Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

रहस्य

- ध्रुवराज थापा 'पुरुष’
काभ्रे, पनौती हालः कपन, काठमाडौँ   



"मैले भनेको कुरा हुँदैन ?"

“अहँ हुँदैन ’’

“एकचोटी गरौँ न के हुन्छ र ?’’ उसले फेरि कर गर्‍यो ।

घोप्टिएर मोबाइल चलाउँदै गरेकी सुन्दरी नर्सले इन्कारिन् “नाई हुँदैन, त्यसो भनेर कहाँ हुन्छ, कसैले थाहा पायो भने मलाई समस्या पर्दैन ?’’

नाईट ड्युटीमा एक्लै खटेकी नर्सलाई दिउँसोदेखि नै उनकै कक्षमा गएर उ फकाउँदै थियो । यतिबेला सबै बिरामी र कुरूवाहरू प्रायः निदाइसेकेका थिए ।

बिरामी कुरूवा ऊ कसैसँग सम्पर्क गर्न नपाएर पागल जस्तै भएको थियो । त्यसैले कहिले कपास, कहिले गज कहिले के सामान माग्ने बहानामा नर्सको छेउमा आशामुखी भएर पुगी रहन्थ्यो ।

यस पटक पनि उसले प्रयास गर्‍यो, “एक चोटी दिनुभन्दा पनि कस्तो गर्नु भएको हो तपाईं त, दिनु न दिनु ! म कसैलाई पनि भन्दिन ।’’ यसपटक पनि नर्सले उसको कुरा मानिनन् ।

“कस्ता कस्ता मान्छे पनि आउँछन्, नहुने कुरामा जिद्दी गर्छन् !’’ नर्स भुतभुताइन् । उ निराश भएर फक्र्यो ।

उसमा हार्ने स्वभाव थिएन । उ छटपटाई रह्यो । केहीबेर पछि उसले फेरि एकपल्ट प्रयास गर्‍यो ।

“सिष्टर अहिले यहाँ कोही पनि छैन, दिनु न म खुसुक्क गरेर गैहाल्छु कसैलाई पत्तै हुँदैन ।’’ उसले फेरि अभिलाषा पोख्यो ।

“हत्तेरीका तपाईं त ज्यादै जिद्दीवाल हुनुहुँदोरहेछ, ल आउनुस् यता, खुसुक्क गरेर गैहाल्नुस्, अनि कसैलाई पनि नभन्नु नि फेरि !’’ भन्दै नर्सले भित्री कोठामा लगिन र उसलाई वाईफाईको क्यूआर कोड आफ्नो मोबाइलमा देखाईन र भनिन् “ल छिट्टो स्क्यान गरेर गैहाल्नुस् फेरि अरूले देख्लान् ।’’


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment