Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

बोझ

- चूडामणि  नेपाल ‘अचिञ्कन’
विराटनगर १   


‘छुट्टी लिएर बस्नु पर्छ नि । सानो नानी छ । थाहा पाउनु भयो । म त पहिलो पटक एकवर्ष बस्दा नै वाक्क भएकी थिएँ ।’ सरला सरल भावमा बोलिन ।

‘विस्तारै कुरा गर, हाम्रो कोठामा आउ । यहाँ त ऊ त्यो क्यामाराले सबै टिप्दो रै’छ क्या । मनका कुरा पनि खुलस्त गर्न नपाइने । बुहारीको जागिर नै त्यस्तै होला बुझ्न ।’ दिलनाथले मनको कुरा पोखे ।

‘हिजो छोराले हाम्रो र नातिको दिनचर्या सबै कम्प्युटरको भिडियोमा देखायो म त छक्क परेँ । छोराछोरी कसरी खेले ? के खाए ? सबै त्यसमा आउँदो रै’छ ।’ दिलनाथले भने ।

‘ए हो र यिनीहरुले हाम्रो चियो गर्ने, मैले त कोही छैन भन्दै चोलो पेटिकोट फेरेँ ।’ सरला बोलिन । ‘मैले पनि त कछाड नफेरी सुरुवाल फेरेँ नि तर त्यो त खै झलक्क एकपटक देखेथेँ फेरि देखिएन रिल काटी दियो कि छोराले ।’ दिलनाथ उठेर कोठातिर लागे ।

‘बुझ्नु भयो नि छोरा बुहारीको अलि ठाकठुक परे जस्तो छ, बुहारीले आफ्ना आमा बुवा बोलाउनेजस्तो कुरा गरिन । हामी पो बोझ भइसक्यौँ कि छोरासँग प्रष्ट कुरा राख्नु न है ।’ 

‘त्यो पनि ठीक हो त उहाँहरु आउनुहुन्छ हामी जान्छौँ । के को चिन्ता म त यहाँ कुँजिसकेँ ।’ दिलनाथले सम्झाए । छोरो आयो र भन्यो ‘आमा एकहप्ता पछिको टिकट लिएर आएँ । बुहारीले आमाबुवा बोलाइछन् । उहाँहरु आएपछि गाह्रो हुन्छ । यसपालि यस्तै भयो ।’

आमा लरबराउँदै बोलिन् ‘छोरा ! हामी पहिलोपटक काठमाडौँ जाँदा बाउले तँलाइ सबै मठमन्दिर काँधमा बोकेर डुलाएको बिर्सिस् होला, म त डुलेकै थिएँ, बरा ! बाउलाई दुईचार ठाउँ डुलाई दिएको भए तेरो के सकिन्थ्यो, छोड्दे अब हामी आफ्नै हिमाल पहाड र तराइ डुल्छौँ, हामी जान्छौँ । भोलि नै भान्जाकोमा पुर्‍याइदे । एयरपोर्ट नजिक पर्छ होइन ?’ 

बुहारी आई पुगिन् ‘कसलाई सोधेर टिकट लिनु भयो ? रद्द गर्नुहोस् मैले महिना दिनको छुट्टी लिईसकेँ । तीन महिना पछि चारैजना आमाबुवासँगै फर्कनुहुन्छ ।’


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment