु, चराको आँखा यहाँसम्म कि त्यसको थुतुनो पनि देखिरहेछु ।”

जवाफ सुनेर खुसी हुँदै गुरु द्रोणाचार्यले युधिष्ठिरको पीठ थपथपाउँदै भने– “स्याबास् वत्स, तिमी नै समयको गतिसँगै हिंड्न सक्षम रहेछौं । आजको युगमा त्यही विद्यार्थी सफल हुन्छ, जसले तन्मय भएर पढ्नुका साथै प्रश्नपत्र बनाउने, परीक्षा गार्ड र परीक्षा नियन्त्रकसमेतलाई चिन्दछ । अतः यो युगमा अर्जुन हैन, तिमी नै मेरा प्रिय छात्र हौ‌ं ।”

No comments:

Post a Comment