Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

मतियार

- नवराज न्यौपाने 'मौन' 



'विनिता ! आज हाम्रो घरमा खाना पकाएको छ । सँगै खाने, बस्ने पढ्ने हो । हिँड हाम्रो घरमा जाम् ।'

रोशनीले विनिताको घरमा गएर भनिन् । साँझमा दुवैजना रोशनीको घरमा पुगेर खाना खाए ।

झमक्क साँझ परेपछि रोशनीले आमासँग भनिन् - 'आमा ! हामी विनिताको घरमा बस्न जान्छौं है ! हिँड विनिता तिम्रो घरमा गएर पढम् ।’

विनिता अचम्म मान्दै 'ल जाम् त जाम्’ भन्दै पछिपछि लागिन् ।

बाटोमा दुईजना केटा पर्खेर बसेका रहेछन् । उनीहरूले दिउँसो रोशनीलाई भेटेर सबै योजना तयार परेका थिए ।

त्यसपछि उनीहरू खोरियाको पधेरोमाथिको बारीमा बसेर रात बिताए । विनितालाई भगाएर लैजान पल्लो गाउँको सुनील नाम गरेको केटोले एकजना अर्जुन नाम गरेको साथी लिएर आएको थियो र रोशनीलाई पाँच हजार रुपैया दिएर मतियार बन्न अनुरोध गरेको थियो ।

सुनीलले विनितालाई बारीको एक कुनामा बसेर बिहे गर्न राजी तुल्याउन अनेक प्र्यास गरिरहेको थियो भने अर्को कुनामा रोशनी र अर्जुन टाइमपास  गफ गरेर बसे ।

झिसमिसे उज्यालो भएपछि विनितालाई लिएर सुनील र अर्जुन पल्लो गाउँतिर लागे भने रोशनी घरमा गएर टाउको दुख्यो भनेर तलामा गएर सुतिन् ।

बिहान अबेरसम्म छोरी नआएपछि विनिताकी आमा रोशनीको घरमा आइन् । ’राती नै तपाईंको घरमा गएका हुन् नि !’ भनेर रोशनीकी आमाले भनेपछि उनले रोशनीलाई मरणासन्न हुने गरी कुटेर घर फर्किन् ।

सारा गाउँभरि हल्ला फिँजियो - हिजो रातभरि विनिता र सुनील अनि अर्जुन र रोशनी बारीको कान्लामुनि बसे रे । सुनीलले त विनितालाई सिन्दूर हालेर बिहे गरिसक्यो रे । अर्जुन र रोशनी त फुक्काफाल हिँडिरहेका छन् ।’

त्यसपछि रोशनी दसैँसम्म घरबाट कतै निस्किन सकिनन् । बिरामी पर्दै गइन् । शारीरिक रूपमा कमजोर र मानसिक रूपमा विक्षिप्त हुँदै गइन् ।

दशैमा टीका लगाउन आएको सुनीलले उनलाई भेटेर थप पाँच हजार रुपैया दियो । रोशनीले रूँदै भनिन् -’दाइ, तपाईंको योजनाको मतियार बन्दा मेरो इज्जत र खुशी सबै माटोमा मिल्यो । अब यो पैसाले मैले औषधी मात्र किन्न सक्छु तर गुमेका कुरा फिर्ता पाउन सक्दिन ।’


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment