Friday, July 12, 2024

त्रिभुवनचन्द्र वाग्लेका दुई कविता



एक नेपाली (गोरखा)


थला परेको फौजी बुढोले तखतामा राखेको खुँडा झिक्यो र, वीरताको गीत गायो र, खुँडालाई स्यालुट गर्यो खुँडाको खिया झार्यो र तारपीनको तेल लगायो आमाहरू, नानीहरूको सुरक्षार्थ तोरीको तेल घसिदिन्छन् हिउँदका माघ तपाएर । छैकम्पार, माथभरि वीरताको क्याप लगाएर सामागाउँ, काँधभरि वीरताको पदक सजाएर यात्रा प्रस्थान गर्नुअघि उसले भनेको थियो– 'छातीमा एकताको देश जगाउने बेला भयो’ हो, उसले जगायो जग्मगाउँदो देश सग्लो नेपाल तर छैकम्पारले सडक पाएन, सहानुभूति पाएन, गोरखाले न्याय पाएन र नून पाएन व्यङ्ग कथामा भनियो– ‘न्याय नपाए गोरखा जानु’ गोरखाः यस्तो अदालत, जहाँ न्यायाधीशले न्याय पाएनन् सामागाउँ, खाद्यान्नको सपना देख्छ ल्हो, वर्तमानमा अनिकाल बेच्छ ठूलो नेपालको यात्रा, नुवाकोट गर्जन्छ, सुगौली थन्कन्छ थलापरेका फौजीले हत्केलामा खुँडाको ठेला हेर्छन् नशामा देशको नक्सा देख्छन् र भन्छन्, ‘साना दुःखले आर्जेको मुलुक होइन’ घ्याल्चोक, मेट्रो रेलको आवाजमा कान थाप्छ मान्बु, हावाको बिजुलीमा आँखा लोभ्याउँछ चुमचेट, खाद्यान्नको आश्वासनमा आश्वस्त हुन्छ र भन्छ, ‘प्रजा मोटा भया देश बलियो हुन्छ ।’ गोरखाले नेपाल फराकिलो पार्यो, फराकिलो नेपालमा गोरखा कहाँ पर्यो ? अनिकालले कालको खेती गर्छ अभावले भावको उपेक्षा गर्छ भातको उपेक्षा गर्छ जितेर हारेको गोरखामा, जितेर हारेका पुर्खामा एकीकरणको धकारो मेटिएको छैन विश्राम कहाँ लिनु ? तनहुँ ताकुँ कि नुवाकोट पहिरिउँ कान्तिपुर सुसेलौं कि पाटन पट्याउँ वा, भादगाउँ भट्याउँ कि नाला नाचौं एउटा गोरखाली फौजी वीरताको गीत गाउँछ र परेडको पदचापमा देशको सिमाना बुन्छ गोरखामा उज्याउँछ र काँगडामा धुन्छ वीरताको खुँडा हो, जितेर हारेको गोरखामा फौजीको गीतले धोबेनी रुन्छ । खै के पायो गोरखाले न न्याय, न नुन न विवेक न विकास न निष्ठा न निकास हो, गोरखाले जग्मगाउँदो देश पायो जग्मगाउँदा देशले गोरखालाई के गुन लायो ? अभावः बोल्ने मुखहरू, खानामा तड्पिए, अन्यायः न्यायको उखान बिकेन विकासः छेकम्पारलाई मोटरले टेकेन निकासः सामागाउँलाई बत्तीले देखेन शिक्षाः घ्याल्चोकमा वर्णमाला बेचिएन हो, गोरखाले अखण्ड माटोको छाती पायो छातीले गोरखालाई मुटु बनायो/बनाएन
बुढो फौजी खुँडामा सान लगाउँछ बुढो फौजी नक्सामा सिमाना देखाउँछ र याचना दोहर्याउँछ–, दुखेको गोरखालाई दवाई देऊ ‘किल्ला किल्लामा भिल्ला बसाऊ गढीगढीमा देश रसाऊ साना दुःखले आर्जेको होइन सवर्णको फूलबारी बसाऊ ।’

**************

एक नेपाली
(चाँदनी-दोधारा)




आमा पटुका फुकाएर
साँधु टाँगिदेऊ
हामी जँघार तरेर, बाबुलाई भेट्न चाहन्छौं
बाबा घाम भएर आऊ
आँखा खोलेर जाऊ
हामी आमाको काखमा भरिन चाहन्छौं
कुन दिन यात्राको थालनी भयो र –
कहाँ बिसायौं रात काट्ने बास
घेरै दिन भए
सीमामा बिना वर्दी पाले बसेको
न देवतालाई चढायौं, हामी देवकी होइनौं
न नदीमा बगायौं, हामी जलपरी होइनौं
भाइ, माझी भएर आऊ, बयली खेल्न सिकाऊ
हामी, महाकाली तरेर काठमाडौं भेट्न चाहन्छौं
हामीलाई अलिकति गोठको कुरा गर्नु छ
हामीलाई अलिकति गोत्रको कुरा गर्नु छ
हामी, कुन गोठका हौं र कुन गोत्रका हौं
अलिकति खलो र खर्कको कुरा गर्नु छ
चर्दाचर्दै, कुन खर्कमा कहिले पुगियो ?
बैनी परेवा भएर आऊ
पखेटा दिएर आऊ
हामी खर्क र खरबारीमा पुग्छ चाहन्छौं
र, इतिहासका गीत गाउन चाहन्छौं
खण्डित घाम लाग्छ
सग्लो सूर्य उदाइदिए हुन्थ्यो
महाकाली प्यास बाँडेर बग्छ
सिंचाइ बोकेर आए हुन्थ्यो
अलिकति हाम्रा कुरा सुनिदिए हुन्थ्यो
देश जोड्ने फड्के बुनिदिए हुन्थ्यो
सखी अक्षर भएर आऊ
अलिकति अधिकारको कुरा गर्नु छ,
प्रिय, पत्र भएर आऊ
अलिकति प्यारका बात मार्नु छ
शीतलहरको कालो बादलमुनि
बुद्धको चित्र कोर्नु छ
भिक्षुजी नालन्दा भएर आऊ
अलिकति नालापानी सिकाएर जाऊ
बाढीले फालेको, छाडेको बगरमा
शिवपूजन गर्नु छ, सतीदेवी चन्द्रावती भएर
बालुवाको अक्षता, प्रसाद र मण्डपमा
अलिकति हलुवा भएर आऊ
नानीहरू भोकले सुसुपाल छन् ।
खरका घर
हिँउदमा शीतले मझेरी पोतिन्छ
बर्खामा आँगन भङ्गालोले पुरिन्छ
बन्धुहरू अलिकति विकास भएर आऊ
अलिकति निकास भएर आऊँ
वारीबाट पारी देखिनुपर्छ
कतैकतै काठमाडौ टेकिनुपर्छ
बड्डाहरू बास बस्ने गरेर आऊ
हामीलाई अलिकति मनका कुरा गर्नु छ
हामीलाई अलिकति मतका कुरा गर्नु छ ।
अलिकति निर्वाचन भएर आऊ
अलिकति निर्माण भएर आऊ
आमा लामो पुलले माटो पो जोड्छ
अलिकति मन जोड्ने गरेर आऊ
अलिकति दुःख गोड्ने गरेर आऊ
फौजी दाइ
दोहोरी गीत गाउन आऊ
आँठोलाई अन्तरा बनाएर गाऊँ
हामी, महाकालीलाई तेलको छेको
र, बगरका ढुङ्गालाई ओखर बनाएर
तिहारको पात्रो पढिरहेका छौं
यमपञ्चकको उज्यालोमा
यमराज र यमुनाको कथा भएर आऊ
सक्छौ भने अलिकति धागो भएर आऊ
हामी धागोमा अखण्ड माला उनिन चाहन्छौ
माला लाएर जाऊ
माया दिएर जाऊ
निधारमा सप्तरङ्गी महाकाली बगाएर आऊ
बलिहाङ् मगर दाइ बलिराजा भएर आऊ
द्यौसिरी गाएर जाऊ
हामीहरू यमुना र भैलिनी भएर फलाक्छौ
दाइ इतिहासका किल्ला–कथा छाड
वर्तमानका कुरा गर्न आऊ
जित्नु पर्दैन दाइ, हार्न नआऊ
‘बाँच र बच्न देऊ’ नेपाली लय भएर आऊ
हामी माला भएर सुक्नुअघि
दाइ माया भएर आऊ
निधारमा सप्तरङ्गी महाकाली भएर आऊ
हामी बसन्तमा सुक्छौं
र वर्षामा डुब्छौं
मनहरू माटो भएर बग्छौं
आफन्तहरू अमिनी पढेर आऊ
हामीलाई अलिकति माटोको कुरा गर्नु छ
हामीलाई अलिकति आँठोको कुरा गर्नु छ ।
आफन्तहरू फित्ता लिएर आऊ
कित्ता छुट्याउन जाऊ
सक्छौ भने काठमाडौंतिर कित्ता मिलान गरेर जाऊ
अलिकति नाप्नु छ, अलिकति नापिनु छ
सक्छौ भने सानोतिनो ट्रेस बोकेर आऊ
सक्छौ भने अलिकति देश बोकेर आऊ
काली भएर आऊ, टारी छोएर जाऊ
हामीले बनाएको मन्दिरमा मौलो भएर आऊ
पृथ्वीनारायणको एउटा औंलो भएर आऊ
आमा पटुका फुकाएर
साँधु टाँगी देऊ
हामी काली तरेर काठमाडौ भेट्न चाहन्छौं ।

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment