Saturday, November 25, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

असल कर्म

-निर्मलरमण पराजुली
सामाखुशी, काठमाडौँ 


एउटा गाडी पशुपतिनाथको मन्दिर अगाडि रोकियो । दुई जना करिब ७० वर्षका जस्ता देखिने वृद्धवृद्धा गाडीबाट ओर्लिएर अगाडि बढे । बाटोको दायाँबायाँ लामबद्ध लागेर बसेका असहाय बालबालिका, वृद्धवृद्धाहरुको अनुहारमा खुसी छल्किएको प्रष्टै आभास हुन्थ्यो, मानौं धेरै समयदेखि प्रतीक्षा गरेको वस्तु प्राप्त हुँदैछ । गाडीबाट ओर्लिएका ति वृद्धवृद्धा व्यक्तिहरु एक एक गर्दै पैसा बाँड्दै अगाडि बढ्दै थिए ।

अचानक पशुपतिनाथ मुसुक्क मुस्कुराए र भने– भक्त ! तिम्रो एउटा छोरो अस्पतालमा उपचार गर्न नसकेर अस्पताल बाहिर फालिएको छ । तिमी यहाँ पैसा बाँड्दै छौं । तिम्रो यो धर्म हो या कर्म मैले बुझ्न सकिन । आफूले सृष्टी गरेको वस्तुको पालनपोषण, उचित स्याहार सम्हार गर्न सक्दैनौं भने किन सृष्टी ग-यौ ? नौ  महिनासम्म म बाबु बन्न लागे भनेर त्यही छोराको नाउँ बेच्दै खुसी साट्दै हिँड्यौ । आज जेठो छोरालाई सम्पूर्ण सम्पत्ति सुम्पिएर कान्छो छोराको अन्त्य पर्खिरहेछौ ? आखिर किन ? यो कस्तो धर्म हो तिम्रो? तिम्रो छातीको दायाँ भागमा जेठो छोरो धड्किरहँदा बायाँ छातीमा किन कान्छो छोरो धड्किन सकेन ? आमा तिम्रो छातीको एउटा स्तन जेठो छोरोलाई चुसाई रहँदा अर्को स्तनले कान्छो छोरो किन खोजेन जवाफ देउ जननी ? एउटै गर्भबाट सृष्टी गरिएका सन्तानको ममतामा फरकपन किन ? भक्त नबिर्स, एक हातका पाँच औंला बराबर हुँदैनन् तर कुनै औंलाको महत्व कम हुँदैन ।

No comments:

Post a Comment