Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

 शोक

- युवराज मैनाली   


"सन्तोष बाबू ! सन्तोष बाबू !" हजुर बुवाका आवाजले कानमा चुम्न आएपछि सन्तोषका आँखाका ढकनी उघ्रन्थे । जुरुक्क उठ्थ्यो, नित्य कर्म गर्थ्यो - पठन, लेखन, गृहकार्य सबै जे जे गर्नु छ ऊ फटाफट गर्थ्यो । 

बढ्यो, ठूलो हुँदै गयो । पढ्यो, जान्ने सुन्ने भयो । यी सबैमा प्रेरणाका स्रोत हजुर बुवा नै थिए । उसको स्मृतिमा कतै पनि जन्मन सकेको थिएन - मेरा हजुर बा केही समयका लागि मात्र हुन् भन्ने कुरा । ऊ एकतमास शिरको देवता र मुटुको धड्कन सारा उनै हुन् भन्नेमा हृदयदेखि नै विश्वस्त थियो र हुन्छ पनि सबैलाई एउटा विश्वास पात्रप्रति ।

सन्तोष, पढाइको स्तर बढ्दै गएपछि अचानक यसै सिलसिलामा अमेरिका जान पर्ने भयो र गयो पनि ।

अचानक दुःखद् खबर उसका कानमा बज्रन पुग्यो । हजुर बुवाको निधनको खबरले अकल्पनीय छट्पटाहटमा सन्तोष पर्‍यो । के गरौँ के नगरौँको उथलपुथलले उसको मनोगति विचलित भयो । समालिने हरप्रयास बालुवामाथिको पानी बराबर बन्न लागे । यस पीडाको सागरबाट उम्कने वा मुक्त हुने कैयौँ प्रयास पनि औषधि बन्न नसकेकामा सन्तोष आफैँ विस्मित बनेको छ । अब उसमा अन्तर उदासिनता र शून्यताले घर बनाउन थाले । जता फर्के पनि, जे गरे पनि मनोलोकमा हजर बुबा नै हजुर बुवा ! हरे !! 

समय बित्दै गएपछि सन्तोषमा अलिकति परिवर्तनका सङ्केत आभासित हुन लागे, यो जीवनको एक भाग मात्र रहेछ । यसमा डुबेर जीवन विचलित बनाउनु कायरताको मात्र नमुना हो । तिनै सम्झनाबाट जीवनलाई साहसिक यात्रामा लैजानु मेरो कर्तव्य हो । साथी सँगातीका सङ्गतले, आफ्नै अनुभवले पनि मलाई शिक्षित गरिरहेको छ, अब म उनका सम्झनालाई, उनका जीवन प्रेरणालाई स्मृतिका सिरानमा हालेर जीवनको यात्रा निर्वाध... निर्वाध... रूपमा हजुरबाका स्मरणले सन्तोषलाई जीवन्त गतिमा उचालिएको अञ्जान ऊर्जासँग होझैँ लाग्यो र बोल्यो- “के मैले चिन्ता गरेर मेरा हजुर बा आउँछन्, मैले शिर ठोकेर आँसु चुहाएर लक्ष बिगार्दै घर फर्केर काजक्रिया गर्दैमा मेरा बाको फिर्ती हुन्छ, दिएको खान पाउँछन् ? असम्भव... असम्भव !’’


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment