शुभचिन्तक
- राजेन्द्र परदेशी
(हिन्दी लघुकथा)
’हाम्रो माग’
’पूरा गर ।’
’जे सुकैहोस् ।’
’विवशता हो ।’
’लौरो, गोलीको सरकार’
’चल्दैन, चल्दैन ।’
नारा लगाउँदै जुलुस अघि बढिरहेको थियो । अभागी कलुआ जुलुसको अगाडि सवारी लिएर आइरहेको थियो । नेताले यसलाई आफ्नो अपमान सम्झियो । शहर बन्दको आह्वान गर्दा पनि आज ऊ रिक्सा चलाइरहेको थियो । केवल आफ्नो रोटीको लागि । देशको समस्या बिर्सियो उसले, जसका लागि नेता धेरै दिनदेखि चिन्तित थिए । समाधानका लागि आज नगर बन्दको आह्वान गरिएको छ ।
कलुआलाई रोक्दै नेताले हकारे, ’रिक्सा चलाउँदै छस् । थाहा छैन आज हडताल छ ।
’बाबूजी ! यदि मैले रिक्सा चलाइन भने, बेलुका मेरो चुलो बल्दैन ।’
’देशमा हाहाकार मच्चिएको छ तँ, आफ्नो चूल्हाको कुरा गर्छस् ।’
नेताजीले सत्य कुरा भन्यो । उनलाई कलुआको चुलोसँग के को सरोकार । उनलाई आफ्नो नेतागिरी देखाउनु छ । जबसम्म झगडा हुँदैन, गोली चल्दैन । गोलाबारी नचलाई उनीहरूको आन्दोलन अघि बढ्न सक्दैन । आन्दोलन बढाउनका लागि तोडफोड़गर्नु अति आवश्यक थियो । नेताजीले भाडाको समर्थकहरूलाई आदेश दियो, ’सालेको रिक्साको हावा निकाल ।’
बाबूजी ! म मर्ने छु यस्तो नगर्नुहोस् । सवारीलाई उतारेर जान्छु ।’
गरिबको आवाज दबियो, भीडले रिक्सा तोडफोड गरिदियो । रिक्सा टुक्रा टुक्रा भयो । पीडित कलुवा टाढैबाट छट्पटाइरहेको थियो । देशका शुभचिन्तक उसलाई त्यहीँ छोडेर देशमा शान्ति र समृद्धि ल्याउन अघि बढे ।
अनुवाद : डा. कमला तामाङ
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment