Sunday, March 30, 2025

लेख (अङ्क २२ मा प्रकाशित)


संयोजित घटनाहरूको विवरण प्रस्तुत गर्न लामो लेखाइको हिस्साको लागि प्रयोग गरिने कथानक शैली नै कथानक लेखन शैली अर्थात् न्यारेटिभ राइटिंग हो । जब लेखकले कथानक शैलीमा लेख्छ, तब त्यहाँ तिनीहरूले सूचना दिने प्रयास गरिरहेका हुँदैनन् । उनीहरूले त कथाको रचनाका लागि पात्र, द्वन्द्व र योजना वा तयारी गरिरहेका हुन्छन् ।


कथानक लेखन अन्तर्गत उपन्यास, नाटक, कथा, लोककथा, छोटा कथा, घटनावृत्तान्त र कविताहरू पर्दछन् भने यसको अतिरिक्त सिनेमा, संगीत र नाटकघरहरूमा पाइन्छ । कथानक पद्धतिले पाठकलाई घटनाको दृश्यको परिकल्पनाको प्रयोग मार्फत् स्पष्ट गर्दछ । घटना योजना, पात्र, दृष्टिकोण, शैली वा बनावट, भाव आदि जस्ता महत्वपूर्ण तत्वहरूको संयोजनबाट कथानक पद्धतिको निर्माण हुन्छ ।


कथानक लेखन पद्धतिका थुप्रै साधनहरू हुँदाहुँदै पनि शैली, क्षेत्र र कथानक दृष्टिकोण सन्दर्भ वा दृष्टिबिन्दु बढी सान्दर्भिकता र महत्वपूर्ण मानिन्छन् । शैलीसँग सम्बद्ध पद्धतिमा कथाको भाषा छनोट, रुपकको प्रयोग, उपमा, प्रतीक, बढाइचडाइ गर्नै, परिकल्पना, एउटै वाक्यमा उही अक्षर दोहोर्‍याउने, गौण गुणको प्रतिनिधित्व आदि प्रयोग गरिन्छ । क्षेत्र (प्लट)सँग सम्बद्ध सान्दर्भिक पद्धतिहरूमा घटनाक्रम, पश्चकथा (ब्याक स्टोरी) वर्तमानबाट विगतका घटनातर्फ कथा लैजानु, (फ्ल्यास ब्याक) वर्तमानबाट भविष्यतर्फ कथा लैजानु (फ्ल्यास फरवार्ड) र भविष्यको घटनाको अस्पष्ट पूर्वसंकेत वा पूर्णसंकेतको प्रतिनिधित्व (फोरस्याडोइंग) आदि पर्दछन् । दृष्टिकोण (प्रस्पेक्टिभ)सँग सम्बद्ध पद्धतिमा कथावाचकमा म, हामी तथा तिमी आदिको प्रयोग गरिन्छ । यसरी स्पस्ट विचारहरूलाई वाक्य, अनुच्छेद तथा परिच्छेदहरूमा कथानक साधनहरूको क्रमबद्ध वितरण गरिन्छ ।

कथानक लेखनका प्रकृयाहरू

कथानक लेखनमा कथात्मकता, स्पष्ट संक्षिप्तता, भावफरक र कलात्मकताले भरिपूर्ण हुनुपर्छ । कथावस्तु, पात्र, सम्वाद, परिस्थिति, भाषाशैली, उद्देश्य यस लेखनका तत्वहरू छन् । कथानक लेखनका प्रक्रियाहरू निम्नानुसार छन् :


१. विषयवस्तु (कथावस्तु)को योजना परिकल्पना र ढाँचा निर्माण गर्ने :

विषयवस्तुको योजना निर्माण गर्दा विचारवाक्य, पूर्वसंकेत, प्रतीक र बिम्ब, आग्रहिकरण जस्ता तत्वहरूलाई कलात्मक तथा क्रमबद्ध तरिकाले छनौट र प्रयोग गनुपर्छ । समसामयिक र सान्दर्भिक कथावस्तुको गरी कथानकको रुप दिन परिकल्पनाको प्रयोग गनुपर्छ । समसामयिक र सान्दर्भिक कथावस्तुको छनोट गरी कथानको रुप दिने परीकल्पनाको प्रयोग गनुपर्छ । कथाको उद्देश्य हासिल गर्नको लागि कथावस्तु, पात्र, सम्वाद, शैलीको प्रयोग, प्रतीक आदिको प्रयोग गर्ने योजना नै ढाँचा हो । कथाको ढाँचा निर्माणले कथालेखनलाई सहज बनाउँछ ।


कथानक लेखनको प्रारम्भ सामान्यतया परिचयात्मक, वर्णनात्मक, विवरणात्मक, आकस्मिक, संवेदान्यमक तवरले हुने गर्दछ भने यसको विकास द्धन्द्वात्मक, स्थिति, कार्यरुप, विषयवस्तुको गति, भावकेन्द्रित क्रियाकलाप, नाटकीय स्थितिले अगाडि बढछ र अन्त्यमा विवरणात्मक, उत्सुकतामूलक , संवेदनात्मक र व्यङ्ग्यात्मक हुने गर्दछ ।


२. पात्र विधानको निर्धारण

पात्र मार्फत् नै कथाको सन्देश दिने हो । कथाको स्वरुप र प्रकृति हेरेर आवयकता अनुसार शक्तिशाली र सजीव पात्रहरू चयन गनुपर्छ । खासगरी प्रतीकात्मक र व्यङ्ग्यात्मक लेखनका मानवेत्तर पात्र प्रयोग गरिन्छ । वास्तवमा लेखकले पात्र मार्फत् उसका केन्द्रीय दृष्टिकोणलाई कथामा प्रयोग गर्दछ । कथामा म आन्तरिक दृष्टिकेन्द्रिय पात्र र त्यो/त वाह्य दृष्टिकेन्द्रीय मानवीय पात्रहरूको प्रयोग गर्न सकिन्छ । कथामा पात्रहरूलाई संवाद, कार्य र उनीहरूका विशेषताको आधारमा खडा गर्नुपर्छ ।


पात्र मार्फत् नै कथाको सन्देश दिने हो । कथाको स्वरुप र प्रकृति हेरेर आवश्यकता अनुसार शक्तिशाली र सजीव पात्रहरू चयन गनुपर्छ ।


३ कथाको क्षेत्र निर्धारणः

कथाका विषयवस्तु समय सन्दर्भ अनुसार अगाडि वा पछाडि जाने वा वर्तमानमै रहिरने वा सबै हुने भन्ने कुराको तय कथा क्षेत्र अन्तर्गत गर्नुपर्छ । वर्तमानमा टुङ्गिने कथालाई क्रमिक रुपले अतितर्फ फर्काउने परावर्तित विधि (ब्याक स्टोरी मेथड) वर्तमान प्रारम्भ भएर वर्तमानमा नै बढ्दै जानै तत्‌क्षणिक विधि (फास्ट फरवार्ड) कथामा वर्णन हुने वास्तविक घटनाभन्दा पहिला के–के भएको भनेर क्रमिक रुपले अतीततर्फ जाने कथाको क्षेत्र ब्याक स्टोरी भएको वर्तमान र विगतमा घटेका घटनाहरू समावेश गरी निर्मित कथा क्षेत्र (फ्ल्यास ब्याक) यसमा कथाकार विगतमा घटेका घटनाहरूतर्फ जान्छ र वर्तमानसम्म आउँछ । भविष्यका घटनाको र अवस्थाको वर्णन गर्नको लागि निर्मित कथाक्षेत्र (फ्ल्यास फरवार्ड) र भविष्यमा घटने घटनाहरूको संकेत प्रस्तुत गरी पछि घटने महत्वपूर्ण घटनाहरूको क्रमिक विश्लेषणात्मक कथा क्षेत्र (फोरस्याडोइंग) जस्ता क्षेत्रहरू कथानकहरू हुन् । कुन प्लट अनुसार कथा रचना गर्ने सो अनुसार निर्धारण गर्नुपर्छ ।


४.  उद्देश्यको निर्धारणः

कथानक लेखनको उद्देश्यलाई लेखकले कथामा विचार वाक्यको तथा भावको रुपमा पाठकले पाउने सन्देशात्मक तवरले उल्लेख गरेको हुन्छ ।


५. सम्वादात्मक प्रक्रिया निर्धारणः

कथानकलाई लेखनमा कथालाई क्रमिक रुपले अगाडि बढाउन पात्रको चरित्र चित्रण गर्ने उद्देश्यले र कथालाई सरल र बुझिने बनाउन सम्वादको प्रक्रिया उल्लेख गर्नुपर्छ । यसमा दृश्यविधान हुने हुँदा नाटकीकरण गर्ने कार्यहरूलाई बढाइचढाइ गर्ने, यथार्थ जस्तै पनि बनाउने कथालाई कलात्मकता प्रदान गर्न पर्ने हुन्छ ।


६ प्रतीक उपमा र विम्वको प्रयोगः

वस्तुहरूको तुलना गर्न र पाठकलाई सहज रुपले बुझाउन, विषयवस्तु स्पष्ट गर्न तथा कलात्मकता भर्न कथामा प्रतीक तथा उपमाको प्रयोग गनुपर्छ उपमा जस्ता जस्तै, झैं भन्दाले तुलना गरिन्छ भने प्रतीकमा अभिव्यक्तिलाई समानताको हिसावबाट उल्लेख गरिंदैन । जस्तैः उनको चन्द्रमाको जस्तै मुहार छ । निलो रङ्गलाई शान्तिको प्रतीक मानिन्छ । कथामा कथाकारले प्रतीक र उपमाहरूको प्रयोग गरी घनत्व प्रदान गर्नुपर्छ कथामा कथाकारले आकाशको ताराको गतिको बारेमा बुझाउन आकाश तारा नाचे भन्ने जस्ता (पर्सनोफिकेसन) र बढाइचढाइ गर्ने (हाइपरबोल) एउटा वाक्यमा उही अक्षर दोहोर्‍याउने (एलिटरेसन) वा उखान टुक्काको प्रयोग गरी कथालाई आकर्षक र रोचक बनाउनुपर्छ ।


७. भाषाशैली निर्धारणः

लेखकीय विचार अभिव्यक्त गर्ने माध्यम र कलात्मक ढाँचा नै भाषाशैली हो । प्रत्येकको आ–आफ्नै शैली हुन्छ । भाषामा संक्षिप्तता र परिमितता अनि शैलीमा सरलता र तरलता हुनुपर्छ । शैलीले प्रवृत्तिलाई समेट्छ । क्रमबद्ध रुपमा घटना तथा विषयवस्तुको वर्णनलाई बढी महत्व दिने शैली सरल शैली हो । यसमा विषयले कम महत्व पाउँछ तर शैलीले बढी महत्व पाउँछ । कथाकारले शैलीसँगै विषयवस्तु पनि समानान्तर भएर ल्याएको भए वृवृत्त (ओपन) शैली हुन्छ भने विषयवस्तु भित्र लुकेर आएको शैलीलाई सवृत्त (क्लोज्ड) शैली हुन्छ । यसले कस्तो शैली अपनाउने हो सो को निर्धारण गर्नु आवश्यक हुन्छ ।


८. कथालेखन सम्पादन र पुनःलेखन गर्ने

कथानक लेखन शैलीमा उपयुक्त प्रक्रिया तथा योजनाहरू गरिसकेपछि लेखनको प्रारम्भ गर्नु पर्दछ । कथाको पूर्वलेखन पछि आवश्यक काटछाँट, शुद्धाशुद्धि गरेर त्यसको सम्पादन गर्नुपर्दछ । कथाका सम्पूर्ण आवश्यक तत्वहरू युक्त लेखनकार्य र सम्पादन गरेपछि पुनःलेखन गर्नुपर्छ त्यसपछि प्रकाशन मार्फत् पाठकमाझ लगेर पाठको पृष्ठपोषणका आधारमा लेखकले आफ्ना दृष्टिकोण र अभिव्यक्तिहरूलाई थप सशक्त र विश्वव्यापी बनाउँदै लैजानुपर्छ ।


चाहना (नमुना कथा)


रवि प्राथमिक तहको शिक्षक हो । उसले श्रीराम प्राविमा निरन्तर पढाएको १५ वर्ष भयो । शिक्षणमा उसको रुचि र शोख तीव्र छ । विद्यालयमा अध्ययन गर्दाताका उसले शिक्षक बनेर बालबालिकाहरूको लक्ष्य प्राप्तिमा मद्दत गर्ने विचार गर्दथ्यो । हिजोआज उसले सम्पूर्ण समय, लगन कक्षाकोठामा नै दिएको छ । बालबालिकाहरू रवि सर भनेपछि हुरुक्क हुन्छन् । उसले विद्यालयका प्रयोगशाला, सिकाइकक्षा, प्रदर्शनकक्षा, नाचगानकक्षाको समेत प्रवन्ध गरेको छ । बालबालिकाहरू सँगै बस्नु, रमाउनु, खानु, पढ्नु, पढाउनु, खेल्नु, खेलाउनु नै उसलाई सबैभन्दा उत्तम र आनन्द लाग्छ । उसको सम्पूर्ण मन मस्तिष्क, शरीर र कार्यहरू बालबालिकाप्रति समर्पित गरेको छ । घरमा समेत तीनै बालबालिकाहरूका लागि सिकाई सामग्री निर्माण गर्ने, नयाँ विधि र पद्धतिको आविष्कार गर्ने त्यसलाई कक्षाकोठामा प्रयोग गर्ने गर्दछ । कथाकथन विधि, नाटकीकरण विधि । खेल विधि, गीत संगीत विधि, चाहना विधि जस्ता सिकाइ विधिबाट बालबालिकालाई सिकाउँछ । भिजुअल क्लास, इ–लर्निंग, स्मार्टबोर्डको प्रयोग गरेर सिकाई सहजीकरण गर्छ ।


एकदिन रमिला मिसले भन्नुभयो, ‘रवि सर कति बालबालिका बालबालिका मात्रै भन्नुहुन्छ, अब त बिहे गरेर घरजम पनि त गर्नुपर्‍यो नि !’ त्यसैमा सुनिता मिसले पनि थप्नुभयो, ‘हो त, अब नगरे कहिले गर्ने ?’ रविले केही प्रतिउत्तर नदिई मुसुक्क हाँस्यो अनि बालबालिकाको निम्ति माटो मुछ्न भनेर गयो । दिनभरि बालबालिकाहरूसँग खेल्दा सिक्दा पढ्दा पढाउँदा ऊ कति पनि गल्दैन, थाक्दैन, ऊ भात छोड्न सक्छ तर कक्षा छोड्छ सक्दैन । घरमा आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो, विवाहको लागि ठूलो दवाब पनि छ । हुन त ऊ पनि अत्यन्तै सुन्दरी, मृदुभाषी र प्रेमिल स्त्रीसँग विवाह गर्ने सोचमा बेलाबखत मग्न हुन्थ्यो तर त्यसलाई यथार्थ जीवनमा उतार्न उसँग समय नै थिएन । ऊ सम्पूर्ण रुपले सिकाइमै व्यस्त र समर्पित छ । विद्यालयका बालबालिकाहरू नै उसको सम्पूर्ण चाहना र रहरहरू हुन् ।


गाउँमा उसको कत्रो ठूलो सान, मान र इज्जत छ । बालबालिकाहरूको संवादमा एउटा बालकले ‘रवि सर, तपाईं नै मेरो आमाबुबा, गुरु, दाजु दिदी सम्पूर्ण हुनुहुन्छ, प्रिय हुनुहुन्छ, संसार हुनुहुन्छ’ भन्दा रविको आँखामा आँसु आएको थियो । वास्तवमै ऊ तन, मन, ध्यान र धन सम्पूर्ण लगाएर पूरै भिजेर बालबालिकाको सम्पूर्ण व्यवहार नै बदलिदिन्थ्यो । हुन पनि काठका रुपमा आएका बालबालिकाहरू सारङ्गीको मिठो धुन बनेर जान्थे ।


एक दिन रवि कक्षा २ का विद्यार्थीहरूलाई कक्षाकार्य दिएर यसो कक्षाको बाहिरपट्टि एक्लै बसिरहेको थियो । त्यहीबेला एउटी अत्यन्तै सुन्दर स्त्री आफैं मुस्कुराउँदै आइरहेकी थिई । उसले स्त्रीको सौन्दर्य हिंडाइ, शरीर बनावट हेरिरह्यो र सोच्यो मैले पनि यस्तै स्त्रीसँग विवाह गर्न पाए कस्तो हुन्थ्यो । मलाई कति धेरै माया गर्थी होली र हाम्रा सन्तानहरू पनि कस्ता जन्मिने थिए होला भन्दै सोचमग्न हुन्छ । त्यहीबेला प्रयोगशालाको चाबी छोडनुभएछ ल्याइदिएको छु राख्नुहोस् भनि चाबी हातमा राखेर ती स्त्री फटाफट अगाडि बढिन् । रविले चाबी समायो र उनलाई हेर्‍यो । बोली र अनुहार दुवै सुनेको देखेको जस्तै लाग्यो । त्यतिबेलासम्ममा उनी फर्किसकेकी थिइन् । ठीक त्यही समय ’अहो ! रवि सर तपाईंकी श्रीमती त कस्ती सुन्दर रहिछन्, मलाई त अप्सरा जस्तै लाग्यो’ भनी पछाडिबाट सुनिता मिसको आवाज सुन्दा रवि झसङ्ग हुन्छ । उसले ती स्त्रीसँग विवाह गरेको दुई दिन भएको थियो । उसलाई आफैसँग कस्तो लाज लाग्यो । उसको सोचाइ जस्तै श्रीमती भएकोमा भगवानलाई धन्यवाद दियो । त्यसैबेला बालबालिकाहरू कक्षाकार्य सकेर धमाधम कापी परीक्षणका लागि आउँदै थिए । रविले बालबालिकाहरूलाई धन्यवाद दियो ।


(लेखक सुनपकुवा मावि, मोरङका शिक्षक हुन्‌)
साभारः खरीबोट डटकम

.............................................................................
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment