Friday, July 12, 2024

विनोद नेपालका दुई कविता


अनुभूति



लाग्दैछ,
होचिँदैछ सगरमाथा
सुक्दैछन् रारा फेवा
फेरिँदैछन् लुम्बिनी र जनकपुर
अनि फरक हुँदैछन्
स्वयम्भू र पशुपति ।


महसुस गरिरहेछु
कोशी र कर्णालीको प्रवासमा भिन्नता
छैनन् उस्तै,
महाकाली र गण्डकी पनि
एकएक गरेर हाम्रा गौरवहरू
गुमाउँदैछन् तिनको गरिमा ।


खै, किन हो किन ?
म फरक अनुभव गरिरहेछु सबै सबै
फेरिएको महसुस गरिरहेछु
मानिसहरूको गतिविधि ।

विश्वास हराएको छ
अविश्वास मौलाएको देखिरहेछु
हराएको छ इमान
बेइमान बढेको आभास गरिरहेछु
साँच्चै भन्छु म
यो प्यारो धरतीमाथि
पराईका लोभी आँखा गढेको महसुस गरिरहेछु,
नक्कली राष्ट्रवादीहरूको मिलेमतोमा
मेरो प्यारो मातृभूमिमाथि
बलात्कार भैरहेको
र, म
यो सुन्दर मुलुक
त्यही पीडामा रन्थनिएको अनुभूति गरिरहेछु ।

*****************

मोफसल र राजधानी 

बोकेर थुप्रै थुप्रै सपना
पस्छन् मान्छेहरू
मोफसलबाट राजधानी ...


हेर्दा राम्रो
सडकहरू खस्रा भएपनि
गुडिरहेका छन् चिल्ला गाडीहरू
मनहरू मैला भएपनि
आवरणमा सुकिला छन् मान्छेहरू,
रमाउँछन् देखेर यी सब
बिचराहरू, तर आत्तिन्छन्
जब पिरोल्न थाल्छ धुलोधुवाँ र ध्वनिले
जब चिथोर्न थाल्छ
थोपाथोपा गरेर सङ्गालेको आर्जनको क्षमताले
अनि,
जब महसुस गर्छन्
आफ्ना ठानिएकाहरूको फेरिएको स्वागत शैली !
अनि जब थिचिन्छन्
देश बनाउँछु भन्ने
आफ्नै मतको बुई चढेर यहाँसम्म आइपुगेका
शासक होऊन्
वा, ‘सेवक’ को विशेषण पाएका प्रशासक
तिनका व्यवहारले
आजित हुन्छन्
अनि,
प्रदूषणले बिगारेको रूप
सरेको आशा र उत्साह
अनि,
अपमानबोधको भारी बोकेर
फर्किन्छन्
खण्डित आस्था
र,
धर्मराएको विश्वास बोकेर मोफसल ।

-पोखराथोक माडी, पाल्पा


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment