Friday, July 26, 2024

मुना चौधरीका दुई कविता

 

फगत 

एक्लै बरबराइरहेँ
फगत बरबराइरहेँ
पढ्नै मन नलाग्ने किताब पनि पढेँ
अनेक लेखहरुको निष्कर्ष निकालेँ
कतिपय पात्रहरुलाई आफूसित दाजेँ
स्वयम् आफू पनि उपस्थित भएँ
तर, एकछिनमै अल्पायुमै निधन भयो
फगत म टोलाइरहेँ ।


सूर्यको पहिलो किरण
सुस्तरी मलाई छोएपछि
अचानक म ब्युझिएँ
लताहरुमा पुष्पहरुको सार खोजेँ
एक्लै अलमलिरहेँ
एक प्रहरमै अस्तव्यस्त
बिहानीको सुरुवात भयो
टहटह जून नलाग्दै
अँध्यारो छायो
फगत म टोलाइरहेँ ।


एकान्तमा समय मुस्कुराइरहेको थियो


अनायास जीवनको अर्थ खोजेँ
शून्यताभित्र म थिएँ
मभित्र विसंगतिले छटपटाइरहेको
एउटा घर थियो
नि:सन्देह त्यो घर
सजीव भएर पनि निर्जीव थियो
फगत म एक्लै टोलाइरहेँ ।


रङ्गहीन समयको समागम
आफैँमा भयलाग्दो थियो
अनिश्चितताको झ्यालभित्र
कटु सत्यको परिधि
सलबलाइरहेको थियो
उफ ! कति अपत्यारिलो निठुरता
अकल्पनियताको आशामा
आगोको झिल्को उडिरहेको थियो
फगत म टोलाइरहेँ ।


समथर आसनमा
पश्चातापले चियाउँदा
शुभचिन्तकहरु तर्कवितर्क गरिरहेका थिए
मृदुभाषीको आँखामा कतै
सुदृढ वाणका शब्दहरु छुटिरहेका थिए
कतै एकलासमा


संयोगवश तिम्रो पर्खाइको पर्खाल भत्काउँदा
मनको कन्दरामा
एक थोपो खुसी मुस्कुराइरहेको थियो
फगत म टोलाइरहेँ ।


एक अनभिज्ञ समय
एक उन्मुक्त ठाउँ
एक भयावह वर्षा
एक ऋतुको स्मरण
सबैले बादलको घुम्टो ओढेको देखेँ
तिम्रो शब्दलतामा
कुनै कुनामा रहेका
पिँधभरिका भावहरु
पोखिँदा
मेरा इन्द्रीयहरु
मौनताको जालोमा अल्झिन्छ
मानौँ म आफ्नै शब्दकञ्चनमा डुबेको हुन्छु
फगत म टोलाइरहेँ ।

*************** 

अतीतका पाना  



तिम्रो मनको वागमा
म ढकमक फुलें
तिम्रो मनको गहिराइमा
म सागरसरि डुबेँ
तिम्रो आँखाको भाकामा
आफूलाई चियाएँ
मलाई हराउन देऊ
अतीतका पानामा ।

 

हावा चलेसरी
तिम्रो मनको बहावमा बगेँ
कुन्नि तिमी कुन ठाउँमा अल्झियौ ?
कुन्नि तिमी कुन ठाउँमा छुट्यौ ?
खोज्दा भेटेनौ
हेर्दा देखिनँ
मलाई हराउन देऊ
अतीतका पानामा ।


समय बग्यो नदीको पानीसरी
म बगेँ बालुवासरी
अनन्त आकाशमा बादल लागिरह्यो


तर, वर्षा बनेर बर्सिन सकिनँ
झरी बनेर रुझ्न सकिनँ
एकैछिन छोड
मलाई बग्न देऊ
स्मृतिको पाना बन्द गर्न नदेऊ
ताजा बन्न देऊ
अतीतका ती घाउहरु
मलाई हराउन देऊ
अतीतका पानामा ।


आँखाको परेलामा
पलाएका सपनाहरु
ओठभित्र हराएका
बिहानीका सुरुवातहरु
सुस्तरी स्पर्श गरी
चलेको वसन्तलाई
आउन देऊ
बस्न देऊ
मेरो मनको आँगनमा
मलाई हराउन देऊ
अतीतका पानामा ।


पुरिएका रहरहरु
आँखाभित्र अटाउन देऊ
थाकेर स्थगित भएका पाइलाहरु
गन्तव्यतिर लम्किन देऊ
बोल्नै नसकेका घाउहरुलाई
ओठमा अटाउन देऊ
अल्मलिएको विस्मृतिलाई
ताजा हुन देऊ
मलाई हराउन देऊ
अतीतका पानामा ।

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment