Sunday, July 21, 2024

अनुवाद लघुकथा (अङ्क १४ मा प्रकाशित)

 छोरा

- एड्गर ली मास्टर्स
(अमेरिकी लघुकथा)   


नीलो आँखा, गुलाफी गाला, स्वस्थ ज्यान अनि सधैं रमाउने स्वभावकी म एक जर्मन किसानकी असल छोरी थिएँ । प्रारम्भमा म टोमस ग्रीनको घरमा काम गर्थें । एक दिन उसकी श्रीमती घरमा नरहेको मौका छोपेर उसले मलाई जबर्जस्ती अँगालो हाल्यो र चुम्न खोज्यो । प्रतिकारमा मैले मुन्टो अर्कोतिर फर्काएँ । तर, नहुनुपर्ने लज्जाजनक काम भइछाड्यो । त्यतिखेर हामी दुवै मानौँ होसमै थिएनौँ । होसमा आएपछि म रुन थालेँ । अब मेरो के गति होला ? भनेर चिन्ता लाग्न थाल्यो ।

एक दिन उसकी श्रीमतीले मलाई बोलाइन् र भनिन्, ‘तिमीहरूको कर्तुतबारे मैले थाहा पाइसकेकी थिएँ । तर, म तिम्रो विरुद्ध कुनै कदम चाल्ने छैन । कथमकदाचित् मेरो बच्चा भएन भने तिम्रो बच्चा म पाल्छु ।’

यति भनेर उनी घरबाहिर जान छाडिन् र आफ्ना नजिकका छिमेकीहरूलाई आफू आमा बन्न लागेकी कारणले घरबाहिर निस्कन छाडेको बताउन थालिन् । 

त्यस दिनदेखि मैले त्यस्तो कुनै समस्या व्यहोर्नुपरेन । र, मैले बच्चा जन्माएँ पनि ।

केही समयपछि गर्स वर्टमैनसँग मेरो विवाह भयो। समय बित्दै जान थाल्यो ।

कालान्तरमा राजनीतिक सभाहरूमा म जब हैमिल्टन ग्रीनलाई देख्थेँ, उनले भाषण गरेको सुन्दै गर्दा मेरो वरिपरिकालाई पनि लाग्दोरहेछ कि म रोइरहेछु ।

तर, साँच्चै भन्ने हो भने त्यतिखेर म चिच्याउन चाहन्थेँ र भन्न चाहन्थेँ - ‘भाषण गरिरहेको त्यो मान्छे मेरो छोरो हो ! मेरो छोरो !!’


अनुवादक : ज्ञानुवाकर पौडेल


 .....साथ सहयोगको खाँचो

No comments:

Post a Comment