Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

प्रमाण

- प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम   



"हैन कहाँ चैं गयो होला त ?" बारुलीले दुखेसो पोखी ।

“न खबर गर्छ न फोन गर्छ । यता उता सबैतिर सोधी सकेँ । केही पत्तो लागेन ।’’ भुसुनेले पनि मन गह्रौं बनाउँदै भन्यो ।

“होइन हौ बाउ चाहीँ माथि कान्छा ज्योतिषलाई एकपल्ट हेराई माग्ने की ?’’ बारुलीको सुझाव आयो ।

“गा’को थिएँ हिजो । खोला तरी सक्यो अरे ! खोलावारी नै भए यो दिशा त्यो दिशा भन्न सक्थे अरे ! खोला पारी उनको जोखानाले भेट्दैन अरे !’’

भुसुनेले आशाको दियो निभाइदियो । 

बूढाबूढी छोरो झुसेलाई सम्झेर एकापसमा विलाप गरिरहेथे तल्लाघरे साने कान्छा टुप्लुक्क आइपुगे । 

केही पत्तो लाग्यो त दाइ झुसेको ?

“छैन कान्छा छैन’’ बारुलीले भक्कानो छोड्दै भनी ।

साने पनि आत्तियो । अचानक सानेकान्छाकी छोरी हातमा मोबाइल बोकेर आइपुगी । 

ए बाबा, यी झुसे दाइले फेसबुकमा अहिले भर्खर फोटो हालेछन् । “आजदेखि जागिर सुरु’’ भनेर लेख्या छन् । तर ठाउँको नाम चैं छैन ।

बारुली, भुसुने र साने कान्छाले लामो सास ताने । 

“ए धन्न जिउँदै रहेको प्रमाण चैं पाइयो ।’’

साने कान्छाले सहानुभूति देखाउँदै बाउ छोरी घरतिर लागे ।


‍......साथ सहयोगको खाँचो

No comments:

Post a Comment