Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

अघोषित वेश्या

- प्रदीप सापकोटा
पनौती, काभे 


'समिर कता छौं ? मलाई लिन नयाँबजार आऊ न । मेरो काम पर्‍यो ।’ उसले फोनमा यति बोली । उसको कुनैपनि कुरा टार्ने हिम्मत थिएन समिरसँग । त्यसैले किन, केका लागि उसले सोधेन । प्रेम सम्बन्ध थियो उनीहरुबीच । त्यसैले समिर आफैंलाई भन्दा विश्वास गर्थ्यो रेखालाई । हान्नियो बाइकमा नयाँबजारतिर । रातो मिनिस्कर्ट र कालो चश्मामा परी झैं उभिएकी थिई । 

'एयरपोर्ट नजिकसम्म जाउँ । विदेशमा भएको मेरो साथीले सामान मगाकी छे । एउटा साथी जाँदैछे आज । त्यहि भएर उसलाई सामान दिनु छ ।’ उसले सर्सर्ती बोल्दै बाइक चढी । 

होटल एयरपोर्ट नजिक पुगेर उसले बाइक रोक्न भनि । समिर बाइक पार्किङ गर्न थाल्यो । रेखा उसँग छेलिएर फोनमा कुरा गर्न थाली । 'समिर एकछिन यहिं बस्दै गर ल म सामान दिएर आउँछु ।’ - सरासर गल्लीतिर छिरी । समिर गर्मीलाई छेलेर ओझेल परेको एउटा पसलको पेटीमा बस्यो । 

पन्ध्र मिनेट बित्यो, आधा घण्टा बित्यो तर आइन । उसले रेखालाई फोन लगायो । उठाइन । मेसेज आयो  'धेरै जना रहेछन् यहाँ चिनापर्चीसँगै चिसो पिउन थालेका छौं अब पन्ध्र मिनेट है प्लिज ।’ समिर आशंकाले घेरियो । सामान दिन भन्थी, झोला केही थिएन । आ... के अनावश्यक सोचिरा मैले पनि । सुनका गरगहना वा अरु सानो केही हुनसक्छ । यस्तै यस्तै । फेरी उसको मनले रेखाप्रति प्रश्नचिन्ह खडा गर्‍यो । उसले गोजीबाट मोबाईल झिकेर मेसेज गर्‍यो- 'तिमी पठाउ गरेर घर जाउ है । म अर्जेन्ट फोन आएकोले अफिस लागें ।’ रेखा गएकैतिर बिस्तारै कदम बढायो । अलिक पर पुगेपछि पर्खाल नजिक छेलिएर आँखा परसम्म बिछ्याइरह्यो । एक केटासँग देखिई । अनि अंकमाल गर्दै केटाले भन्यो 'आजको यो मधुर पलको लागि धन्यवाद प्रिया ।’ उसले हातमा केही थम्याएर छुट्टियो ।

यो दृश्यले समिर छाँगाबाट खसेको जस्तो भयो । सामान पुर्‍याउने बहानामा उसको चर्तिकला अर्कै रहेछ । उफ् जसलाई मैले आफैंलाई भन्दा बढी माया र विश्वास गरें । तर अघोषित वेश्या पो रैछे । समिर भ्रममा पो रहेछ ।


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment