असल छिमेकी
-वसन्त अनुभव
घोराही १४, दाङ
"हैन ए तिखे ! के चाला हो हँ तेरो ? यसरी मनलाग्दी आँठो ताछ्न हुन्छ ? तँलाई रत्तिभर लाज लागेन ?" आँठो ताछेको देखेर भक्ते उम्लियो ।
"लाज.. ? लाज त तिमीलाई लाग्नुपर्ने हो । यसरी अर्काको जग्गा मिच्न पाइन्छ ? मैले आफ्नो बारीतिर आएको झार पनि ताछ्न नपाउनु ?" तिखे पनि बम्कियो ।
"झार ताछ्ने भन्दैमा आँठै भत्काउन पाइन्छ ? तैँले निहुँ नै खोजेको होस् त !" भक्तेको पारो झनै तात्यो ।
"हो, मैले निहुँ नै खोजेको हो । के नाप्छौ नाप ? जो चोर उसैको ठुलो स्वर !" कम्मर कस्दै तिखेले हात सुर्कन थाल्यो ।
रिसको झोकमा भक्ते तिखेमाथि जाइलाग्दै हात उठाउन के तम्सेको थियो, एक्कासि चक्कर खाएर भुइँमा बङ्लङ्ग पल्टियो । होशमा आउँदा भक्ते
अस्पतालको बेडमा थियो ।
"ए डाक्टर नानी ! मलाई के भएको थियो ? यहाँ कसले ल्यायो ?" भक्तेले नर्सलाई बोलाउँदै भन्यो ।
"प्रेसर बढेर एक्कासि बेहोस हुनुभएछ । उहाँले समयमै यहाँ नल्याएको भए केही भन्न सकिन्नथ्यो ।“ मुन्टो बटारेर पर छेउमा बसेको तिखेतिर देखाउँदै नर्सले भनिन् ।
"किन मुन्टो बटारेर बस्छ्स् ए तिखे ? नगर्नु धर्म गरिहालिस् । यो ज्यान त तेरो पो ऋणी भो गाँठे ! अब नरिसा न । के गर्छस् त ? मान्छे हुँ गल्ती भो । अब माफ गरिँदे ।" माफी माग्दै भक्तेले भन्यो ।
"आफ्नै आँखा अगाडि त कसरी मर्न दिनु हो ? शत्रु नै भएपनि छिमेकी हौ, माया लाग्छ ।" उठेर भक्तेको नजिक आउँदै तिखेले अगाडि भन्यो,– "खासमा भन्ने हो भने गल्ती त मेरो पनि थियो । त्यसरी आवेगमा आएर दाजु समान मान्छेमाथि हात सुर्कन हुँदैनथ्यो । बरु मलाई पनि माफ गर है !"
No comments:
Post a Comment