असल दुलही
- नवशिला
नवदेव मार्ग, बेलबारी, लालभित्ती, मोरङ
घाम चर्को लागेको थियो । नरमाया खुई®य गर्दै सयलमा बसिन् । उनको पोल्टाको फोन बज्यो । उनले फोन उठाइन, श्रीमान्को रहेछ ।
उताबाट आवाज आयो - “के छ नरमाया घर तिरको खबर ? खेत रोपाई सकियो?’’
नरमाया बोलिन् - सकियो बुढा भर्खर खेताला बिदा गरेँ, म चाहिँ थुनथान गरेर अब फर्कन आँटेकी, घाम पनि कस्तो चर्केको, आगै बल्ला जस्तो ।’’
उनीहरुको भलाकुसारी भयो । हाल खबर सन्चो बिसन्चो सोधखोज भो ।
उताबाट श्रीमान् बोले - “के गर्छौ नरमाया आफू विदेश छु, खेती गर्न मान्छे नि पाइन्न तिमीलाई दुःख भो ।
छोराछोरीलाई नि स्कुल टाढा बर्खाको बेला बाढी पहिरोको डर ।
अर्को साल त म फर्केर आउँछु तल नुनफोक तिर यसो एउटा कटेरो हालेर तिमीहरुलाई त्यतै सार्छु ।’’
नरमायाले आखाभरि आँसु पारिन् र बोलिन् - “खै बुढा दुखिया कर्म जे गरे नि हामीलाई त दुःखले नछोड्ने भो?’’
नरमायाको कुरा सुनेर श्रीमान बोले- “चिन्ता नगर न बुढी तिमी असल छौ, घर खेत गरेर छोराछोरी सिहारेर, बा आमा हेरेर गाउँमै बसेकी छौ र त केही जोरजाम गर्न पाइएको छ नि ।
मैले कमाएर पठाएको अरुका स्वास्नी जस्तो मासेर हिँडेकी छैनौ । तिमी जस्ती जीवनसाथी पाउनु मेरो अहोभाग्य हो ।’’
श्रीमान्को कुरा सुनेर उनी निक्कै खुसी भइन् । उनी कुराकानी सकेर घर तिर लागिन् । घरमा सासु ससुरा कुरा गरिरहेका थिए ।
“खै यस्तो चर्को घाम छ, नरमाया आई पुगिन्, तिर्खा लाग्यो होला ।’’
“त्यहि त धेरै काम नगर, आधी खेत अधियाँ गर्नेलाई दे भनेको नि मान्दिन ।’’
“हो नि रामकी आमा ! साह्रै असल बुहारी पाइएको छ, नरिसाउने... नझर्कने ! साँच्चै स्वर्ग नै बनाएकी छे यो घरलाई’’
नरमाया सासुससुराको अगाडि पुगी ।
सासु आमा उठेर घरभित्र पस्दै बोलिन् - “ए ! दुलही आइपुगी छ.... एकछिन शितलमा बस नानी म चिसो पानी लिएर आउँछु ।’’
नरमाया मुसुक्क हाँस्दै सुकुलमा बसिन् ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment